झापाबाट हात्तीको बथान मोरङ फर्कियो

झापाबाट हात्तीको बथान मोरङ फर्कियो

विराटनगर । झापा जिल्लामा प्रवेश गरेको जंगली हात्तीको एउटा ठूलो समूह रतुवामाई वृक्षरोपण क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार केही हात्ती भने अझै झापाकै विभिन्न जङ्गलमा छरिएर रहेका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार, आइतबार करिब ३० वटा हात्तीको बथान मोरङबाट झापा प्रवेश गरेको थियो ।ृ छावासहितको यो बथान भारततर्फ जाने अनुमान गरिएको थियो । हात्तीको यो समूह शिवसताक्षी नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्ग नजिकैको रतुवामाई वृक्षरोपण जङ्गलमा आइपुगेको थियो ।
‘तीमध्ये करिब १५ वटा हात्तीको समूह सोमबार मोरङतिरै फर्किएको जानकारी हामीले पाएका छौँ,’ प्रमुख श्रेष्ठले भने, ‘हामीले निरन्तर निगरानी गरिरहेका छौँ । रतुवामाई आइपुगेको हात्तीको बथान टुक्रिएर केही मोरङ फर्किएका हुन् भने बाँकी झापातिरै अलमलिएका छन् ।’

मोरङको सुन्दरहरैँचास्थित कानेपोखरी जङ्गल क्षेत्रबाट आइतबार पूर्व लागेको यो बथानले झापाको बाहुनडाँगी गौडा हुँदै भारतको पश्चिम बङ्गाल जाने बाटो समातेको अनुमान गरिएको थियो । यी हात्तीहरू दिनभरि स्थानीय जङ्गलमा बस्ने र रात परेपछि मात्र यात्रा गर्ने गरेका थिए । सोमबार दिनभरि पनि यी हात्ती शिवसताक्षीको रतुवामाई र दमकको हम्सेदुम्से सामुदायिक वनमा बसेको श्रेष्ठले जानकारी दिए ।
करिब दुई वर्षअघि पनि ५० देखि ६० को सङ्ख्यामा हात्तीको ठूलो बथान बाहुनडाँगीको प्रसाद गौडा हुँदै नेपाल प्रवेश गरेको थियो । त्यसमध्ये ३० वटा जति हात्ती डेढ महिना नेपालमा बसेर भारत फर्किएका थिए भने बाँकी मोरङ र सुनसरीका वन क्षेत्रमा बस्दै आएका थिए ।

हात्तीको बथान झापा प्रवेश गरेसँगै डिभिजन वन कार्यालय र स्थानीय पालिकाहरूले जनधनको क्षति हुन नदिन उच्च सतर्कता अपनाएका छन् । वन कार्यालयले गस्ती टोली परिचालन गर्नुका साथै सर्वसाधारणलाई सचेत गराउन माइकिङ समेत गरेको थियो ।
भारतको आसामदेखि नेपालको कोशी टप्पु क्षेत्रसम्म जंगली हात्तीहरूको ओहोरदोहोर हुने गर्दछ । विशेषगरी गर्भिणी हात्तीहरू बच्चा हुर्काउनका लागि नेपालको सुरक्षित वन क्षेत्रमा आउने र पछि छावा हुर्काएर भारत फर्किने गरेको पाइन्छ ।ृद्देृघे अहिले भारत फर्कन लागेको यो बथानमा पनि धेरै छावा रहेको बताइएको छ । हात्तीहरू पूर्ण रूपमा भारत नफर्किउन्जेल सावधानी अपनाउन वन कार्यालयले सबैलाई आग्रह गरेको छ ।