विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कोशी प्रदेशको प्रतिनिधि टिम विराटनगर किंग्स आज आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्दै छ ।
विराटनगरको खेल आज बेलुकी ४ बजे त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटमा हुनेछ ।
विराटनगर किंग्स एमएडी ड्रिम स्पोटर्स प्रा.लि.को स्वामित्वमा रहेको टिम हो । यसपटक टिम अनुभवी कोच तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वमुख्य प्रशिक्षक पुबुदु दासानायकेको नेतृत्वमा मैदानमा उत्रनेछ ।
यो संस्करणमा विराटनगरको सबैभन्दा ठूलो आकर्षण बनेका छन् फाफ डू प्लेसिस र मार्टिन गप्टिल । दक्षिण अफ्रिकाका पूर्वकप्तान डू प्लेसिसले टी–२० मा ११ हजार ९०६ रन बनाइसकेका छन् । टेस्ट र एकदिवसीय दुवै प्रारूपमा उनले उच्च स्तरको प्रदर्शन गरिसकेकाले एनपीएलमा उनको आगमनले टिमको आत्मविश्वास बढेको छ ।
त्यसैगरी, न्युजिल्यान्डका स्टार ओपनर मार्टिन गप्टिललाई विराटनगरले यसपटक पनि निरन्तरता दिएको छ । सन् २०१५ विश्वकपमा अविजित २३७ रनको दोहोरो शतक प्रहार गरेका गप्टिल आधुनिक क्रिकेटका सर्वाधिक प्रभावशाली ब्याटरमध्ये एक हुन् । पहिलो संस्करणमा उनले विराटनगरका लागि ६ खेलमा एक अर्धशतकसहित १३७ रन बनाएका थिए ।
विराटनगरले विदेशी खेलाडीका रूपमा मर्चान्ट डे लांगे, साम हेजलिट, जर्ज मुन्से र सुवम राञ्जनेलाई पनि भित्र्याएको छ । टिममा नेपाली खेलाडीमा कप्तान सन्दीप लामिछाने टिमका मार्की र प्रमुख बलर हुन् । गत सिजन ७ विकेट लिएका सन्दीपले कप्तानी जिम्मेवारी पनि यसपटक सम्हाल्नेछन् । विकेटकिपर ब्याटर लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्टलाई टिमले रिटेन गरेको छ ।
अक्सनमार्फत विराटनगरमा सूर्य तामाङ, नारायण जोशी, साहिल पटेल, शंकर राना र श्रवण किस्कु अनुबन्धित छन् । ट्यालेन्ट हन्टबाट आयुष न्यौपानेले टिममा स्थान पाएका छन् ।
गत सिजन निराशाजनक प्रदर्शन गर्दै छैटौँ स्थानमा बसेको विराटनगर किंग्स यसपटक चर्चित विदेशी खेलाडी र सन्तुलित टोलीका साथ आफ्नो प्रदर्शन सुधार्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ । पोखरा एभेन्जर्ससँगको आजको खेल विराटनगरका लागि आफूलाई प्रमाणित गर्ने उत्कृष्ट अवसर मानिएको छ ।

