
विमल लामिछाने
यतिबेला नेपाली राजनीति निकै ठूला चुनौती बोकेर लर्वराएको छ । दलहरु रन्थनिएका छन् । हालका दिनहरूमा नेपाली राजनीतिक परिदृश्यमा ‘जेन्जी विद्रोह’ भनेर चिनिने सामाजिक आन्दोलनले गहिरो प्रभाव छाड्न सफल भएको छ । जसले पुराना भनिएका राजनीतिक दलहरुलाई चुनौतीको झड्का दिइरहेको छ ।
यो आन्दोलन कुनै ठोस दल, संगठन वा नेतृत्वमा आधारित थिएन, बरु सामाजिक सञ्जालमा हुर्किएको, स्वतस्फूर्त रूपमा अघि बढेको, र मूलधारको राजनीतिसँग विमुख युवाहरूको आवाज भएर देखा पर्याे । मुख्यतः २००० पछि जन्मिएका, राजनीतिक अन्योल, रोजगारीको अभाव, सुशासनको संकट र अवसरहीनता भोगिरहेका युवाहरू यस विद्रोहको अगुवाइमा देखिए । जसलाई साथ दिने विद्यार्थीहरुको ठूलो हिस्सा देखियो ।
सार्वजनिक जीवनको प्रत्येक पक्षमा निराशाजनक अवस्था देख्दा, जेन्जी पुस्तामा विद्रोहको ज्वालामुखी निक्कै लामो समयदेखि गुम्सिएको थियो अहिले आएर विष्फोट भएको हो । राजनीतिमा सधैं उही पुराना अनुहार र सरकारमा आलोपालो उही अनुहार देखिँदा आम नागरिकमा राजनीतिप्रतिको वितिष्णा चरम सीमामा पुगेको थियो । यो अवस्थाको अन्त्य चाहन्थ्यो समाज जसको नेतृत्व जेन्जी पुस्ताले गर्यो । उनीहरु अहिले यही प्रश्न गरिरहेका छन् । के मुलुक मुठ्ठीभर शासकहरुको मात्रै हो । हुनपनि हो हाम्रा अभिभावकले समृदीका सपनाहरू देखाएका देशमा हामीले अनुभूत गर्न सकेनौं । यी प्रश्नहरू अहिलेपनि सामाजिक सञ्जालमार्फत पोस्ट, मिम्स, विरोध कार्यक्रम, ब्लगहरू र सडक प्रदर्शनमार्फत व्यक्त भइरहेका छन् ।
उनीहरूले राजनीतिक उत्तरदायित्व, पारदर्शिता र जवाफदेहिता माग गरिरहेका छन् । पारम्परिक पार्टी संरचनामाथि प्रश्न उठाउने, नेताहरूको आचरणमाथि आलोचना गर्ने र वैकल्पिक विचार प्रस्तुत गर्ने सामथ्र्य उनीहरूमा देखिन्छ ।
नेपालको राजनीति दशकौंदेखि संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । नेकपा माओवादीले सञ्चालन गरेको विद्रोह र जनयुद्धको बलमा लोकतन्त्र स्थापना, गणतन्त्र घोषणा, संघीयता कार्यान्वयनजस्ता ऐतिहासिक परिवर्तनहरू भएका थिए । त्यसपछि पनि राजनीतिक नेतृत्वले अपेक्षित नतिजा दिन सकेको थिएन । पुराना राजनीतिक दलहरू आन्तरिक गुटबन्दी, भ्रष्टाचार, विचारहीन प्रतिस्पर्धा र स्वार्थ केन्द्रित नीतिले ग्रस्त बनेका थिए । जसको पछिल्लो उदाहरण हो एमाले र नेकाविचको गठजोर वा दुईतिहाईको दम्भमा बनेको ओली नेतृत्वको सरकार ।
यो विद्रोह नेपाली राजनीतिमा नवीन ऊर्जा ल्याउने अवसर पनि हो । नयाँ सोच, प्रविधि–मैत्री दृष्टिकोण, सहभागितामूलक नेतृत्व र राजनीतिक निष्ठाप्रति आकर्षणले भविष्यको राजनीति पुनःपरिकल्पना गर्न सक्छ । यसर्थ यो सकारात्क विद्रोह हो ।
तर यस विद्रोहमा गहिराइ, संगठनात्मक परिपक्वता र दीर्घकालीन रणनीतिक सोचको अभाव पनि उत्तीकै देखिन्छ । केवल आलोचना र रोषले मात्र परिवर्तन सम्भव हुँदैन । त्यसका लागि नेतृत्व, संगठन, वैकल्पिक नीति र स्थायीत्वको खाका आवश्यक पर्छ । यसतर्फ जेन्जी पुस्ता आफैं पनि गम्भीर भएर सोच्नुपर्ने अवस्थाको खाँचा देखिएको छ । युवा पुस्ताले विद्रोह गर्ने, परिवर्तन ल्याउने अनि सरकारमा उही पुरानै अनुहार मानौ ‘बा हटे आमा पसिन् ।’ जस्तोमात्रै भयो भने विद्रोहको केही अर्थ रहँदैन ।
नेपाली राजनीति आज ठूलो चुनौति बोकेर उभिएको छ । पुराना राजनीतिक संरचनाको विश्वसनीयता घट्दो छ भने नयाँ पुस्ताको विश्वास र आकांक्षा चुलिंदो छ । जेन्जी विद्रोह केवल रोषको प्रतिविम्ब मात्र बनेन, यो परिवर्तनको चाहनाको सशक्त आवाज बनेर सबै दलहरुमा देखा परिरहेको छ । अबको आवश्यकता भनेको पुराना संरचनालाई चिर्दै नयाँ नेतृत्व, सोच र व्यवहार निर्माण गर्नु हो । राजनीतिक दलहरुले गम्भिरताका साथ यो बुझ्न जरुरी छ ।