चिकित्सक आन्दोलनको असर : उपचार नपाएर विरामीको बेहाल

पैसा हुने विरामी निजीमा, नहुने फर्किए घर

विराटनगर । कुरुवा, बिरामी, कर्मचारी र डाक्टरले भरिने कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल विराटनगरको कोशीको ओपीडि सोमबार सुनसान थियो । कुर्सीहरू खाली थिए, रिसेप्सन बन्द, औषधि वितरण केन्द्र शिथिल । आकस्मिकबाहेक सबै सेवा बन्द थियो ।

सोमबार बिहान सिटी रिक्सा चढेर कोशी अस्पतालको ओपीडि गेटमा पुगेकी विराटनगर ४ दुधफारम घर भएकी ७२ वर्षीया मिना बस्नेत गर्मीले थकित थिइन् । मधुमेह (सुगर) रोगले ग्रसित उनलाई बिहानैदेखि कान दुख्ने समस्या चर्किएको थियो । नियमित डाक्टर डा.उत्तर मैनालीको सल्लाहमा औषधि सेवन गर्दै आएकी उनी उपचारको आशामा अस्पताल आइपुगिन् । तर अस्पताल सुनसान थियो । न ओपिडीमा डाक्टर थिए, न सेवा दिने कर्मचारी नै । घाम, पसिना, उमेर र रोगले थलिएकी ती वृद्धा कुर्सीमा केही समय बसेर रेस्ट त गरिन्, तर उपचार बिना निराश मुद्रामा अस्पतालबाट फर्किन बाध्य भइन् ।
‘बावु ! हस्पिटलमा आज के भयो ? डाक्टर छैनन्, कोही छैन ?’ भन्दै सञ्चारकर्मीसँग जिज्ञासा राखेकी उनले जब आन्दोलनका कारण सेवा ठप्प भएको जानकारी पाइन् तब दुःखी स्वरमा भनिन्, ‘एउटा सूचना टाँसेको भए हुन्थ्यो नि बाबु, हामी जस्ता बिरामीलाई यत्तिकै आउनु कति गाह्रो हुन्छ, थाहा छ ? ।’

चिकित्सकको आन्दोलनले ओपिडी सेवा ठप्प हुँदा मिना बस्नेत मात्र होइन धेरैले यस्तै दुःख झेल्न परिरहेको छ ।
यो सोमबारदेखि अनिश्चितकालीन चिकित्सक आन्दोलनका कारण सेवा नपाएर उपचारविहीन बनेका सयौं बिरामीहरूको प्रतिनिधि कथा पनि हो ।

पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालको ओपिडीमा सामान्यतया दैनिक १ हजारदेखि १५ सय बिरामी आउँछन् । तर सोमबारको दृश्य भने फरक थियो । रेबिजको औषधिका लागि इटहरीबाट २५ किलोमिटर टाढाबाट आएकी १८ वर्षीया साइबिन श्रेष्ठ पनि उपचार नपाएर फर्किनु पर्यो । तीन दिनअघि बिरालोको कोटाइबाट घाइते भएकी उनी आमा अम्बिकासँग कोशी अस्पताल आएकी थिइन् । इटहरीमा औषधि नपाएपछि विराटनगर आएकी उनी चिकित्सकले सेवा नदिएकै कारण उपचारबाट बञ्चित भइन् । अस्पताल आएपछि कतै डाक्टर देखिनन् र एकपटक पूरै अस्पताललाई चक्कर लगाइन्, आमाको आँखाबाट आँसु झ¥यो । ‘हामी औषधिको लागि कति टाढाबाट आएका थियौं, यहाँ पनि उपचार छैन,’ उनले भनिन् ।

कोही विरामी घर फर्किए, कोही निजीमा

आन्दोलनको असर ग्रामीण क्षेत्रबाट आएका बिरामीहरुलाई सबैभन्दा बढी परेको देखिन्थ्यो । कोशी अस्पतालमा उपचारका लागि आएका सयौं बिरामीहरू सेवा नपाएर घर फर्किए । केही विरामी बाध्य भएर निजी अस्पतालतिर लागे, जहाँ शुल्क तिर्नु पर्ने बाध्यता थियो । विराटनगरको हस्पिटल रोडका क्लिनिक र निजी अस्पतालहरूमा सोमबार विरामीको चाप अस्वाभाविक रूपमा बढेको देखियो ।

नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको पछिल्लो आदेशविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेको हो । संघका अनुसार उपभोक्ता अदालतले अस्पताल तथा चिकित्सकमाथि दिएको क्षतिपूर्तिको आदेशले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमा हस्तक्षेप भएको छ ।

संघका महासचिवमाथि अदालतले ‘कारण देखाऊ’ आदेश जारी गरेपछि संघले यसको प्रतिवाद स्वरूप अनिश्चितकालीन ओपीडि सेवा बन्दको घोषणा गरेको हो ।

संघ कोशी शाखाका महासचिव डा. बालकृष्ण साह भन्छन्, ‘आजको बन्दले धेरै बिरामी दाजुभाइ, दिदीबहिनीहरूलाई कठिनाइ भयो, यो हाम्रो पनि पीडा हो । तर हाम्रो उद्देश्य भविष्यमा कुनै पनि चिकित्सक अन्यायको सिकार नबनुन् भन्ने हो । बिरामीले सुरक्षित, न्यायोचित र जिम्मेवार स्वास्थ्य सेवा पाउन सकून् भन्ने हाम्रो संघर्ष हो ।’

विभिन्न अस्पतालहरू विरुद्ध परेको मुद्दामा उपभोक्ता अदालतले चिकित्सक र अस्पताललाई क्षतिपूर्ति दिन आदेश दिएको थियो । चिकित्सकीय लापरवाहीको मूल्यांकन गर्ने जिम्मा प्राविधिक निकायको हुनुपर्नेमा उपभोक्ता अदालतले फैसला दिँदा चिकित्सा पेशा जोखिममा परेको उनीहरूको भनाइ छ ।

मङ्गलबार, २४ असार, २०८२, बिहानको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर