दक्षिण कोरियाबाट सुरु भयो माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको एकता

विराटनगर । दक्षिण कोरियामा रहेका दुई प्रमुख वामपन्थी दलका प्रवासी संगठनहरू—नेकपा (माओवादी केन्द्र) निकट ‘नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरिया’ र नेकपा (एकीकृत समाजवादी) निकट ‘प्रवासी नेपाली एकता मञ्च, दक्षिण कोरिया’—बीच हिजो अक्टोबर १९ मा ऐतिहासिक एकता घोषणा भएको छ। यस एकतालाई प्रवासी नेपाली वामपन्थी आन्दोलनमा एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

राजधानी सियोलमा आयोजित एक कार्यक्रममा दुवै संगठनका नेतृत्वले एकता घोषणापत्रमा हस्ताक्षर गर्दै भविष्यमा सहकार्यका लागि विभिन्न प्रतिबद्धताहरू व्यक्त गरेका छन्। ‘प्रवासी नेपाली एकता मञ्च, दक्षिण कोरिया’ का कार्यवाहक अध्यक्ष राजु राई र ‘नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरिया’ का अध्यक्ष जीवन सविडाले एकता पत्रमा हस्ताक्षर गरेका छन्।

एकता घोषणा गर्दै, दुई संगठनले भविष्यमा आपसी उच्च सम्मान र समान अधिकारका आधारमा अघि बढ्ने, नेपालमा मूल पार्टीहरूबीच एकता नभए पनि दक्षिण कोरियामा यो एकता निरन्तर कायम राख्ने, एकीकृत संगठनको नाम ‘नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरिया’ रहने, भ्रष्टाचार वा अन्य अनियमिततामा संलग्न भई सजायमा परेका सदस्यहरूलाई पदबाट हटाई संगठनलाई शुद्धीकरण गर्ने, निर्वाचन प्रणालीमा योग्य, दूरदर्शी र जनप्रिय व्यक्तिहरूलाई प्राथमिकता दिई नेतृत्वमा ल्याउने वातावरण सिर्जना गर्ने, ‘जेन–जेड’ पुस्ताको भावना र मागलाई सम्बोधन गर्दै उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने, भिन्न विचारका अन्य पार्टीहरूसँग समेत सहकार्यका लागि केन्द्रमा पहल गर्ने, र प्रवासमा रहेका नेपालीहरूलाई मताधिकार दिलाउनका लागि सरकारसँग निरन्तर पहल गर्ने जस्ता प्रतिबद्धताहरू जनाएका छन्।

यो एकताले दक्षिण कोरियामा रहेका नेपाली समुदायमाझ वामपन्थी विचारधारालाई थप सशक्त बनाउनुका साथै नेपाली राष्ट्रिय एजेन्डाहरूमा सामूहिक रूपमा आवाज उठाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कार्तिक ३, २०८२, बिहानको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर