इलाममा इन्धन, खाद्यान्न र औषधि संकटको जोखिम

घरमाथि बाँस रोप्नु जोखिमपूर्ण रहेछ भन्ने देखाएको छ

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर इलामबाटै निर्वाचित प्रदेश सांसद पनि हुन् । गत असोज १८ र १९ गते आएको बाढी पहिरोबाट सबैभन्दा बढी मानवीय र भौतिक क्षति इलाममै भएको छ । सबै क्षेत्रमा स्थलगत अवलोकन गरेर फर्किएका उनलाई हामीले सोधेका छौं, ‘बाढी–पहिरोले पुर्‍याएको क्षति, नागरिकले भोगेका समस्या के के छन् ?’ प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अं शः

बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित इलामको हालको अवस्था कस्तो छ ? क्षतिको मुख्य कारण के देख्नुभयो ?

इलाम जिल्लाको भौगोलिक बनावट नै यस्तो छ कि यहाँ महाभारत पर्वत श्रृंखलाले घेरिएको छ । मनसुनको समयमा पानी पर्दा यही श्रृंखलामा ठोक्किएर धेरै वर्षा हुने गर्छ, जसले गर्दा यहाँ चिया, अलैँची जस्ता बालीलाई फाइदा पुगे पनि विपद्को जोखिम पनि बढाउँछ । यसपटकको वर्षा, विशेषगरी अन्तिम ८ घण्टाको अविरल र ठूलो वर्षाले कल्पना गरेभन्दा बढी क्षति पु¥यायो । यस बाढी र पहिरोका कारण जिल्लाका सडक सञ्जालहरू अवरुद्ध भएका छन्, धेरै ठाउँका पुलहरू र पुलका एप्रोच रोडहरू बगाएको छ । ३९ जनाले ज्यान गुमाउनुभयो, धेरै घरहरू बगेका छन् र ठूलो संख्यामा पशुचौपायाको पनि क्षति भएको छ । अहिले जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । कृषि उत्पादन खेतबारीमै रोकिएका छन् । कृषिजन्य उद्योगबाट उत्पादित वस्तुहरु बजारसम्म लैजान सकिएको छैन । एक हिसावले भन्ने हो भने त्यहाँ बहुआयामिक संकट देखिएको छ ।

मानवीय क्षतिको कुरा गर्दा, विशेषगरी कस्ता ठाउँमा र के कारणले मानिसहरूको ज्यान गएको पाइयो ?

संकटग्रस्त घोषणा गरिएका ८ वटा पालिकामा हेर्दा धेरैजसो मृत्युको कारण कमजोर भू–बनावट र अव्यवस्थित बसोबास देखिन्छ । दुईवटा घटना त घरमाथि रहेको बाँसको झ्याङ खसेर भएको छ । धुसेनीमा एउटा घर र सुलुबुङमा एउटा घरमाथिबाट बाँसको झ्याङ खस्दा घरै किचिएर मानवीय क्षति भयो । यसले घरमाथि बाँस रोप्नु जोखिमपूर्ण रहेछ भन्ने देखाएको छ । यसबाहेक, अप्ठ्यारो भिरालो जमिनमा बनेका घर र खोला किनारका बस्तीहरूमा पहिरोले बढी क्षति पु¥याएको छ । कतिपय ठाउँमा त पहिरोले घरै स्वात्तै बगाएर लगेको छ । इलाम नगरपालिका वडा नं. ६ मा पहिरोले घरैसहित लगेको एकजना व्यक्ति अझै बेपत्ता हुनुहुन्छ ।

सडक सञ्जाल टुटेका कारण अहिले तत्काल देखिएका समस्याहरू के–के हुन् ?

