काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज बिहान लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका अवैध संरचनाहरूमाथि डोजर चलाएर भत्काएको छ । पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काको कम्पनी ‘खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि’ले भोगचलन गर्दै आएका संरचनाहरू भत्काइएको हो ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको ३ रोपनी जग्गामा निर्मित संरचनाको भाडा बक्यौता तिर्न खड्का ल्याण्डलाई दिएको ७ दिने अल्टिमेटमको म्याद सकिएपछि महानगरले कारबाही अघि बढाएको हो । पटकपटक ताकेता गर्दा पनि बक्यौता रकम भुक्तानी नगरेपछि स्काउटले संरचना र सामान जफत गर्ने चेतावनी दिएको थियो ।
२०६५ सालमा १० वर्षे अवधिका लागि भाडामा लिइएको उक्त जग्गामा खड्काको कम्पनीले ‘लैनचौर ब्याङ्क्वेट’ र ‘माई च्वाइस’ नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएको थियो । सम्झौताको अवधि २०७५ सालमा नै समाप्त भए पनि कम्पनीले जग्गा खाली गरेको थिएन । यसका साथै, सम्झौतामा ३ रोपनी जग्गा मात्र उल्लेख भए पनि कम्पनीले आसपासको थप ९ रोपनी जग्गा समेत हडपेर पार्किङ लगायतका प्रयोजनमा प्रयोग गर्दै आएको आरोप छ ।
यो विवाद लामो समयदेखि अदालतमा समेत विचाराधीन थियो । पाटन उच्च अदालतले स्काउटको पक्षमा फैसला सुनाएपछि पनि खड्काको कम्पनीले जग्गा खाली गर्न अटेर गर्दै आएको थियो । स्काउटले जग्गा खाली गराउनका लागि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र गृह मन्त्रालयलगायत विभिन्न निकायमा हारगुहार गरेको थियो
आज बिहानै महानगर प्रहरी र डोजरसहितको टोली लैनचौर पुगेर अवैध संरचना भत्काउन सुरु गरेको थियो । युवा तथा खेलकुद मन्त्रीको उपस्थितिमा भएको उक्त कारबाहीमा महानगरले स्काउटको जग्गामा बनेका सबै व्यावसायिक संरचनाहरू हटाएको हो । खड्का ल्याण्डले स्काउटका दुई व्यावसायिक भवन समेत भाडामा लिएर ३६ र १२ वटा पसल सञ्चालन गरिरहेको थियो ।
लामो समयदेखिको विवाद र कानुनी लडाइँपछि अन्ततः नेपाल स्काउटले आफ्नो जग्गा फिर्ता पाउने प्रक्रिया सुरु भएको छ । महानगरको यस कदमले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई कडा सन्देश दिएको छ ।
