विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय संयोजक गंगा दाहालले राजीनामा घोषणा गरेकी छिन् ।
फेसबुकमा लामो र भावनात्मक स्टाटस लेख्दै गंगाले आफूलाई निरन्तर देखाएर प्रचण्ड र माओवादी केन्द्रमाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको बताएकी छन् । यही कारणले पार्टी सचिवालय संयोजकको जिम्मेवारीबाट हट्ने निर्णय गरेको उनले उल्लेख गरेकी छिन् ।
गंगाले लेखेकी छन्, “म, मेरा दिदीहरू र भाइले महान जनयुद्धको समयमा राज्य सत्ताको दमनका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागेका हौं । तर पछिल्लो समय मेरो लवाई, खुवाइ र सामान्य जीवनशैलीलाई लिएर निरन्तर कुप्रचार र भ्रम फैलाइएको छ । राम्रो गर्न खोज्दा पनि विवादमा पार्ने प्रवृत्तिले म थाकिसकेकी छु।” उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत चरित्र हत्या अभियान चलाइएको गुनासो पनि गरेकी छन् ।
“कहिले लाखौंको ब्याग भनिदिन्छन्, कहिले लाखौंको घडी । तर, मसँग लाख पर्ने ब्याग वा घडी कहिल्यै थिएन । साथीभाइले जन्मदिनमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली
पनि जलेर खरानी भइसकेको छ । तर, अझै त्यही कुरा उचालेर प्रहार भइरहेको छ,” उनले लेखेकी छन् । पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने बताउँदै उनले सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति आभार व्यक्त गरेकी छन् ।
गंगाले पार्टीप्रतिको आफ्नो निष्ठा यथावत रहेको बताउँदै, व्यक्तिगत रूपमा आफूविरुद्ध गरिएको निरन्तरको प्रहार र गलत व्याख्याका कारण संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको स्पष्ट गरेकी छन् । गङ्गा प्रचण्डकी कान्छी छोरी हुन् प्रकाश दाहालको निधनपछि उनैले प्रचण्डको सचिवालय हेर्दै आएकी थिइन्।