कोशी पर्यटन वर्षका सम्भावना र चुनौती

 सम्पादकीय

दश लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित कोशी प्रदेश सरकारले आजबाट पर्यटन वर्ष २०८२ सुरु गर्दैछ । तेह्रथुमको लालिगुराँस नगरपालिकाको तिनजुरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष उद्घाटन गर्ने कार्यक्रम छ । संघीय सरकारले सन् २०३२ सम्ममा वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ भने चालू आर्थिक वर्षमा १६ लाख पर्यटक ल्याउने लक्ष्य लिएको थियो । तर, अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटक आगमनमा केही कमी आएको तथ्यांक सार्वजनिक भएको छ । योबेला कोशी प्रदेशले मात्र आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य एक महत्वाकांक्षी भएपनि सम्भावनायुक्त प्रयास हो । कोशी प्रदेशले २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गर्दै, “८२ का लागि ८२ गन्तव्य” भन्ने नारा अगाडि सारेको छ ।
अभियानको सफलताका लागि सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, भ्रमण वर्षको प्रबद्र्धनात्मक कामहरु भने खासै भएका छैनन् । पाँच सयभन्दा बढी सदस्य रहेको मूल आयोजक समिति गठन गर्ने त्यसका केहि बैठक आमसभा स्टायमा राख्ने र सीमित घेराभित्र रहेर योजना निर्माणको काम भएको छ । भ्रमण वर्षको घोषणा चालु वर्षको बजेटमै गरिएको भएपनि त्यसको उचित प्रचारप्रसार र प्रबद्र्धनको काममा सरकारले ध्यान दिएको छैन ।

भ्रमण वर्षलाई केहि कर्मचारीको संकुचित सोचका घेरामा सञ्चालन गर्न खोजिएको छ । जसले आफ्नो भत्ता र कार्यक्रबाट आउने कमिसनमा मात्र ध्यान दिने गरेका छन् । भ्रमण वर्षको लागि ८२ गन्तब्य छानिएको भनिएको छ । तर, ती गन्तब्यबारे आम सर्वसाधारण त सञ्चार क्षेत्रलाई पनि जानकारी छैन । भ्रमण वर्ष र पर्यटकीय गन्तब्यको प्रबद्र्धन र प्रचार प्रसारमा सञ्चार क्षेत्रको परिचालन गर्नुपर्नेमा त्यसलाई पूर्णरुपमा बेवास्ता गरिएको छ । भ्रमण वर्षको लक्ष्य प्राप्त गर्न सक्षम पूर्वाधार, स्पष्ट नीतिहरू र समन्वयात्मक प्रयास हुनुपर्नेमा त्यसतर्फ सरकारले ध्यान दिन सकेको छैन ।

प्रदेशमा पर्यटन सम्भावनाहरु अपार छन् । सगरमाथा, कञ्चनजङ्घा, मकालु लगायतका हिमशृंखलादेखि कोशी टप्पु वन्यजन्तु आरक्ष, ऐतिहासिक गन्तव्य, धार्मिक स्थल, साहसिक खेल र विविध संस्कृति यस प्रदेशको पहिचान हुन् । तर, यति ठूला सम्भावनाका बावजुद प्रदेशको गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान २ प्रतिशतभन्दा पनि कम हुनु चिन्ताको विषय हो । प्रदेश सरकारले स्थानीय स्तरमा २ हजार रोजगारी सिर्जना गर्ने र कोशीलाई पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने योजना बनाएको छ । स्वीस सरकारसँग पदमार्ग निर्माणको सम्झौता, विभिन्न धार्मिक तथा साहसिक गन्तव्यहरूको प्रवद्र्धन, पर्यटक राख्नसक्ने क्षमता विस्तार आदि कार्यहरु सकारात्मक छन् । तथापि, पर्यटनविद्हरूको गुनासो अनुसार, मन्त्रालयको अस्थिरता, नीतिगत अस्पष्टता र संस्थागत कमजोरी भने चुनौतीका रूपमा रहँदै आएका छन् ।

पर्यटन विकासका लागि केवल बजेट छुट्याउनु वा कार्यक्रम घोषणा गर्नु मात्र पर्याप्त हुँदैन । पर्यटकमैत्री नीति, सीमा नाकामा सहज पहुँच, सुरक्षाको प्रत्याभूति, स्थानीय जनताको संलग्नता र निरन्तर प्रचारप्रसार अत्यावश्यक छन् । विशेषगरी भारत, भुटान र बङ्गलादेश जस्ता छिमेकी मुलुकसँगको सम्भावनालाई व्यवस्थित रूपमा सम्बोधन गर्नुपर्छ । भ्रमण वर्ष घोषणाको अवसरलाई प्रदेशले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन प्रयोग गर्नुपर्छ । तर, त्यो प्रयास पनि खासै भएको छैन । भ्रमण वर्षको उद्घाटनमा छिमेकी मुलुकका सञ्चारकर्मीलाई बोलाएर प्रबद्र्धन र प्रचारप्रसार गर्न सकिन्थ्यो । त्यसमा पनि सरकारले चासो दिएको देखिएन । समग्रमा दीर्घकालीन रूपमा सफल हुन नीतिगत स्पष्टता, पूर्वाधार सुदृढीकरण, निजी–सरकारी साझेदारी तथा प्रचार प्रसार र प्रबद्र्धन नै पर्यटकको आवागमन बढाउन सकिन्छ । कोशी प्रदेशको पर्यटन सम्भावना केवल सपना होस् भन्ने चाहना होइन, त्यसलाई यथार्थमा परिणत गर्ने चाहना हो । अब समय आएको छ— घोषणाभन्दा कार्यान्वयनमा गहिरो ध्यान केन्द्रित गर्नुपर्छ । रणनीति स्पष्ट, कार्य सशक्त र नेतृत्व प्रतिबद्ध भयो भने कोशी निश्चय नै नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।

बुधबार, २६ चैत, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर