विराटनगर । बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातले भारतको दक्षिणी तटीय क्षेत्र हुँदै नेपालको मौसम प्रणालीमा पनि प्रभाव पारिरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालको कोशी, मधेस र बागमती प्रदेशका २६ वटा जिल्ला मोन्था चक्रवातबाट प्रभावित हुने भन्दै सतर्कता अपनाउन भनेको छ ।
कोशी र मधेसका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । गत असोजको बाढीबाट ठूलो धनजनको क्षति भएकोक इलामसहितका जिल्ला बिहीबारबाट हुने वर्षाको जोखिममा रहेको मौसमविद्हरुले बताउँदै आएका छन् ।
मोन्था चक्रवात अहिले भारतको आन्ध्र प्रदेशको मछलीपट्टनम र कलिंगपट्टनमबीच काकिनाडा नजिकैको तटमा छ । मोन्था चक्रवातका कारण आन्ध्र प्रदेशका चार जिल्लामा भारी वर्षा भइरहेको छ । रूखहरू उखेलिने र बिजुलीका पोल भाँचिने घटना भइरहेको र उडिसा तथा तमिलनाडुमा पनि भारी वर्षा भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बिहीबारदेखि शनिबारसम्म भारी वर्षा हुने सम्भावना रहेकाले नेपालको कोशी, मधेसमा पनि सतर्कता अपनाउन भनिएको छ । चक्रवातकै कारण नेपालमा अहिले चिसो बढेको छ ।
शरद ऋतुमा उत्पन्न भएको यो चक्रवातलाई मोन्था नाम राखिएको छ । मोन्था शब्द थाइल्यान्डको भाषाबाट आएको बताइन्छ । थाई भाषामा मोन्थाको अर्थ बास्नादार फूल हो । अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले भने मोन्थालाई सुगन्धित कमलको फूल या समुद्रकी रानी भनेर व्याख्या गरिरहेका छन् ।
थाई संस्कृतिमा कमलको फूललाई समुद्रसँग जोडेर हेर्ने गरिएकाले यो चक्रवातको नाम राख्दा थाइल्यान्डले यही शब्दा सुझाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । उत्तरी हिन्द महासागर (बंगालको खाडी र अरब सागर) मा आउने चक्रवातहरूको नामकरण विश्व मौसम संगठनको प्यानलले गर्छ। यो प्यानलमा भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, ओमान, इरान, कतार, साउदी अरब, यमन, युएई लगायत देश छन् । यी देशले पालैपालो नाम सुझाउँछन् ।
प्रत्येक देशले आठ–आठवटा नाम सुझाउने र सुझाइएका नाम पालैपालो प्रयोग हुने बताइन्छ । नाम सुझाउँदा स्थानीय भाषा, संस्कृति र प्रकृतिसँग जोडिएको हुनुपर्छ । लिंगद्वेषी शब्द ग्राह्य हुँदैन। नाम धेरै क्रूर वा कठोर सुनिनु हुँदैन भने छोटो र सजिलै उच्चारण गर्न सकिने हुनुपर्छ ।
यस्तै नाम पुनः प्रयोग गर्न सकिँदैन । त्यसैले हरेकपटक नयाँ नाम चयन गर्नुपर्छ । प्रस्तावित नाम दिल्ली केन्द्रबाहेक विश्वका कुनै पनि मौसम विज्ञान केन्द्रमा दर्ता गर्नु हुँदैन ।
यसअघि निवार, बुरेवी, दानालगायत नाम सुझाइएका थिए। निवार इरानीले प्रस्ताव गरेको नाम हो । त्यस्तै, बुरेवी माल्दिभ्स र दाना यमनले प्रस्ताव गरेका नाम हुन् । दाना चक्रवात अघिल्लो कात्तिक पहिलो र दोस्रो साता सक्रिय भएको थियो ।
