छुर्पी निर्यातमा क्रान्तिः एक उद्योगले एक वर्षमै गर्छ १३ लाख किलो निर्यात

छुर्पी निर्यातमा क्रान्तिः एक उद्योगले एक वर्षमै गर्छ १३ लाख किलो निर्यात

नेपालको कोशी प्रदेशबाट दुग्धजन्य पदार्थको मूल्य अभिवृद्धि गर्दै विश्व बजारमा ‘डग च्यु’ (कुकुरको आहार) का रूपमा छुर्पी निर्यात गरेर मनराम हिमालयन ह्यान्डीक्राफ्टले एउटा लोभलाग्दो उदाहरण पेश गरेको छ । सन् २००७ मा जम्मा ४ किलो छुर्पी अमेरिका पठाएर सुरु भएको यो व्यवसाय अहिले मासिक १ लाख किलोभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको छ । झापामा रहेको उद्योगले आफ्नै फार्म सञ्चालन गर्नुका साथै मेची कोशीका पहाडी जिल्लाका किसान तथा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)सँग समेत सहकार्य गरेर छुर्पी उत्पादन, प्रशोधन, संकलन र निर्यातको काम गरिरहेको छ । सरकारले वार्षिक ५ अर्ब भन्दा बढीको कृषिजन्य वस्तु निर्यात गरेको भन्दै यो कम्पनीलाई सिआइपी (महत्त्वपूर्ण व्यवसायिक व्यक्ति वा कम्पनी)को सम्मानसमेत दिइसकेको छ । यसै सन्दर्भमा कम्पनीले गरिरहेको कामको बारेमा कम्पनीका लगानीकर्ता तथा झापास्थित उद्योग सञ्चालनको जिम्मेवारीसमेत लिएका राजेन्द्रकुमार श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

पूर्वी नेपालमा छुर्पी उत्पादन उद्योग सञ्चालन गरिरहनुभएको छ । कति उत्पादन गर्नुहुन्छ ?

–हाम्रो उद्योगको क्षमता दैनिक करिब ६० हजार लिटर दुधबाट छुर्पी बनाउने हो । तर, अहिले हामी दैनिक करिब २० हजार लिटर दुध मात्र प्रशोधन गरिरहेका छौं । हाम्रो आफ्नै फार्ममा १६० वटा गाई छन्, जसबाट दैनिक १ हजार लिटरभन्दा बढी दुध उत्पादन हुन्छ । बाँकी दुध र छुर्पी हामी झापाको सुरुङ्गा, दमक लगायतका क्षेत्र र पहाडी जिल्लाहरूबाट संकलन गर्छौं ।

आफ्नै उत्पादन बाहेक कच्चा पदार्थ (दुध वा छुर्पी) संकलन गरेरै निर्यात गर्नुपर्ने रहेछ हैन ?

–हो, हामी आफैं पनि दुध उत्पादन गर्छौं र अरुबाट पनि दुध र छुर्पी संकलन गर्ने गरेका छौं । मुख्य गरी हामी तीन तरिकाले काम गर्छौं । पहिलो, हाम्रो आफ्नै फार्मको उत्पादन छ । दोस्रो, हामीले दुग्ध विकास संस्थान (डीडीसी) सँग सम्झौता गरेका छौं । उहाँहरूले दुध बढी भएको समयमा ‘छेना’ बनाएर हामीलाई दिनुहुन्छ । डीडीसीबाट मात्रै सिजनमा महिनाको २५ देखि ३० हजार किलो छेना आउँछ, जसलाई हामी छुर्पी बनाउँछौं । तेस्रो र मुख्य स्रोत भनेको पहाडी जिल्लाका किसानहरू हुन् । हामी पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा लगायतका ४–५ वटा जिल्लाबाट किसानले बनाएको छुर्पी संकलन गर्छौं । हाम्रा कलेक्टरहरूले गाउँगाउँबाट छुर्पी संकलन गरेर झापासम्म ल्याइपुर्याउछन् ।

तपाईंहरूको निर्यातको तथ्यांक हेर्दा निकै राम्रो अवस्था देखिन्छ । चार किलोबाट सुरु भएको यात्रा अहिले कन्टेनरका कन्टेनर निर्यात गर्ने अवस्थामा कसरी पुग्यो ?

–हामीले सन् २००२/२००३ मा कम्पनी दर्ता गरेका हौं । तर, वास्तविक रूपमा निर्यात भने सन् २००६/०७ बाट सुरु भयो । सुरुमा हामीले नमुनाको रूपमा जम्मा ४ किलो छुर्पी अमेरिका पठाएका थियौं । त्यसलाई ‘डग च्यु’ बनाएर बेच्ने प्रयास सफल भएपछि सन् २०१० मा हामीले पहिलो पटक एक कन्टेनर छुर्पी पठाउन सफल भयौं । त्यसपछि हामीले पछाडि फर्कनु परेको छैन । सन् २०१० देखि हामीले कन्टेनरमै निर्यात गरिरहेका छौं । अहिले मासिक सरदर एक लाखदेखि १ लाख २५ हजार किलोसम्म छुर्पी संकलन र प्रशोधन गरी निर्यात गर्दछौं ।

छुर्पीको मुख्य बजार कहाँ हो ? कुन देशमा पठाउनुहुन्छ ?

