
सम्पादकीय
मुलुक ग्रामिण तथा दुरुदराजको क्षेत्रमा अहिले विद्युत सुविधा पुगेको छ । करिब ९९ प्रतिशत घरधुरीमा विद्युत सुविधा कुलमान घिसिङ कार्यकारी निर्देशक भएको अबधिमा पुगिसेको थियो ।
यसले सर्वसाधारणलाई धेरै सहजता भएको छ । तर, विद्युतीकरणको पहुँच बढ्दै गएसँगै एउटा विडम्बनापूर्ण घटनाक्रम पनि बढिरहेको छ—बिजुलीका उपकरण र सामग्रीको चोरी । हालै मोरङको सुन्दरहरैंचा जोगियारेमा ट्रान्सफर्मर नै चोरी भएको समाचारले सामाजिक सञ्जालमा तरङ्ग ल्याएको छ । यस्ता घटनाले नागरिकलाई अँध्यारोमा राख्नुका साथै नेपाल विद्युत प्राधिकरणलाई पनि ठूलो आर्थिक क्षति पु¥याइरहेको छ ।
प्रहरीको अनुसन्धान अनुसार चोरहरूले एउटा ट्रान्सफर्मरबाट झण्डै २० किलो तामाको तार निकाल्छन् । जसको बजार मूल्य तीन हजारदेखि साढे तीन हजार रुपैयाँ प्रतिकिलो पर्छ । यी चोरहरूले पहिले फ्युज तानेर लाइन काट्ने र त्यसपछि मात्रै ट्रान्सफर्मर खोल्ने गरेको पाइएको छ । जसले प्रष्ट गर्छ कि चोरहरू विद्युत सम्बन्धी ज्ञान भएका व्यक्ति नै हुन् । चिन्ताजनक कुरा के छ भने गत फागुनयता मात्रै तीन वटा ट्रान्सफर्मर चोरी भएका छन्—ग्रामथान र सुन्दरहरैंचाका दुई स्थानमा । यी सबै चोरीको घटनाक्रम एउटै प्रकृतिको देखिनु र चोरहरू पक्राउ पर्न नसक्नुले स्थानीय बासिन्दामा त्रास छाएको छ ।
ट्रान्सफर्मर मात्र होइन, विराटनगरका विभिन्न स्थानमा अर्थिङका लागि प्रयोग गरिने तामाको तार पनि चोरीको निसाना बनिरहेको छ ।
विराटनगर विद्युत वितरण केन्द्रका अनुसार एक वर्षभित्रमा यस्ता ५० भन्दा बढी घटना भएका छन् । जसको मूल्य प्राधिकरणको हिसाबमा प्रतितार ५०० देखि ६०० रुपैयाँ पर्ने भएपनि चोरहरूले १० देखि २० रुपैयाँमा बेच्ने गरेको अनुमान गरिएको छ । यी घटनाहरूले प्राधिकरणलाई आर्थिक क्षति पुग्नुका साथै त्यस क्षेत्रका बासिन्दाहरूलाई विद्युत सेवाबाट वञ्चित गराउँछ । एउटा ट्रान्सफर्मरको सेवा बिग्रिँदा दर्जनौं परिवारहरू दैनिक जीवनयापनमा समस्या भोग्न बाध्य हुन्छन् । यस्ता चोरी रोक्न सरोकारवालाहरूले संयुक्त पहल अघि बढाउनु आवश्यक छ । पहिलो, प्रहरी र प्राधिकरणले कडा निगरानी र अनुसन्धान गर्नुपर्छ । प्राधिकरणले विगतमा सफल अनुसन्धानपछि ट्रान्सफर्मर चोरी रोकिएको उल्लेख गरेको छ, त्यसैले अहिले पनि प्रभावकारी कारबाही हुन आवश्यक छ ।
दोस्रो, स्थानीय समुदायहरूलाई यस्ता सार्वजनिक सम्पत्तिको संरक्षणमा सहभागी गराउनुपर्छ । विशेषगरी राति विद्युत लाइन डिस्टर्ब हुँदा सजग रहन र शंकास्पद गतिविधिको जानकारी तुरुन्त दिने प्रणालीको विकास गर्नुपर्छ । तेस्रो, पुराना धातु र तामा खरिद गर्ने व्यापार क्षेत्रमा निगरानी बढाएर चोरहरूको बिक्री नेटवर्कलाई नष्ट गर्नुपर्छ । ट्रान्सफर्मरका तारहरू पगालेर बेच्ने प्रवृत्तिलाई नियन्त्रण गर्न विशेष अभियान चलाउनुपर्छ ।
अन्तमा, विद्युत प्राधिकरणले आफ्ना महत्त्वपूर्ण संरचनाहरूमा सुरक्षा व्यवस्था सुदृढ गर्नुपर्छ । सिसिटिभी, अलार्म सिस्टम र सुरक्षा कवच जस्ता आधुनिक प्रविधिको प्रयोग अपरिहार्य भइसकेको छ । सामान्य जनताको दैनिक जीवनमा अत्यावश्यक भइसकेको बिजुली सेवा सुनिश्चित गर्न यस खालका चोरी नियन्त्रण गर्नु राज्यको दायित्व हो । यसका लागि प्रहरी, प्राधिकरण, स्थानीय तह र नागरिक समाजको सामूहिक प्रयास अपरिहार्य छ ।