विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले आसन्न दिपावली, छठ, उधौली लगायतका चाडपर्वलाई सुरक्षित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका प्रहरी प्रमुखहरूलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका छन्।
प्रदेश प्रहरी प्रमुख कार्कीले चाडपर्व विशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालनमा कुनै कमी हुन नदिन निर्देशन दिँदै चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, कालोबजारी, खुला सिमानाकाबाट हुने चोरी तस्करी, लागूऔषधको प्रयोग तथा ओसारपसार, झैझगडा, जुवातासजन्य गतिविधिहरूलाई नियन्त्रण गर्न कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन्।
निर्देशनका क्रममा डीआईजी कार्कीले चाडपर्वमा लाग्ने मेला पर्व, बैंक तथा वित्तीय संस्था, सुन चाँदी पसलहरूमा प्रहरीको निगरानी बढाउन तथा सरोकारवाला निकायहरूसँगको समन्वयमा प्रभावकारी बजार अनुगमन गर्न समेत निर्देशन दिएका छन्। यात्रुहरूको आवागमनलाई थप सहज बनाई दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन विशेष ध्यान दिन पनि उनले जोड दिए।
साथै, उनले हालको विषम मौसमका कारण बाढी, पहिरो, डुबान जस्ता विपदका घटनाहरू भइरहेको अवस्थामा प्रहरी संवेदनशील भई अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी परिचालन हुन समेत निर्देशन दिएका छन्।
उक्त भर्चुअल कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोख्रेल लगायत अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। यस निर्देशनपश्चात् कोशी प्रदेशभरका नागरिकले सुरक्षित र भयरहित वातावरणमा चाडपर्व मनाउन पाउने विश्वास गरिएको थियो ।