साइकल कुदाउँछु, के अपराधी हुँ ?

  गणेश लम्साल

ओईऽऽ साइकल ! ऊ पर कुनातिर लगेर राख्ने । प्रायः होटल र कार्यालयका सुरक्षा गार्डहरूले मलाई साइकल कुदाउँदै आएको देखेपछि गर्ने व्यवहार हो यो । अनि कार्यक्रमहरूमा जाँदा कार र मोसावालाहरूले पनि “ओऽऽ साइकल ! मेरो गाडी निस्किँदैन, साइकल उता पर लगेर राख्नु ?” भनेर थर्काउने गर्छन् । कतिपय स्थानमा त म साइकल राख्ने ठाउँ पनि पाउँदिन र बाहिरतिरै राखेर भित्र पस्ने गर्छु ।

नागरिकहरूको खबरकर्मी भएपनि म पुरानो साइकल कुदाएर आउँदै गरेको देखेपछि चिन्नेहरू लाजले मुन्टो फर्काएको पनि देखेभोगेको छु । आफ्नै सहकर्मीहरूले समेत मलाई सधैँ साइकल कुदाएको भन्दै “हैट ! सधैँ भएन हाउ ! यस्तो, एउटा गाडी त लिनुहोस् न कम्तीमा, कति विजोग देखाइरहनुहुन्छ ?” भनेर भन्ने गरेका छन् । केहीले त ‘साइकल कुदाउँछ हाउ, लाजै पचाएर, त्यस्तालाई कसरी सहकर्मी भन्नु हाउ ?’ भनेर पनि भ्याउँदा रहेछन् । अनि केहीले चाहिँ ‘हैट ! यत्रो वर्ष पत्रकारिता गरेर एउटा मोटरसाइकल पनि कस्तो किन्न नसकेको हाउ, अझै साइकलमै हिँड्छ गणेश, लाज पनि नभएको ?’ अनि केहीले चाहिँ ‘के को नसक्नु नि मोटरसाइकल किन्न, बुझ पचाएर जानी–जानी दयाका लागि गरिबी देखाउँछ क्या ?’ भनेर पनि भन्ने गरेका छन् ।
तर, म चाहिँ कसैको वास्ता गर्दो रहेनछु । सधैँ साइकल नै कुदाइरहँदो छु । पहिले नयाँ साइकल कुदाउँथे तर पच्चीस वर्षभित्र विराटनगरमा आठवटा साइकल चोराएपछि आजकल चाहिँ चोरे पनि चोरोस् भनेर पुरानो साइकल कुदाउने गरेको छु । तर, चोरले चप्पल र कट्टु त छाड्दैन भने पुरानो साइकल किन छाड्थ्यो र ? ऊ चोरी रहन्छ, म किनेर कुदाइरहन्छु ।

म प्रायः दैनिक कम्तीमा दश किलोमिटर साइकल कुदाउँछु । कति साथीहरूले त व्यङ्ग्य पनि गर्ने गरेका छन् —‘हन हौं गणेशजी, जति साइकल कुदाए पनि तपाईँको भुँडी चाहिँ कहिल्यै घट्दैन त अनि ?’ म पनि लाक्षणिक प्रश्नलाई हाँसेरै पचाएर उत्तर दिन्छु, ‘खै, धेरै मानिसहरू सक्दो नाचेर अनि जिमखाना धाएर पनि स्लिम हुँदैनन्, मेरो भुँडी पनि त्यस्तै त होला नि हगी !’ भन्नेहरूले जे भनिरहुन् तर मैले पत्रकारिता पेशासँगै साइकल कुदाउन थालेको हुँ र तीन दशक लागिसक्यो अझै साइकल कुदाइनै रहेको छु । सायद कुदाइनै रहनेछु । मैले साइकल कुदाएको देखेर दया गर्दै भन्ने पनि गरेका छन् —‘लौ मसँग मिलेर विज्ञापन खोजौँ, मोटरसाइकल किन्नजति सकिन्छ ।’ अनि कतिपयले त समाचारकै विषयमा मोटरसाइकल दिइदिने लोभ प्रलोभन पनि नदिएका हैनन् । धेरैले भन्सार, राजस्वमा लिलामी हुने मोसाहरू सस्तोमा लिन सकिने र चाहेमा सेकेण्ड ह्याण्ड मोसा सस्तोमा खोजी दिने पनि वचन दिएकै हुन् ।

मलाई लाग्छ—साइकल एउटा सामान्य साधन मात्र होइन । यो वातावरण संरक्षणको महत्त्वपूर्ण उपाय हो । संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार विश्वभर हरितगृह ग्यासको झन्डै २५ प्रतिशत कार्बन पेट्रोलियम साधन प्रयोग गर्ने सवारी साधनले मात्र उत्सर्जन गर्छन् । तर यति ठूलो मात्रामा प्रदूषण गर्ने सवारी साधनलाई समाजले आधुनिकताको प्रतीक मानिरहेको छ । तर शून्य कार्बन उत्सर्जन गर्ने साइकललाई भने गरिबी वा पिछडिएको साधन ठानिरहेको छ, किन होला ? अर्को, साइकल चलाउँदा व्यक्तिगत स्वास्थ्य र अर्थतन्त्रमा समेत ठूलो योगदान पु¥याउँछ । सडकमा साना पार्किङको समस्या पनि हुँदैन ।

तर विडम्बना । नेपालमा अझै पनि साइकललाई गरिबी वा हैसियतसँग जोडेर हेर्ने प्रवृत्ति छ । साइकल चढेर पेशा र जागिर धान्नेहरूलाई गरिब र हुतिहारा, दया खोज्ने मानिस भनेर हाँसोको पात्र बनाइन्छ । सडकमा पनि मोसा र कार चालक र धनीहरूले मात्र होइन, ट्राफिक प्रहरीले समेत साइकलयात्रीहरूलाई हेपाहा व्यवहार गर्ने चलन छ । गल्ती ढाकछोप गर्न उल्टै साइकललाई साइड नदिने, जथाभावी कुदाउने भनेर स्पोटमै धकेल्ने वा हप्काउने काम गरिन्छ । जसले साइकलयात्रीहरूलाई ‘हन हामी साँच्चै अपराधी नै पो हौं कि’ भन्ने हिनताबोध पनि गराउँछ ।

हुन त डाक्टरहरूले स्वास्थ्यका लागि दैनिक साइकल कुदाउन सिफारिस गर्न थालेपछि आजकल बिहान–बेलुका महँगा साइकल कुदाउनेहरू बढ्न थालेका छन् । तर उनीहरूको आम साइकलयात्रीहरूलाई हेर्ने दृष्टिकोणमा भने अझै परिवर्तन आइसकेको छैन । सायद समाज नै वर्गीय विभेदमा विश्वास गर्ने भएर होला ?

नेपाल जस्तो देश पेट्रोलियम पदार्थ आयातमै निर्भर छ । हरेक वर्ष अरबौँ रुपैयाँ पेट्रोलियममा खर्चिन्छौँ । यही खर्चलाई कम गर्न सक्ने साधनमध्ये सबैभन्दा सहज साइकल हो । यदि १० प्रतिशत नागरिकले मात्र मोटरसाइकल छोडेर साइकल रोजे भने पनि अरबौँको पेट्रोल बचत हुन्छ । त्यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँछ । व्यक्तिगत हिसाबले पनि साइकल चलाउँदा पेट्रोल, मर्मत, इन्सुरेन्स जस्ता खर्च कम हुन्छ । सडक दुर्घटना घटाउँछ ।

मैले देखे, पढे र सुनेअनुसार विकसित देशहरू चीन, नेदरल्याण्ड्स, डेनमार्कलगायतलाई साइकल संस्कृतिको देश भनिन्छ । ती देशका प्रधानमन्त्री, मन्त्रीदेखि सामान्य नागरिकसम्म साइकल चढ्छन् । नेदरल्याण्ड्समा त सहरकै भौतिक संरचना नै साइकलमैत्री बनाइएका छन् । त्यहाँ अलग्गै लेन, सुरक्षित पार्किङ र नीतिहरूसमेत बनाइएका छन् । तर विडम्बना, हाम्रो देशमा भने यसको उल्टो छ । सडकमा साइकलले आफ्नो ठाउँ पाउँदैन । पार्किङ स्थल छैनन् । साइकल लेन छैन । सम्मान छैन बरु विभेद छ । अझै समाजको नजरमा साइकल कुदाउने आम मानिसहरू कम दर्जाको मान्छे ठानिन्छन् । अपराधी सरहको व्यवहार गरिन्छ । देखासिकीका लागि वर्षमा एक दिन वातावरण दिवस मनाउन ठूला–बडाहरूले सरकारी खर्चमा साइकल कुदाए पनि साइकल नीति बनाउन र उनीहरूको व्यवहारलाई सम्मानपूर्ण बनाउन कुनै चासो देखाएको पाइएको छैन ।
नेपालका कुनै पनि तहले विकास योजनामा साइकललाई प्राथमिकता दिएका छैनन् । सडक निर्माण गर्दा साइकल लेनको कल्पनासम्म गरिँदैन । सार्वजनिक स्थानमा साइकल प्रयोगलाई प्रोत्साहन गर्ने नीति छैन । यसैले मेरो माग छ— सबै होटल, मल र कार्यालय आदि सार्वजनिक स्थानहरूमा साइकल पार्किङ स्थल चाहियो । सहर–बजार र मुख्य राजमार्गमा साइकल लेन चाहियो । साइकलयात्रीहरूलाई पनि ट्राफिक नियमको तालिम चाहियो । पालिकाहरूले साइकलका लागि सुरक्षित स्थानहरू निर्माण गर्नु पर्यो । साइकल प्रयोगमा अनुदान दिनु पर्यो । निजी र भाडाका साइकल प्रयोग गर्न–गराउनका लागि उचित प्रचार–प्रसार गराउनु पर्यो ।

अन्तमा मेरो वर्षौंदेखि साइकल कुदाइरहँदाको अनुभूतिले भन्छ— साइकल कुदाउनेहरू कदापि तुच्छ होइनन्, बरु गौरवशाली यातायात प्रयोग गर्ने व्यक्ति हुन् । अपराधी होइनन्, बरु पर्यावरण सुरक्षामा योगदान गर्ने सचेत नागरिक हुन् । उनीहरूले प्रदूषण कम गर्न, पेट्रोल बचत गराउन, स्वास्थ्यलाई प्राथमिकता दिन र गाउँ–सहरलाई जीवन्त बनाउन सहयोग गरिरहेका छन् । साइकलयात्रीलाई अपराधी ठान्नु वर्गीय विकृत समाजको संकीर्ण आडम्बरी मानसिकता मात्र हो ।

Supported only between 1944-2022