आज भाइटीका, बिहान ११ : ३९ मा उत्तम साइत

विराटनगर। तिहारको मुख्य दिन आज भाइटीका लगाएर मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई आज श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर मनाइँने प्रचलन छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

आजका दिन टीका ग्रहण गर्न दिनभर खुला रहने भएपनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजे शुभ मूहुर्त रहेको बताइएको हो । शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

कार्तिक ६, २०८२, बिहानको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर