जंगली काफल खाएर पढ्ने पुस्ताले के सिक्यो ?

 विमल लामिछाने

दुईदशक अघिसम्म पनि धेरैजसो विद्यालयमा खाजा खाने प्रबन्ध थिएन । खाजा खानुपर्छ, नानीबाबुहरु भोकाउँछन् भन्ने ज्ञानको विकास अभिभावकहरुमा पनि कमैमात्र थियो ।

शिक्षालाई प्राथमिकताको पहिलो श्रेणीमा राखेर हेरिँदैन थियो । घरमा काम गरेर बचेको समयमात्रै शिक्षामा लगाउने चलन थियो । दिउँसो भोक लाग्यो भने जंगलमा पाइने ऐंसेलु, चुथ्रो, काफल, भद्राक्षे, मेल, सोउरको बोक्रा, आरुबखडाका डाइना खाएर भोक मेटाउने गरेको पुस्ताका विद्यार्थीहरुले ऊ बेलाको शिक्षा र अहिलेको शिक्षामा कति भिन्नता छ, शिकाइको तरिका र शिक्षामा लगानीमा कति फरक छ, आदि कुराको अनुभूतिसहित तुलनात्मक अध्यायन गर्न जरुरी देखिन्छ ।

ऊ बेलाको तुलनामा अहिले शिक्षा प्राथमिकतामा छ । शिकाइलाई प्रभावकारी बनाउन राज्यको लगानी पनि धेरै छ । नानी बाबुहरुलाई खाना, खाजा अझ सन्तुलित खाना प्राथमिकताका साथ खुवाएर शिक्षा दिनु अहिलेका अभिभावकहरुको मुख्य काम र जिम्मेवारी नै बनेको छ । तथापि, पछिल्लो समय धेरैले भन्ने गरेको सुनिन्छ, ‘नेपालको शिक्षा जीवन उपयोगी भएन । यो शिक्षाले जीवन उपयोगी सीप सिकाउनुभन्दा बेरोजगारीको भीड उत्पादन गर्नमा बढी केन्द्रित भइरहेको प्रतीत हुन्छ ।’ स्वदेशभन्दा विदेशलाई अनि आफ्नोभन्दा अरूको प्यारो देख्ने बनाइरहेको छ ।

हुन पनि हो, आज हाम्रा गाउँघरमा पढेका युवा भेटिँदैनन् । गाउँहरु युवाविहीन र मानवविहीन नै बन्दैछन् । विकास त गाउँमा जाँदै छ तर निर्जन बस्तीहरूमा विकास जानुको के अर्थ भो र ! यसमा कहीँ कतै शिक्षाको भूमिकाको खोजी गर्नुपर्ने बेला आएको त होइन ? यो विषय मनन गर्न लायकको छ ।

यतिका लगानी गरेर, समय खर्चेर, पैसा पेलेर शिक्षालाई पैसामै साट्दा पनि किन विद्यार्थी स्ववलम्भी र आत्मनिर्भर हुन सकेन त ? प्रश्न यो हो । अझै पनि शिक्षालाई कक्षा कोठाका चार पर्खालभित्रको शिक्षक केन्द्रित कर्मकाण्डी प्रक्रियाभन्दा फरक बनाउन सकिएको छैन । प्रगतिशील शिक्षण त सिद्धान्त र दर्शनमै सीमित हुन पुगेको छ । बहुल समाज भएको हाम्रो देशमा सही अर्थमा संस्कृतिसापेक्ष शिक्षण हुन नसक्दा पुरातन ज्ञान, संस्कार र संस्कृतिको अन्वेषण र प्रवर्धन हुन सकेको छैन । विविध जात, धर्म, लिङ्ग र समुदायमा रहेका एकअर्काप्रतिका नकारात्मक धारणा, शंका र बेमेल हटाएर सही अर्थमा एकता र सद्भाव स्थापित गर्न सकिएको छैन ।

जबसम्म अनुसन्धानमूलक कार्यक्रमद्वारा यसको पहिचान गर्न र परिणाममुखी रूपमा सदुपयोग गर्न सक्दैनौँ, तबसम्म स्वावलम्बन शब्द शब्दमै सीमित रहन पुग्छ । आयातीत दर्शन, निर्देशन र स्रोतको बलमा तथा हाम्रो आफ्नो परिवेश निरपेक्ष रूपमा अगाडि बढाइने कुनै पनि विकासे परियोजना जनमैत्री र दिगो हुन सक्दैन । यसले आशातीत परिणाम दिन नसक्ने कुराको साक्षी हामी भइसकेका छौँ ।

स्नातक तह उत्तीर्ण गरिसक्दा पनि आफ्नो जीवनको असल व्यवस्थापन गर्न सक्ने क्षमता र सुझबुझ नहुँदा शिक्षित भनिने मान्छेमा पनि शिक्षाप्रति वितृष्णा र नकारात्मक सोच पलाइरहेको छ । सोही कारण उ विदेशको बाटो पहिल्याउन बाध्य छ ।
परिणाममुखी शिक्षा छ कि छैन त्यो विद्यार्थीको व्यवहारले पनि देखाउँछ । अझ भनौं शिक्षालाई कसरी बुझ्ने ? विद्यालय तथा कलेजको परिणाम शतप्रतिशत बनाइदिन तथा आमाबुबाका अतृप्त आकांक्षा तृप्त गरिदिन विद्यार्थीले पढिदिनुपर्ने हालको अवस्था छ । यसमा परिवर्तन आवश्यक छ कि छैन ?

कतिपय विद्यार्थी र शिक्षकहरुले समेत भन्ने गरेको सुनिन्छ कि, नेपालको शिक्षा क्षेत्र अस्वाभाविक राजनीतिक हस्तक्षेपले आक्रान्त रहने गरेको छ । राम्रालाई भन्दा हाम्रालाइ ग्राह्यता दिने संस्कारबाट शिक्षा क्षेत्र पनि अछुतो रहेको छैन । यस्तो प्रवृत्तिले योग्य तथा सक्षम व्यक्तिमा निराशा बढ्नुका अतिरिक्त उचित ठाउँमा उचित व्यक्ति पुग्न सकेका छैनन् ।

दोस्रो कुराः शिक्षाले मान्छेलाई फगत धन कमाउने यन्त्र मात्र बनाउने काम गर्दा मानवीय मूल्य, मान्यता र नैतिकताको विकास हुन सक्दैन ।आफ्नो माटो, संस्कृतिलाई बिर्सेर जुनसुकै उपायले भए पनि धन कमाउने सोचले नैतिकवान् बन्न सकिँदैन । यसका लागि नैतिक शिक्षालाई महत्व दिएर दृढतापूर्वक लागु गर्नु पर्छ । उच्च शिक्षाका लागि देशका धेरै सिर्जनशील तथा ऊर्जाशील युवा विदेश जाने गरेको र सकेसम्म उतै बस्ने गरेको तथ्यले पनि हाम्रो शिक्षा नीति पुनरवलोकन गर्नुपर्ने आवश्यकता देखिएको छ । शिक्षा राष्ट्रनिर्माण गर्ने कालिगड उत्पादन गर्ने प्रक्रिया हो । यो मानव जीवनको शुद्धीकरणका लागि निरन्तर चल्ने अभियान पनि हो, यसमा वर्तमान नेतृत्वको पक्कै पनि ध्यान पुग्न आवश्यक देखिन्छ ।

मुलुकलाई बेरोजगारको भिड होइन, रोजगारमुलक र समतामुलक बनाउँन शिक्षामा परिवर्तन ल्याउन जरुरी छ । त्यसैले जंगली कन्तमुल र काफल खाएर पढ्ने पुस्ताले के सिक्यो ? त्यो मुख्य कुरा होइन । अहिलेको समय विद्यार्थीले जंगली कन्तमुल र काफल खाएर पढ्ने युग नभएकाले विद्यार्थीलाई कुटेर, शिक्षकलाई चुसेर र अभिभावकलाई लुटेर होइन, शिक्षालाई ब्यापारीसँग छुटाएर बैज्ञानिक तर सर्वसुलभ र दक्ष जनशक्ति उत्पादन गर्नसक्ने प्रगतिशिल शिक्षा प्रणालीको विकास आजको अपरिहार्यता हो । सम्बन्धित पक्षको ध्यान जाओस् ।

बिहिबार, ०९ जेठ, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर