विराटनगर । खोटाङका युवाहरूले तिहारको अवसरमा माइती तथा मावली जाने चेलीबेटीहरूका लागि निःशुल्क यातायात सेवा सुरु गरेका छन्। ‘दसैं–तिहार चेलीलाई उपहार अभियान अन्तर्गत यो सेवा सञ्चालन गरिएको हो।
अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार, यो सेवा विशेषगरी महिला, वृद्धवृद्धा, बालबालिका र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई लक्षित गरी सुरु गरिएको हो। बुधबारदेखि कात्तिक ७ गतेसम्म तीन दिनका लागि यो अभियान सञ्चालन हुनेछ।
गत वर्षको पहिलो संस्करणमा ४१५ जनाले यो सेवा लिएका थिए। यस वर्ष भने दोस्रो संस्करणका रूपमा सञ्चालित यो अभियानबाट दसैं–तिहार अवधिभर हजार जनालाई सेवा पुर्याउने लक्ष्य राखिएको राईले बताए।
अभियानमा २०–२५ जना राइडरहरू खटिएका छन्। मिलन आचार्य र फुर्बा शेर्पालगायतका व्यक्तिहरू गाडीसहित स्वयंसेवामा जुटेका छन्। विभिन्न व्यक्ति तथा संस्थाहरूबाट आर्थिक तथा अन्य सहयोगको प्रतिबद्धतासमेत प्राप्त भएको राईले जानकारी दिएका छन्।