गाउँको केराको बोट : शहरमा आम्दानीको स्रोत

विराटनगर । लक्ष्मी पूजाको अवसरमा विराटनगरका बजारहरूमा विशेष चहलपहल देखिएको छ । धनधान्यकी देवी लक्ष्मीको स्वागतका लागि घरआँगन सजाउने क्रममा केराको थम्बाको माग ह्वात्तै बढेको छ ।

यसै अवसरमा, सुनसरीको बर्जुजस्ता ग्रामीण क्षेत्रबाट किसान तथा व्यापारीहरू केराको थम्बा लिएर विराटनगरको बजारमा आइपुगेका छन्, जसले बजारमा तिहारको रौनक थपेको छ ।

हिन्दु संस्कृतिमा केराको बोटलाई अत्यन्त पवित्र मानिन्छ र यसलाई सुख, समृद्धि र सौभाग्यको प्रतीकको रूपमा लिइन्छ । विशेष गरी लक्ष्मी पूजाको दिन घरको मूल ढोकाको दुवैतर्फ केराको थम्बा राखेर सजाउने परम्परा रहिआएको छ । यो चलनले घरमा देवी लक्ष्मीको आगमनलाई स्वागत गर्ने र परिवारमा शुभसाइत भित्र्याउने विश्वास गरिन्छ । यही सांस्कृतिक महत्वका कारण हरेक वर्ष तिहारमा केराको थम्बाको माग उच्च हुने गरेको छ ।

सोमबार बिहानैदेखि विराटनगरका मुख्य बजार क्षेत्रमा केराको थम्बा खरिद गर्नेहरूको भीड लागेको थियो । सुनसरीको बर्जुबाट रातारात केराको थम्बा काटेर बिक्रीका लागि ल्याएका व्यापारी श्याम ऋषिदेवले व्यापार निकै राम्रो भएको बताए । उनले भने, ‘आइतबार राती बगानबाट काटेर ल्याएको एक ट्याक्टर केराको थम्बा बिहान १० बजेसम्म सबै बिक्री भइसक्यो ।’

बजारमा केराको थम्बाको मूल्य आकारअनुसार फरक फरक रहेको छ । ऋषिदेवका अनुसार, ‘अलिक राम्रो र ठूलो साइजको थम्बालाई जोडीको चार सय रुपैयाँसम्ममा बेचेँ, भने सानो साइजको जोडीलाई तीन सय रुपैयाँमा बिक्री गरेँ ।’ उनले सुनसरीका विभिन्न गाउँका केरा बगानबाट थम्बा संकलन गरी विराटनगरका पसल तथा फुटपाथ बजारमा ल्याएर बिक्री गरेको जानकारी दिए ।

लक्ष्मी पूजाको दिन केराको थम्बाको बिक्री सबैभन्दा बढी हुने भएकाले व्यापारीहरूले केही दिन पहिलेदेखि नै गाउँ गाउँबाट संकलन गरेर ल्याउने गर्दछन् । यो क्रमले ग्रामीण किसानहरूलाई छोटो समयमै राम्रो आम्दानीको अवसर पनि प्रदान गरेको छ । केराको फल र पातसँगै तिहारको समयमा यसको थम्बाले पनि राम्रो मूल्य पाउँदा किसानहरू उत्साहित देखिन्छन् ।

कार्तिक ३, २०८२, दिउँसोको ०३:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर