पार्टी दर्तासँगै फेरियो हर्क साम्पाङको शैली : सामाजिक सञ्जालमा संयमित

पार्टी दर्तासँगै फेरियो हर्क साम्पाङको शैली : सामाजिक सञ्जालमा संयमित

विराटनगर । कुनै समय राजनीतिक दललाई ‘देशको क्यान्सर’ र संगठित राजनीतिलाई ‘लुटको धन्दा’ को संज्ञा दिँदै सामाजिक सञ्जाल तताउने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको बोली र शैली अहिले एक्कासी फेरिएको छ । स्वतन्त्र उम्मेदवार हुँदा र मेयर जितेको सुरुवाती चरणमा ‘म एक्लै काफी छु’ भन्ने दम्भ पाल्ने साम्पाङले निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी’ दर्ता गराएसँगै उनको सामाजिक सञ्जालको आक्रामक ‘टेम्पर’ (स्वभाव) एकाएक ‘जिरो डिग्री’ मा झरेजस्तो देखिन्छ ।

हिजो आलोचकलाई भित्तैमा पु¥याउने गरी शब्दका वाण प्रहार गर्ने साम्पाङ आजभोलि भने निकै नापतौल गरेर, संयमित भाषामा मात्र स्टाटस कोर्न थालेका छन् । उनी अचेल पार्टीका गतिविधि र औपचारिक कार्यक्रमका तस्बिरहरू मात्रै हालिरहेका भेटिन्छन् । धरानका स्थानीय बासिन्दाहरूका अनुसार हिजो एक्लै हुँदा हर्क साम्पाङ सामाजिक सञ्जालमा एउटा ‘अराजक ब्राण्ड’ जस्तै थिए । उनको आधिकारिक फेसबुक पेज कुनै जिम्मेवार जनप्रतिनिधिको सूचना पाटी होइन, एउटा खुल्ला रणमैदान जस्तो देखिन्थ्यो । बिहान आँखा नखुल्दैदेखि मध्यरातसम्म, उनले दिनमै ३० देखि ५० वटासम्म स्टाटस लेखेको रेकर्ड छ । आफ्नो आलोचना गर्ने जोकोहीलाई ‘झोले’, ‘भतुवा’, ‘तस्कर’ र ‘देशद्रोही’ जस्ता तल्लो स्तरका शब्दावली प्रयोग गरेर नंग्याउनु उनको दैनिकी नै थियो । उनले गित मार्फत समेत गाली गर्ने गर्थे ।

दलका नेताहरूको सातो खानु र आफ्नो श्रमदान अभियानलाई नै देशको एक मात्र विकल्प ठान्नु उनको पुरानो शैली थियो । उनको परिवर्तन सामाजिक सञ्जालमा मात्र सीमित छैन । धरानका अन्य जनप्रतिनिधिहरूसँगको उनको सम्बन्धमा पनि यू–टर्न हुँदै आएको छ । विशेष गरी उपमेयर आइन्द्र बेघा र मेयर साम्पाङको सम्बन्ध कहिले नजिक जस्तो देखिन्थ्यो भने कहिले पानी बाराबारको स्थितिमा पुग्थ्यो । तर, दल दर्तापछि भने उनीहरूको सम्बन्धमा उल्लेख्य सुधार आएको नगरपालिकाकै कर्मचारीहरू बताउँछन् । नाम नबताउने शर्तमा नगरपालिकाका एक कर्मचारीले भने,‘पहिला उपमेयरसाबका फाइल मेयरसाबले रोकेर हैरान पार्नुहुन्थ्यो, तर अहिले त्यस्तो छैन । अहिले उपमेयरका कुनै पनि फाइल रोकिएका छैनन् ।’ उपमेयर बेघाले पनि पछिल्लो समय मेयर साम्पाङका बारेमा सार्वजनिक टिप्पणी गर्न छोडेका छन् । उनले अहिदे मेयरसावको बारेमा केहि टिप्पणी नभएको बताए ।


धरानका स्थानीय बासिन्दाहरू पनि मेयर साम्पाङमा ठूलो रूपान्तरण आएको महसुस गर्न थालेका छन् । स्थानीय राजेन्द्र राईका अनुसार उनी पहिलाभन्दा धेरै बदलिएका छन् । राई भन्छन्, ‘पार्टीको केन्द्रीय अध्यक्ष नै बनेपछि स्वाभाविक रूपमा आफ्नो आचरण र प्रस्तुतिमा रूपान्तरण त हुनैपर्छ । अहिलेको यो शान्त स्वभाव त्यसकै असर हो भन्ने मलाई लाग्छ । अचेल हाम्रो सल्लाह पनि उहाँले ग्रहण गर्न थाल्नुभएको छ ।’ उनले मेयर साम्पाङ पहिलाभन्दा निकै लचिलो र व्यवहारिक भएको आफूले महसुस गरेको बताए ।


पहिला उनको त्यो आक्रामकतामा जनताले एक प्रकारको विद्रोही चेत देख्थे, त्यसैले उनी जे बोल्दा पनि ताली पाउँथे । तर, आज त्यो दृश्य बदलिएको छ । हिजो जसलाई गाली गरेर उनले ‘सेलिब्रेटी क्रेज’ कमाए, आज उनी आफैं त्यही बाटोमा हिँडेका छन् । ‘श्रम संस्कृति पार्टी’ को अध्यक्ष भएपछि उनीमाथि धरानको मेयरको मात्र नभई एउटा सिंगो राजनीतिक संगठन हाँक्नुपर्ने प्रमुख जिम्मेवारी थपिएकाले पनि उनी रूपान्तरण हुन बाध्य भएको विश्लेषण गर्न थालिएको छ ।
हिजो ‘दल चाहिँदैन’ भन्दै गर्दा उनले आर्जन गरेको लोकप्रियतालाई दाउमा राखेर दल खोल्दा उनीमाथि गम्भीर नैतिक संकट भने आइलागेको धरानका केहि अगुवाहरु बताउछन् ।हिजोको जस्तो छाडा गालीगलौज गर्दा भोलि आफ्नै पार्टीलाई घाटा लाग्ने र कार्यकर्ता भड्किने डर उनमा पलाएको धरानका स्थानिय बताउछन् ।
हिजो एक्लै दौडिँदा कसैको परवाह नगर्ने साम्पाङ, आज संगठनको भारी बोक्दा भने लतारिएका छन् । उनी अहिले विवादित विषयमा बोल्न छाडेका छन् । आलोचकलाई जवाफ फर्काउन समेत उनले पहिला जस्तो फर्कान छाडेका छन् । उनको पाटीमा जोडिनेहरु भने आफनै ठाउमा श्रमदान गर्न थालेका छन् । पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार भोलि देखि तिन दिन ताप्लेजुङ तेह्रथुम सहितका जिल्लामा संगठन बनाउन मेयर हर्क साम्पाङ जादै छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्