सडक सञ्जाल अवरुद्ध हुनु नै अहिलेको सबैभन्दा ठूलो र तत्कालको चुनौती हो । यसले गर्दा अहिले नै बजारमा इन्धन र ग्यासको अभाव सुरु भइसकेको छ । ग्यासको हाहाकार नै छ । विपद्को समयमा मात्रै इन्धन वितरण गर्नु भन्ने निर्देशनले झन् समस्या थपेको छ, किनकि सदरमुकामसम्म पुग्ने बाटो नै छैन । इन्धनपछि अब खाद्यान्न र औषधिको संकट आउने अवस्था छ । इलाम दूध, तरकारी, चिया उत्पादन गर्ने जिल्ला हो, तर सडक नहुँदा किसानले आफ्नो उत्पादन बजारसम्म पु¥याउन सकेका छैनन् र बजारबाट आवश्यक वस्तु ल्याउन पनि सकिएको छैन । यसले दोहोरो मार पारेको छ । यहाँ खानेपानीको पनि संकट सुरु भएको थियो । तर, तत्कालका लागि मुलको पानी ल्याएर व्यवस्थापन गरिएको छ । मूल सुकेसँगै त्यहाँ पनि पानीको संकट सुरु हुने देखिन्छ ।

घरबारविहीन भएका नागरिकहरूलाई राहत र व्यवस्थापन कसरी भइरहेको छ ? राहत पु¥याउन के–कस्ता कठिनाइ छन् ?

स्थानीय पालिकाहरू र प्रदेश सरकारले आफ्नोतर्फबाट राहतको प्रयास गरिरहेका छन् । तर मुख्य समस्या बाटो नै हो । सडक सञ्जाल नजोडिएका कारण हामीले चाहेर पनि राहत सामग्री गाडीबाट पु¥याउन सक्ने अवस्था छैन । विशेषगरी माइजोगमाई, सन्दकपुर जस्ता पालिकाहरूमा तत्काल राहत पु¥याउन निकै कठिन छ । जबसम्म सडकको पहुँच स्थापित हुँदैन, प्रभावकारी रूपमा राहत वितरण गर्न सकिँदैन ।

खानेपानीको अवस्था कस्तो छ ?

खानेपानीको समस्या आम रूपमा छ, तर मानिसहरूले हाललाई आ–आफ्नो मुहानबाट अस्थायी व्यवस्था गरेर काम चलाइरहेका छन् । तर ठूला सहरहरूमा यो समस्या गहिरिन सक्छ । तत्कालको प्राथमिकता सडक खुलाएर अन्य आवश्यक सामग्रीको आपूर्ति सहज बनाउनु नै हो ।

अब सरकारको तत्कालको प्राथमिकता के हुनुपर्छ जस्तो लाग्छ ? अवरुद्ध सडकहरू खुलाउन द्रुत गतिमा काम गर्दा कहिलेसम्म खुल्लान् ?

हाम्रो पहिलो र तत्कालको प्राथमिकता भनेकै अवरुद्ध सडक सञ्जाललाई जसरी हुन्छ जोड्नु हो । यसका लागि हामीले केही योजना बनाएका छौँ । इलाम सदरमुकाम जोड्नका लागि जोगमाईमा तत्काल डाइभर्सन बनाएर बाटो खोल्ने । गजुर्मुखी धाममा रहेको पक्की पुलको बगाएको एप्रोच रोड ८–१० दिनभित्र बनाएर देउमाई र इलाम नगरपालिकासम्मको पहुँच खोल्ने । दमक–रवि सडक खण्डलाई पनि मर्मत गरेर सुचारु गर्ने । हामीले एक सातादेखि १० दिनभित्रमा अत्यावश्यक सवारी चल्न सक्ने गरी बाटो बनाउने लक्ष्य राखेका छौँ । यसका लागि स्थानीय प्रशासन, पालिकाहरू र प्रदेश सरकार मिलेर काम गरिरहेका छौँ । जबसम्म बाटो खुल्दैन, इन्धन, खाद्यान्न, औषधि र राहतको आपूर्ति सहज हुँदैन । त्यसैले हाम्रो सम्पूर्ण ध्यान अहिले सडक मर्मत र पुनस्र्थापनामा केन्द्रित छ ।

अशोज २३, २०८२, साँझको ०५:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर