कोशीको खेलकुद खस्किदा आलोचना : खर्च २ करोड, उपलब्धि शून्य

विराटनगर । १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशले कमजोर प्रदर्शन गरेको छ । कोशी प्रदेशले खेलकुदमा विगतको तुलनामा लगानी बढाएको भए पनि परिणाम भने नराम्ररी खस्किएपछि खेलकुद विकासको जिम्मेवारी लिइरहेको नेतृत्वप्रति नै गम्भीर प्रश्न उठेको छ ।

विगत वर्षको भन्दा कमजोर पप्रदेशको खेलकुद क्षेत्रको वास्तविक अवस्था उजागर गरेको छ । ३६ स्वर्णसहित च्याम्पियन बनेको बागमती प्रदेशको विजयी यात्राको छायाँमा कोशी प्रदेश शून्य स्वर्णमा सीमित भएर सातौं स्थानमा झरेको हो ।
यसअघि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले रहँदा कोशी प्रदेशले १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण पदक, ९ रजत र ९ कांस्य पदकसहित २६ वटा पदक जितेर चौथो स्थानमा रहेको थियो । त्यसबेला १ करोड २ लाख रुपैयाँ बजेट खर्च भएको तत्कालीन सदस्य सचिव वाग्लेले बताए ।

अहिले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि २ करोड बजेट खर्च हुने प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ । त्यसका लागि प्रदेश सरकारसँग माग गरिएको प्रदेश खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालीदास भट्टराईले जानकारी दिए । केही दिन अगाडि बसेको मन्त्रीपरिषद्को बैठकले पनि बोर्डले माग गरेको बजेट स्वीकृत भइसकेको स्रोतले बताएको छ ।

बोर्डले खेलकुद क्षेत्रमा करोडौं रुपैयाँ खर्च गर्ने तर उपलब्धि शून्य भएपछि अहिले प्रदेश खेलकुद विकास बोर्डको नेतृत्व तहमा बसेकाहरूले खेलकुदमा रणनीतिक योजना बनाउन नसकेर पार्टीको भर्ती केन्द्र बनाएर कोशी प्रदेशको खेलकुद क्षेत्र तहसनहस बनाएको भन्दै आलोचना सुरु भएको छ । बोर्डले योग्यताका आधारमा नभएर राजनीतिक नियुक्ति गरेको कारण यो दुर्दशा आएको आरोप आलोचकहरुले लगाइरहेका छन् ।

बागमती प्रदेशले ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसहित ७ प्रदेशमध्ये टिम च्याम्पियन बन्यो । गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश १४ स्वर्ण, २० रजत र १८ कांस्यसहित दोस्रो स्थानमा रह्यो भने लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्दै तेस्रो स्थान हासिल गर्यो । गण्डकीले पनि ४ स्वर्ण, ११ रजत र १७ कांस्य हात पारेको थियो । कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्यमा सिमित रहँदा मधेस प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यका साथ छैटौं स्थानमा पुग्यो । स्वर्ण पदकविहीन बनेको कोशी प्रदेशले ७ रजत र ८ कांस्य पदक मात्र हात पारेर लज्जास्पद स्थितिमा पुग्यो ।

छनोट चरणदेखि नै विवादमा रहेको कोशी प्रदेश खेलकुद विकास बोर्ड राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नतिजाले थप आलोचित बनेको छ । बोर्डले समयमै जिल्लाहरूमा बजेट नपठाउँदा तीन जिल्लाबाट खेलाडी छनोट हुन नसकेपछि ३२४ खेलाडी प्रतिस्पर्धाबाट बञ्चित भए । यसको प्रभाव नतिजामा परेको हो ।

विराटनगरमा भएको छनोट प्रतियोगितामा सुनसरी, सोलुखुम्बु मात्र नभएर बोर्डका अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री पञ्चकर्ण राईकै गृह जिल्ला खोटाङका खेलाडी प्रतिस्पर्धाबाट बञ्चित भए । यसरी तीन जिल्लामा खेलाडी छनोट हुन नसकेपछि ११ जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा गराइएको व्यवस्थापक र प्रशिक्षकसहित ११५ जना खेलाडी छनोट भएर केन्द्रमा गएका थिए ।सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरले प्रदेश खेलकुद विकास बोर्डले समयमै पत्राचार नगरेको र आवश्यक तयारी गर्न नपाएको कारण छनोट गर्न नसकिएको बताए । बोर्डले समयमै खर्च पठाएर तयारीका लागि समन्वय नगरेको उनको गुनासो छ ।

प्रदेश खेलकुद विकास बोर्डका पूर्व सदस्य सचिव हंशराज वाग्लेले कार्ययोजनाबिना आफू निकट र पार्टीको भर्तिकेन्द्र जस्तो गरेर प्रशिक्षक नियुक्ति गर्दा प्रदेशले राम्रो नतिजा ल्याउन नसकेको बताए । कोशी प्रदेशले एउटै पनि स्वर्ण पदक हासिल नगर्नु लज्जास्पद भएको उनले बताए । ‘म सदस्य सचिव रहँदा दक्ष प्रशिक्षक राखेर उत्कृष्ट खेलाडी छनोट गरिएको थियो । त्यसबेला मैले राजनीतिक पार्टी पनि हेरिनँ र खेलसँग सम्बन्धित दक्ष प्रशिक्षक राख्ने गरेको थिएँ,’ उनले भने, ‘त्यसपछि उनीहरूले खेलाडीलाई पर्याप्त प्रशिक्षण पनि दिएर खेलाडीहरूले राम्रोसँग मेहनत गरेको कारणले ८ स्वर्णसहित २६ पदक ल्याउन सफल भएका थियौं ।’

अहिले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले प्रशिक्षकदेखि खेलकुदको हरेक निकायमा राजनीतिक भक्ति केन्द्र बनाउन खोजेपछि कसरी खेलकुद क्षेत्रको विकास हुन्छ भन्दै वाग्लेले प्रश्न गरे ।वर्तमान सदस्य सचिवले योग्यताको मापदण्डमा १५ वर्षको खेलकुद अनुभव देखाउनुपर्ने भएपनि कोशी प्रदेश खुकुरी दल मार्शल आर्टको सदस्यता मात्र पेश गरेको वाग्लेले बताए । यस्तो योग्यताविहीन व्यक्तिबाट के अपेक्षा राख्न सकिन्छ भन्ने प्रश्न उठेको उनले बताए ।

‘करातेमा खुट्टा उचाल्न नजान्ने व्यक्तिलाई प्रशिक्षक बनाउने काम भएको छ,’ भन्दै वाग्लेले वर्तमान व्यवस्थापनमाथि आक्रोश पोखे । ‘राजनीतिक भर्ती केन्द्र बनाएर प्रशिक्षक नियुक्ति गर्दा कहाँबाट राम्रो परिणाम आउँछ ? पार्टीको लोगो लागेकाहरुलाई कोच राखेपछि परिणाम यस्तै आउने हो,’ उनले भने ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो । तीन दिने प्रतियोगितामा ६८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । समावेशी ६ वटै खेलको हरेक पदकका लागि कुल १२ लाख नगद पुरस्कार वितरण गरिएको थियो ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले ढिलो निर्णय गरेको र खेलाडीहरूले प्रयाप्त मात्रामा प्रशिक्षण लिन नपाउँदा सोचेजस्तो सफलता नपाएको बताए । उनले खेलाडी नपठाउने सुनसरी, सोलुखुम्बु र खोटाङलाई बोर्डले स्पष्टीकरण सोध्ने निर्णय भएको बताए ।

प्रदेश खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालीप्रसाद भट्टराईले प्रदेश छनोट भएर लगत्तै केन्द्रमा खेल्नुपर्ने अवस्था र तीन जिल्लाका खेलाडीहरू नआउँदा सोचेजस्तो सफलता नभएको बताए । ‘प्रदेशबाट १०८ जना खेलाडी र ७ जना प्रशिक्षक र व्यवस्थापक गरेर ११५ जना केन्द्रमा गएका थिए,’ कार्यालय प्रमुख भट्टराईले भने, ‘खेलाडी थकित पनि थिए । त्यही भएर पनि होला हामीले सोचेजस्तो परिणाम आएन ।’

सबै जिल्लालाई समेट्न नसक्दा पनि समस्या भएको उनले बताए । ‘सोलुखुम्बामा एथलेटिक्समा पदक ल्याउने खेलाडी थिए । त्यहाँबाट आउन सकेन । खेलाडीहरूलाई आराम पनि भएन । छनोट भएर लगत्तै केन्द्रमा खेल्न गए । क्यालेन्डर अनुसार खेल पनि भएन । खेल हुन्छ कि हुँदैन अन्योल थियो । खेलाडीहरूले राम्रोसँग तयारी नगर्दा पनि यस्तो समस्या भएको हो,’ बोर्डका कार्यालय प्रमुख भट्टराईले भने ।

मङ्गलबार, ०३ असार, २०८२, बिहानको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर