माओवादी नयाँ क्रान्तिको बाटो कोर्दै हिडेको छः उपमहासचिव गजुरेल

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा माओवादी केन्द्र प्रदेश–१ का इन्चार्ज हरिबोल गजुरेलले माओवादी नयाँ क्रान्तिको बाटो कोर्दै अघि बढेको बताएका छन् । शनिबार एकीकृत अखिल शिक्षक संगठन कटारी नगरपालिकाको दोस्रो नगर परिषद् कार्यक्रममा बेतेनीमा यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘माओवादी क्रान्तिको बाटो कोर्दै हिडेको छ । हिजोको क्रान्तिको बाटो अब हिडेर गन्तव्यमा पुग्न सकिदैन । अब एकाइसौँ शताब्दीको मूल्य, मान्यता, विशेषता भएको हुनुपर्छ ।’
गजुरेलले पार्टी भनेको जीवन भएको बताउँदै भने, ‘मान्छेको जीवनमा बिरामी हुन्छ । स्वास्थ्य हुन्छ । फेरि बिरामी हुन्छ । कहिले बिरामी नहुने त हुँदैन होला ! पार्टी पनि त्यस्तै हुन्छ । पार्टी जीवनमा उत्तार चढाव हुन्छ ।’
उनले अहिले माओवादीमा क्रान्तिको बाटो कोर्दै हिड्नु पर्ने बाध्यता रहेको बताए । प्रष्ट पार्दै भने, ‘यहाँ कसैले पनि माओवादीको लागि बाटो कोरिदिने वाला छैनन् । हिजोको क्रान्तिको मोडेलले काम दिँदैन । हिजोको चीन र रुसको मोडल यहाँ बनाएर हुँदैन । अहिलेको एकाइसौँ शताब्दीको विशेषता अनुसारको पार्टी, विचार चाहिन्छ । त्यसको लागि क्रान्तिको गोरेटो कोर्दै हिड्नु पर्ने अवस्था छ । अरुले बनाइदिएको बाटोमा छिटो पुगिन्छ । आफूले बनाउँदै हिडेको बाटोमा ढिलो पुगिन्छ ।’
माओवादीमा अहिले पार्टी र विचार निर्माण गर्ने काम सुरु भएको उद्घोष गरेका छन् । उनले भने, ‘हिजो युद्ध गरेका पार्टीहरु युद्ध गर्दा गर्दै सिद्धिएका छन् । कोही शान्ति प्रक्रियामा आएर बिना उपलब्धी सिधिएका छन् । माओवादीले युद्ध पनि लड्यो । शान्ति प्रक्रियामा पनि आयो । केही उपलब्धी पनि हाँसिल गरेको छ । उनले भने, ‘कुन राम्रो त ? युद्ध लडेको लडेको सिद्धिनु की ? उपलब्धीसँगै शान्ति प्रक्रियामा आउनु ?’
उनले माओवादी अहिले पनि नेपाली राजनीतिको केन्द्र भागमा रहेको बताउँदै माओवादीकै एजेन्डामा संविधान बनेको दाबी गरे । उनले भने, ‘यसलाई हामीले गर्व गर्नुपर्छ। तर, हामीले गरेकै काम जनताको बीचमा पुरा भएका छैनन्। हिजो हामीले जनताको बीचमा जे जे कुरा गरेका थियौँ । अहिले माओवादीले त्यही त्यही कुरा गरेको छ ।’
उनले थप्दै भने, ‘हिजो हामीले सुख सुविधाका कुरा, नाताबाद, कृपावादका, भ्रष्टचार, अनियमितताका कुराको विरोध गर्यौँ । आज जनताले माओवादीलाई यही आरोप लगाउँदै छन्। यहीबाट ठूलो घाटा माओवादीलाई छ । माओवादी भएर यस्तो गर्ने ? हिजो विरोध गर्ने ? आज आफु त्यस्तै हुने भन्ने कुरा गर्दै छन्। यो व्यवहारिक कुरा हो । यो व्यवहारिक कुरा जनताले विचार र राजनीतिसँग जोडेर बुझदैनन् । त्यसको लागि अहिले माओवादी विचार पार्टी निर्माण गर्ने र नयाँ क्रान्तिको बाटो कोर्ने अभियानमा छ ।’
उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य मोहनबहादुर खत्री, केपी बराल, माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल दिवशलगायतको उपस्थिति रहेको थियो ।

शनिबार, २१ असार, २०८२, साँझको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर