मधेसको दशैं–पूजा विधि : एक अदृश्य तर गहिरो साधना

 डा. बालकृष्ण साह

नेपालको आफ्नै सांस्कृतिक बिशेषता छ । यसमा दशैं एउटा साझा उत्सव हो। तराई–मधेसलाई लिएर प्रायः एउटा धारणा बनाइन्छ, ‘मधेसीले दशैं मनाउँदैनन् ।’ तर वास्तविकता भने त्यस्तो छैन। मधेसमा दशैं अझ गहिरो भक्तिभावसहित, अनुशासनमा बाँधिएको साधना–यात्राका रूपमा मनाइन्छ। फरक केवल यसको अभिव्यक्तिमा हो—पहाडतिर बाहिरी रौनक देखिन्छ भने मधेसतिर भित्री भक्ति र अनुशासनमा जोड दिइन्छ।

नवरात्रि नै दशैं

मधेसमा दशैंलाई नवरात्रिसँगै सुरु गरिन्छ। नवरात्रि भनेको दुर्गा भगवतीका नौ रूपहरूको आराधना गर्ने पर्व हो। हुनत आषाढ, माघ, चैत्र र आश्विन गरी वर्षमा चार पटक नवरात्रि पर्छ, तर आश्विन नवरात्रि नै सबैभन्दा ठूलो र प्रमुख मानिन्छ। यस नवरात्रीको पहिलो दिन बिहान सबेरै नदी–घाटमा स्नान गर्ने परम्परा छ। कोसी, कमला, बागमती वा सुनसरी घाटमा स्नान गरेर पवित्र बालुवा ल्याइन्छ र त्यसकै आधारमा घरमा कलश स्थापना हुन्छ। त्यसपछि गणेशपूजन, दुर्गा मूर्तिको प्रतिष्ठा र विभिन्न मातृका–देवता–ग्रहहरूको पूजा गरी साधना आरम्भ हुन्छ। नवरात्रिका दिनहरूमा बिहान सबेरै ३–४ बजे उठ्ने, स्नान गर्ने, शुद्ध भएर पूजा बस्ने अनुशासन छ। यसको पुजा लामो भएर पनि हुन सक्छ । बिहान ४ः३० देखि ९ः३० बजेसम्म विस्तृत पूजा हुन्छ, जसमा कलश स्थापना, नवग्रह पूजन, नवदुर्गा आराधना, सप्तश्लोकी दुर्गा, दुर्गाष्टोत्तरशतनाम, दुर्गा सप्तशतीका अध्यायहरू आदि पाठ गरिन्छ। बेलुकी फेरि ५–६ बजे पूजामा बसिन्छ। कवच, चालीसा, स्तोत्र, आरती गरेर दिनको साधना सम्पन्न हुन्छ। नवदुर्गा—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री—प्रत्येक दिन क्रमशः पूजिन्छन्।

मधेसमा नवरात्रि पूजनको अर्को विशेषता भनेकै उपवास हो। यो हरेक व्यक्तिहरु एकै तरिकाले गर्दैनन् । अलि–अलि फरक देखिन्छ । कतिले लसुन–प्याज नखाई पूजामा बस्छन्। अनि कतिले फलाहार मात्र गर्छन्। अझ कतिले त निकै कठोर उपवास अपनाउछन् । उनीहरु दूध, सर्वत, पानी मै सीमित हुन्छन् । मेरा साथी त्रिलोक गुप्ताजस्तै कतिले त नौ–दस दिनभर सर्वत र पानी मात्रै सेवन गरेर पूजा सम्पन्न गर्छन्। त्रिलोक पुजारी होइनन्, तर उनका लागि यो साधना आत्मसमर्पण हो।

शरीरलाई कष्ट दिएर मनलाई भगवतीमा समर्पित गर्ने अभ्यास हो। उनी जस्तै धेरै भक्तजन मधेसमा भेटिन्छन्—जसको पूजा विधि उस्तै भए पनि खान–पिनको अनुशासनमा गहिरो फरक हुन्छ। तर लक्ष्य एउटै हुन्छ—शुद्ध आत्मा, शुद्ध श्रद्धा र भगवतीप्रति अटुट भक्ति। यसरी नवमी वा दशमीका दिन नौ कन्यालाई निम्त्याएर प्रसाद खुवाउने चलन छ। कन्या पूजनपछि सकेसम्म दान–पुण्य दिइन्छ, हवन गरिन्छ। भोलिपल्ट कलश विसर्जन र पारण गरेर नवरात्रि सम्पन्न हुन्छ। पहाडमा दशैं आउनु भनेको चहलपहल, रमाइलो र सामूहिक उल्लास हो। मधेसमा बाहिरी रौनक कम देखिन्छ। तर घरभित्र भक्ति–अनुशासनको कडाइले पूजा चलिरहेको हुन्छ। यसैले कतिपयलाई लाग्छ—मधेसीले दशैं मनाउँदैनन् रे। तर भित्रबाट हेर्दा बुझिन्छ—मधेसमा दशैं अझ गहिरो भक्ति र अनुशासनमा रमाएर मनाइन्छ।

दशैं केवल टिका–जामराको पर्व मात्र होइन। यो आत्मअनुशासन, आत्मबल र भक्ति–भावनाको यात्रा हो। मधेसमा यो यात्रा नवरात्रिको पूजा विधिमार्फत सम्पन्न हुन्छ । जहाँ पूजा उस्तै छ, तर खानपान र देखाउने शैलीमा फरक हुन्छ। त्रिलोक गुप्ता जस्ता साधकहरूले नौ दिनभर पानी–सर्वत मात्रै खाएर पूजा गर्ने परम्परा यसैको सशक्त उदाहरण हो। यसैले भन्न सकिन्छ—मधेसीले दशैं नमनाउने होइनन्, बरु देखाउने शैलीभन्दा भित्रको साधनामा रमाएर, दुर्गा भगवतीका सम्पूर्ण रूपहरूको आराधनाका साथ मनाउँछन्।

Supported only between 1944-2022