विराटनगर । लामो समयदेखि काठमाडौंमा बसिरहका गंगा रिजाल आजभोली कोशी प्रदेशका ठूला शहरहरुमा कुदिरहेका छन् । आफूले उत्पादन गरेको अकबरेको बजार नपाए पछि उनी बजारको खोजीमा दौडिएका हुन् । केही दिन अगाडि विराटनगरको बजारमा भेटिएका गंगाले कुराकानी सुरु हुने वित्तिकै खोर्सानी बजारको समस्याबारे सुनाए ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–६, मेहेलबोटेका खेतबारी र पाखाहरूमा मकै, कोदो र आलु फल्थे । तर, बालीनाली सधैँ बाँदरको निसानामा पथ्र्यो । यो केवल एउटा रिजाल परिवारको मात्र समस्या थिएन, पहाडी क्षेत्रका अधिकांश किसान बाँदर आतंकबाट पीडित छन् । बाँदरबाट जोगिने बालीको खोजीमा लागेका सोही ठाउँका रिजाल परिवारले गत वर्षदेखि रिजाल कृषि तथा पशु र्फममार्फत सुरु गरे अकबरे खेती । ‘अरू बालीनाली त केही नहुने भयो, बाँदरले साह्रै दुःख दियो,’ खुर्सानी खेतीका सञ्चालक मध्येका एक गंगा रिजाल भन्छन्, ‘बाँदरले नखाने के खेती हुन्छ भनेर खोज्दै जाँदा अकबरे खुर्सानी उपयुक्त लाग्यो ।’
दक्षिण कोरियामा खुर्सानी खेतीमै काम गरेका गंगाका भाइ मदन रिजालले त्यहाँको प्राविधिक ज्ञानलाई आफ्नै माटोमा प्रयोग गर्ने आँट देखाए । त्यसपछि गंगा, मदन र उनका बुवा प्रेमप्रसाद र काका खोमनाथ रिजाल मिलेर करिब २२ लाखको लगानीमा खोर्सानीको व्यावसायिक खेती सुरु गरे । सुरुको लगानी बीउ, मल, सिँचाइ, प्रविधि र कामदारको ज्यालामा खर्च भएको छ ।
उनीहरूले स्थानीय १५ जनालाई रोजगारी दिँदै ४५ हजार अकबरेका बिरुवा रोपे । तर, यात्रा सहज थिएन । उत्पादनको चरणसम्म पुग्न उनीहरूले अनेकौँ प्राकृतिक र प्राविधिक चुनौतीको सामना गर्नुप¥यो । पहिलो समस्या बीउकै भयो । स्थानीय स्तरमा पर्याप्त बीउ नपाएपछि उनीहरूले लमजुङबाट प्रतिकेजी करिब ६० हजार रुपैयाँ (३० हजारमा आधा केजी) पर्ने महँगो बीउ खरिद गर्नुप¥यो ।
त्यसपछि खडेरीले सतायो । बिरुवा रोप्ने बेलामा पानी नपर्दा प्रत्येक बिरुवामा कर्मचारी खटाएर पानी हाल्नुपर्ने अवस्था आयो । प्रतिकूल मौसमका बाबजुद बिरुवा हुर्काए पनि विभिन्न रोग र कीराले आक्रमण ग¥यो । ‘सुरुमा त प्राविधिक ज्ञानकै अभाव भयो । कसले सिकाउने, के गर्ने भन्ने थाहा थिएन,’ गंगाले अनुभव सुनाए, ‘पछि कृषि ज्ञान केन्द्रसँग समन्वय ग¥यौँ । उहाँहरूले पनि फिल्ड भिजिट गरेर केही सहयोग गर्नुभयो ।’ यी सबै चुनौतीका बीच उनीहरूले रोपेका ४५ हजार बिरुवामध्ये करिब १० हजार मरे, जसले उनीहरूलाई ठूलो नोक्सानी भयो ।
उत्पादन टिपेर राख्दा लाग्ने खुर्सानीको थुप्रोले उनीहरूको परिश्रमको सफलता देखाउँछ । अहिलेसम्म करिब ६ टन उत्पादन भइसकेको छ भने सिजनभरिमा ४० टन पुग्ने अनुमान छ । खुर्सानीका ती रासहरू उनीहरूको पसिना र लगानीको प्रमाण हुन् । तर, यही उत्पादन बजारमा पुग्दा उनीहरूले पीडा पाए ।
सुरुआती दिनमा प्रतिकेजी २५० रुपैयाँसम्म मूल्य पाएको अकबरेको भाउ अहिले १५० रुपैयाँभन्दा तल झरेको छ । यसको मुख्य कारण हो— बाहिरी जिल्लाबाट आउने सस्तो खुर्सानीसँगको अस्वस्थ प्रतिस्पर्धा ।
‘हामीलाई मुख्य समस्या मकवानपुरको पालुङ र लमजुङतिरबाट आउने खुर्सानीले पारेको छ,’ गंगाले भने, ‘उतातिरका किसानले सरकारी अनुदान पाएका छन् । त्यसैले उनीहरूले प्रतिकेजी १३०–१४० रुपैयाँमै पूर्वी बजारमा खुर्सानी पठाइदिन्छन् । हामीले त आफ्नै लगानीमा गरेका छौँ, उनीहरूको मूल्यमा हामीले प्रतिस्पर्धा गर्नै सक्दैनौँ ।’
उनीहरूले पूर्वका ठूला बजार दमक, बिर्तामोड, धरानदेखि विराटनगरसम्म बजार खोजे । तर, पालुङको खुर्सानी बजारमा आइपुगेपछि उनीहरूको उत्पादनले उचित मूल्य पाउन सकेन । ‘उहाँहरूको खुर्सानी पूर्व आउनेबित्तिकै हाम्रो मूल्य घटाइदिनुपर्ने बाध्यता भयो,’ उनले भने ।
स्थानीय अचार र चाउचाउ उद्योगहरूले किनिदेलान् भन्ने आशा पनि निराशामा परिणत भएको छ । उद्योगहरूले सिजनको सबैभन्दा सस्तो बेलामा, त्यो पनि उत्कृष्ट ग्रेडिङ गरिएको माल मात्रै खोज्ने भएकाले साना किसान मारमा परेका छन् । ‘उहाँहरूको खुर्सानी पूर्व आउनेबित्तिकै हाम्रो मूल्य घटाइदिनुपर्ने बाध्यता भयो,’ उनले भने ।
यो उद्यममा सरकारको उपस्थिति शून्यप्रायः छ । कृषि अनुदान, सहुलियत ऋण र प्राविधिक सहयोगका नारा सुनिए पनि रिजाल परिवारले अहिलेसम्म कुनै पनि निकायबाट ठोस सहयोग पाएको छैन । केही दिन अगाडि मेची राजमार्ग र तमोर कोरिडोरमा खसेको पहिरोले बाटो अवरुद्ध भयो । त्यसपछि ढुवानीमा अर्को समस्या थप्यो । दशैँ–तिहारको समयमा गाडीहरूले यात्रुको सामानलाई प्राथमिकता दिँदा कृषि उत्पादन ढुवानी गर्न गाह्रो भयो । तर पनि उनीहरू आफ्नै बलबुतामा संघर्ष गरिरहेका छन् ।
पहिलो सिजनमै बजारको तीतो अनुभव सँगाले पनि रिजाल परिवार हतोत्साहित भने भएको छैन । उनीहरू अर्को सिजनमा उत्पादनको परिमाण बढाएर लागत घटाउने र बजारमा प्रतिस्पर्धा गर्ने योजनामा छन् । ‘जब हाम्रो उत्पादनको मात्रा बढ्छ, तब हामीले कम मूल्यमा पनि नाफा कमाउन सक्छौँ,’ गंगाले भने । बरु बेर्ना उत्पादन गरेर कृषकलाई पनि यो खेतीमा आकर्षित गर्ने प्रयासमा रिजाल परिवार लागेको छ ।
नेपालको अकबरे खुर्सानी भारतको दार्जिलिङ, सिक्किमजस्ता पहाडी क्षेत्रमा निकै रुचाइन्छ । तर, औपचारिक निर्यातको बाटो नहुँदा अहिले पनि पशुपतिनगरजस्ता नाकाबाट चोरी–निकासी भइरहेको छ । ‘यदि सरकारले भारतमा अकबरे निर्यात गर्ने कानुनी बाटो खोलिदिने हो भने नेपालका किसानले पर्याप्त उत्पादन गरेर राम्रो आम्दानी गर्न सक्थे,’ गंगाले भने । तर, सरकारी तहबाट यस्तो पहल नहुँदा किसानहरू आन्तरिक बजारको प्रतिस्पर्धामै रुमल्लिन बाध्य छन् ।