उद्घाटन नहुँदै विवादमा कोशीको ‘पर्यटन वर्ष’


विराटनगर । कोशी प्रदेश सरकारको महत्त्वपूर्ण मानिएको कार्यक्रम ‘पर्यटन वर्ष २०८२’ उद्घाटन नहुँदै विवादमा तानिएको छ । प्रदेश सरकारले चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रबाट यस कार्यक्रमको उद्घाटन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महत्त्वपूर्ण कार्यक्रम भए पनि सरकारको तयारी फितलो भएको भन्दै प्रतिपक्ष मात्र होइन, सत्तापक्षकै सांसदहरूले विरोध गरेका छन् । लालीगुराँस फुलाउने नाममा उद्घाटनस्थल आसपासमा दमकलबाट गुराँसको रुखको टुप्पामा पानी हाल्न थालेपछि सरकारको चौतर्फी विरोध भइरहेको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाको दमकलबाट रुखको टुप्पामा पानी हाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्को विरोध भइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले यसलाई प्रकृतिमाथि गरिएको भद्दा मजाक भनेका छन् । उनले प्रदेश सरकारलाई प्रश्न गर्दै भने, ‘यति उत्पात गर्दा पनि २७ गतेसम्ममा तीनजुरे गुराँस फुलेन भने के हुन्छ?’

पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेशको गौरवको आयोजना भए स्थानीयतहसँग पनि छलफल गर्नुपर्ने बताएका छन् । ‘रातो किताबमा उल्लेख भएको बजेट खर्च गर्नुपर्ने थियो, खर्च गर्नका लागि मात्रै गरेको भन्दा जनतामा निराशा जान्छ’, कार्कीले भने, ‘हामी कंक्रिटलेस जंगल भन्दैछौं । जंगलभित्र चाहिँ स्रोत साधनबाट बनाउनु पर् छ। जमिन बिर्गानु हुँदैन । टुप्पामा पानी हालेर गुराँस फुलाउने कोसिस हुँदै छ । यो कुन प्रविधि हो रु नयाँ नयाँ प्रविधि पनि आएका छन् । टुप्पोमा पानी लगाउँदा जरामा मल जाने प्रविधि प्रदेश सरकारसँग होला । सरकार पनि प्रविधिवाला नै छ ।’

यस्तै, पूर्वमुख्यमन्त्री राजेन्द्र राईले भने यो कार्यक्रम मूर्खता प्रदर्शन गरेजस्तो देखिएको टिप्पणी गरेका छन् । ‘रुखको टुप्पोमा पानी हाल्ने कतिको विज्ञानसम्मत कुरा हो रु वनस्पति विज्ञसँग छलफल गरेर काम गर्दै हुनुहुन्छ कि छैन, मलाई थाहा भएन’, उनले भने,‘साधारण बौद्धिक सोचाइबाट हेर्ने हो भने यो चाहिँ मूर्खताजस्तो देखिन्छ ।’ सरकारले गरिरहेको कार्यक्रमका बारेमा प्रतिपक्षीसँग छलफल नगरेको पनि उनले बताए ।

‘प्रदेशको गौरवको योजनाको विषयमा सदनको कुरा गर्ने हो भने सबै सांसदहरूसँग छलफल गर्नुपर्ने हो । प्रतिपक्षीलाई औपचारिक रूपमा जानकारी पनि छैन । अनौपचारिक रूपमा थाहा पाएका छौं । सञ्चारमाध्यमबाट थाहा पाउने स्थिति छ’, उनले भने ।

राईले थपे ,‘देखाउनका लागि मात्रै गरिएको हो भने हामीले भन्नु केही छैन। कृत्रिम ढंगले गुराँस फुलाउनेदेखि संरचना बनाउने काम राम्रो होइन । गुराँस फुलेपछि नै उद्घाटन गर्ने हो भने फुलेको बेला गर्दा पनि राम्रो हुन्छ ।’

भारतीय पर्यटक बढी आउने भएकाले उनीहरूलाई लक्षित गरेर योजना बनाउँदा सहुलियत दिनुपर्ने राई बताउँछन् । आवश्यकताभन्दा बढी दुःख दिने काम भइरहेको उनको टिप्पणी छ ।

सरकारले गरिरहेको गतिविधिले पर्यटक बढ्ने नभई घट्ने अवस्था देखिएको उनी बताउँछन् । ‘पर्यटकले ल्याएका यातायातका साधन अनेक ठाउँमा चेकिङ गर्ने जस्ता गतिविधि भइरहेका छन् । लेनादेनाका कुराले पनि झमेला भइरहेको छ । इन्ट्री पोइन्टमा चेकिङ गर्ने सिस्टम राखेर स्टिकर टाँसेर सहज बनाइदिनुपर्छ,’ उनले भने ।

तीनजुरे लाली लालीगुराँसको राजधानीका रूपमा परिचित छ । तीनजुरे, मिल्के र जलजलेमा ३२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा पाइने ३६ मध्ये ३२ प्रजातिका गुराँस यही क्षेत्रमा पाइन्छन् । तीनजुरे, मिल्के र जलजले तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा पर्छ ।

गुराँस फूलाउन अनेकन् जुक्ति लगाउँदा पनि नफुले पछि प्रदेश सरकारले भने बोली फेर्न थालेको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले अहिले पर्यटक आउने वातावरण बनाउने काम मात्रै भइरहेको बताए । उनले दमकलबाट पानी लगाउने विषयमा आफुलाई जानकारी नभएको पनि बताए ।

उनले उद्घाटन स्थलमा ढुङ्गा रंगाउने कार्यक्रम गरिरहेको जानकारी दिए । सचिव घिमिरेले कंक्रिट संरचना बनाउने काम भने प्रदेश सरकारले नगरेको स्पष्टीकरण दिएका छन् । पर्यटन वर्ष मनाउन सरकारले चालु वर्षको बजेटमा १० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

सोमबार, २४ चैत, २०८१, बिहानको ०९:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर