सिंहदरबार घेरेर मात्र देश बन्दैन : शिक्षा मन्त्री

सिंहदरबार घेरेर मात्र देश बन्दैन : शिक्षा मन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशको समसामयिक राजनीतिक अवस्था र नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले अबको निकास भनेको पुरानो पुस्ताका नेताहरूलाई विस्थापित गरी युवा नेतृत्वलाई अगाडि बढाउनु रहेको बताएका छन्।

पुनले आफ्नो स्टाटसमा सिंहदरबार घेराउ गरेर मात्र देश विकास नहुने तर्फ युवाहरूको ध्यानाकर्षण गराएका छन्। उनले लेखेका छन्, ‘अहिलेको परिस्थितिमा सिंह दरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खै त बुझेको ?’

पुराना नेताहरूप्रति आक्रामक देखिएका पुनले बुढा नेताहरू स्वार्थी समूहको कब्जामा परेको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएका रहेछन्, जसले देशको संयन्त्रहरू बर्बाद गरिरहेका छन्।’ यस्तो अवस्थामा देश बन्ने सम्भावना नदेखिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

पुनले वर्तमान र भावी पुस्ताको भविष्य उज्ज्वल बनाउने एक मात्र बाटो भनेको आउँदो फागुन २१ गते हुने आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरूलाई जिताउनु रहेको उल्लेख गरेका छन्।

आफ्नो सन्देशको अन्त्यमा चेतावनीपूर्ण शैलीमा उनले यदि चुनावबाट नेतृत्व परिवर्तन नभए वा देशको अवस्था नसुध्रिए अन्तिम विकल्प बाँकी रहने बताएका छन्। उनले प्रश्न गर्दै लेखेका छन्, ‘अनि देश कसरी बन्छ ? कि त अन्तिम उपाय भनेको पूर्ण क्रान्ति हो।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्