–अहिले हाम्रो मुख्य बजार अमेरिका नै हो । त्यहाँ ‘हिमालयन ट्रेड’ नामको कम्पनी मार्फत हाम्रो उत्पादन बिक्री हुन्छ । हामीले सिधै युरोप पठाउन भने सकेका छैनौं ।

युरोपमा निर्यात गर्न चाहिँ के समस्या छ ?

–युरोपियन युनियनको मापदण्ड अलि कडा छ । मुख्य समस्या भनेको खोरेत रोग हो । नेपालका पशुहरूमा खोरेत मुक्त भएको प्रमाण नभएसम्म युरोपले दुग्धजन्य पदार्थ लिन मान्दैन । यसका लागि नेपाल सरकारले पहल गरिरहेको छ । इलामलगायत हामले छुर्पी संकलन गरिरहेका जिल्ला र झापासमेतको क्षेत्रलाई ‘खोरेत मुक्त क्षेत्र’ बनाउन सरकारले खोप कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । हामी पनि यसमा सक्रिय छौं । तर, प्रमाणीकरण नभएसम्म र अन्तर्राष्ट्रिय स्तरको ल्याब टेस्टिङ रिपोर्ट नभएसम्म युरोप पठाउन गाह्रो छ ।

नेपाल सरकारबाट उद्योगलाई कस्तो सहयोग वा अपेक्षा छ ?

–हामीलाई सरकारबाट आर्थिक सहयोग (पैसा) चाहिएको होइन, सहजीकरण चाहिएको हो । निर्यातमा प्रोत्साहन र प्रक्रियागत सहजता भइदिए पुग्छ । जस्तै– विदेशमा सामान पठाउँदा विभिन्न किसिमका ‘टेस्टिङ’ रिपोर्टहरू माग्छन्, तर नेपालमा त्यस्ता उपकरण र ल्याबको सुविधा पर्याप्त छैन । कतिपय अवस्थामा स्याम्पल विदेशमै पठाएर टेस्ट गर्नुपर्ने बाध्यता छ ।
अर्को कुरा, किसानलाई आधुनिक औजारहरू उपलब्ध गराउनु प¥यो । दुधको गुणस्तर बढाउन र उत्पादन लागत घटाउन प्रविधि चाहिन्छ । तर, अहिलेको नीति हेर्दा निर्यातभन्दा आयातलाई नै प्राथमिकता दिएजस्तो देखिन्छ । भारतबाट पाउडर दुध र बटर आउँदा नेपालको उत्पादनले बजार नपाउने अवस्था छ । सरकारले कम्तीमा स्वदेशी उत्पादनलाई संरक्षण र निर्यातलाई सहजीकरण गरिदिए हामी धेरै गर्न सक्छौं ।

तपाईंको उद्योगले स्थानीय अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ ?

–यसले निकै ठूलो परिवर्तन ल्याएको छ । पहिले–पहिले ‘मिल्क होलिडे’ हुन्थ्यो, किसानले दुध बाटोमा पोख्नुपर्ने अवस्था थियो । तर, जब हामीले छुर्पी बनाएर विदेश पठाउन थाल्यौं, किसानको दुधले बजार पायो । अहिले गाउँगाउँमा किसानहरू गाईपालनमा हौसिएका छन् । दुधको मूल्य पाएका छन् । हामीले मात्र होइन, अहिले अरू धेरै साथीहरूले पनि छुर्पी निर्यात गरिरहनुभएको छ । यसले समग्रमा ग्रामीण अर्थतन्त्रलाई टेवा पु¥याएको छ ।

तपाईंहरुले छुर्पी बाहेक सुकुटी, गुन्द्रुक, पौष्टिक आहारहरु पनि उत्पादन गरेर निर्यात गर्नुहुन्छ ?

–हामीले कृषिमा आधारित यस्ता वस्तुहरु माग अनुसार निर्यात गर्दै आएका छौं । सुकुटी, गुन्द्रुकमात्र होइन फापरको पिठो, अमला आदि धेरै वस्तु निर्यात गर्छौं तर हाम्रो मुख्य प्रायोरिटी छुर्पी नै हो । अरु वस्तु निर्यात गर्न त्यति सहज छैन, टेस्टिङ प्रक्रिया धेरै गाह्रो छ, हो हामीले सरकारसँग यस्तै कुरामा सहयोग र समन्वयको अपेक्षा गरिरहेका हुन्छौं । सरकारले केही गरेको छैन भन्ने होइन तर निर्यात गर्दाको बखतमा आइपर्ने समस्याहरु समाधान गर्न र टेस्टका लागि दीगो खालको व्यवस्था मिलाइदिएमा धेरै राम्रो सम्भावना छ ।

अन्त्यमा, तपाइँहरुको आगामी योजना के छन् ?
–हामी गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनौं । अहिले खोरेत नियन्त्रणका लागि भ्याक्सिन कार्यक्रममा नगरपालिका र सरकारसँग मिलेर काम गरिरहेका छौं । यदि खोरेत मुक्त क्षेत्र प्रमाणीकरण गर्न सकियो भने हाम्रो लक्ष्य अमेरिका मात्र नभई युरोपियन बजारमा पनि नेपाली छुर्पी पुर्याउने हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्