पाथीभरामा दर्शनार्थी घटे, कात्तिकमा ३४ लाख ४८ हजार भेटी संकलन

पाथीभरामा दर्शनार्थी घटे, कात्तिकमा ३४ लाख ४८ हजार भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य पाथीभरा मन्दिरमा कात्तिक महिनामा दर्शनार्थीको संख्या घटेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार सो महिनामा कुल ४२ हजार २ सय ६१ भक्तजनले मन्दिरको दर्शन गरेका छन् । उनीहरुबाट ३४ लाख ४८ हजार भेटी संकलन भएको छ ।

समितका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा यस वर्ष भेटी र तीर्थयात्री दुवैको संख्या केही कम देखिएको छ । गत वर्षको कात्तिकमा ६१ हजार २७३ जना दर्शनार्थी पाथीभरा मन्दिर पुगेका थिए । यस्तै, अघिल्लो आव २०७९–८० को कात्तिकमा ४९ हजार १६३ जनाले मन्दिरको दर्शन गरेका थिए।

यो वर्षको असोज महिनामा परेको लगातार वर्षा तथा सडक अवरुद्ध हुँदा दर्शनार्थीको आगमनमा कमी आएको उनको भनाइ छ ।

मन्दिरमा भक्तजनले चढाएको भेटी समितिका कर्मचारीले प्रहरीको रोहवरमा संकलन गर्छन् । संकलित भेटी झोलामा लाहाछाप लगाई फेदीसम्म ल्याइन्छ र त्यसपछि सदरमुकाम फुङलिङस्थित क्षेत्र विकास समितिको कार्यालयमा ल्याएर गणना गरिने प्रचलन छ ।

समुद्री सतहबाट ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ । मेची राजमार्ग अन्तर्गत सुकेटारसम्म पक्की सडक छ भने त्यसपछिको काफ्लेपाटीसम्म कच्ची सडक छ। काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्छ।