थाइल्यान्डले सन् २०२० मा मोन्था नाम प्रस्ताव गरेको थियो । रोलक्रमअनुसार त्यो नाम अहिले प्रयोग भएको हो ।
विश्वभर ६ वटा क्षेत्रीय विशेष मौसम केन्द्र र पाँचवटा चक्रवात चेतावनी केन्द्र छन् । जसले चक्रवातसम्बन्धी दिशानिर्देश जारी गर्ने र तिनको नामकरण गर्ने जिम्मेवारी पाएका छन् । भारतीय मौसम विज्ञान विभाग ६ वटा विशेष मौसम केन्द्रमध्ये एक हो, जसले चक्रवात र आँधीबेहरीबारे सल्लाह जारी गर्छ ।
भारतको नयाँ दिल्लीस्थित यो केन्द्रले उत्तर हिन्द महासागरमा बन्ने चक्रवातहरूको पनि नामकरण गर्छ । उत्तर हिन्द महासागरअन्तर्गत बंगालको खाडी र अरब सागर छन् ।
चक्रवातको नामकरण गर्नाले वैज्ञानिक समुदाय, विपद् प्रबन्धक, मिडिया र आम मानिसलाई चक्रवात पहिचान गर्न मद्दत गर्छ र यसले जागरूकता बढाउन पनि सहयोग पुग्छ । एकै समयमा क्षेत्रमा दुईवटा चक्रवात आएमा कुनै भ्रम हुँदैन। यसले ठूलो संख्याका मानिसहरूसम्म चक्रवातसम्बन्धी चेतावनी पुर्याउन मद्दत गर्ने बताइन्छ ।
सन् २००० मा मस्कटमा भएको २७औँ ईएससीएपी र डब्लूएमओ सम्मेलनपछि चक्रवातहरूको नामकरण गर्ने बारेमा सैद्धान्तिक रूपमा सहमति भएको थियो । सेप्टेम्बर २००४ मा सदस्य देशहरूबीच व्यापक छलफल सुरु भएको थियो । त्यस बेला सूचीमा आठ देशले दिएका नाम थिए। यस सूचीमा अन्तिम अम्फानबाहेक अहिलेसम्म प्रयोग गरिएका लगभग सबै नाम थिए ।
२०१८ मा ईएससीएपी र डब्लूएमओको ४५औँ सम्मेलनमा चक्रवातको नामहरूको नयाँ सूची तयार पारिएको थियो। यसमा पाँच नयाँ सदस्य देशले प्रस्ताव गरेका नाम पनि थिए । ती देश इरान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र यमन थिए।
यसपछि सदस्यहरूको कुल संख्या १३ पुग्यो । सम्मेलनमा भारतीय मौसम विज्ञान विभागका डा. मृत्युञ्जय महापात्रालाई सबै स्थापित मापदण्डअनुसार चक्रवातहरूको नामकरण सुनिश्चित गर्न विभिन्न सदस्य देशहरूबीच समन्वय गर्ने जिम्मेवारी दिइएको थियो । उनीहरूले तयार पारेको प्रतिवेदन म्यानमारमा आयोजित ४६औँ सम्मेलनमा प्रस्तुत गरिएको थियो र छलफलपछि यसलाई अप्रिल २०२० मा अनुमोदन गरिएको थियो ।
भारतीय मौसम विज्ञान विभागका महानिर्देशकका अनुसार उत्तरी हिन्द महासागर क्षेत्रमा सामान्यतया प्रत्येक वर्ष पाँच वटा चक्रवात आउँछन् । त्यसैले नयाँ सूचीमा रहेका नाम आगामी २५ वर्षसम्म प्रयोग गरिनेछ ।
प्रत्येक देशले नयाँ सूचीमा १३ वटा नाम पेस गरेका छन् । अर्नब (बंगलादेश), साहिन र बहर (कतार), लुलु (पाकिस्तान) र पिंकु (म्यानमार) यस सूचीमा समावेश नाम हुन् । भारतले प्रस्ताव गरेको चक्रवातहरूको नाम गति, तेज, मुरासु, आग, नीर, प्रभन्जन, घुरनी, अम्बुद, जलाधी र भेगा छन् ।
बीबीसीको सहयोगमा


