मकै किसानलाई मल अभाब

इटहरी । मकै खेती गरेका सुनसरीका किसानहरुले रासायनिक मलको अभाव भोगिरहेका छन् । विशेष गरी मकै बाली र भदै धान खेतीका लागि मल हाल्ने समयमा रासायनिक मलको अभाव भएको हो ।

मकै खेती हुने तराईमा सुनसरी, मोरङ र झापा सहितका जिल्लाहरुमा मलको ठुलो अभाव देखिएको छ । बारीमा मल हाल्ने समयमा कतै पनि मल नपाएको सुनसरी बराहक्षेत्र नगरपालिका १० का कृषक घनश्याम कार्कीले गुनासो गरे ।
कृषक कार्कीले प्रत्येक बर्ष कृषि सामाग्री कम्पनी इटहरीबाट मल खरिद गरेर लैजाने गरेकोमा यसपाली पटक पटक कृषि सामाग्री कम्पनी धाउँदा पनि मल नपाएको गुनासो गरेका छन् । यस्तै इटहरी २ का कृषक राम बहादुर बस्नेतले पनि मल नपाएको बताए । वडाले तोकेको संस्थामा धेरै पटक धाउँदा मल नपाएको उनको भनाइ छ ।

सुनसरीका कृषकहरुका लागि मल विक्रि गर्ने आधिकारीक संस्था इटहरीमा रहेको कृषि सामाग्री कम्पनी हो । त्यहिँबाट जिल्ला भरका लागि विभिन्न कृषी सहकारी तथा कृषि संस्थाहरुमार्फत मल विक्रि गर्दै आएको छ ।अघिल्लो वर्षको भन्दा बढि मकै खेती भएका कारण बजारमा रासायनिक मल अभाव भएको कृषि सामाग्री कम्पनी इटहरीका प्रमुख रामकुमार चौधरीले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष कृषकले मकै खेती धेरै लगाएका कारण मल अभाव देखिएको उनको भनाइ छ ।
सुनसरीमा गत आ.ब.मा ६ हजार ८ सय ८३ मेट्रिक टन युरिया, ४ हजार ७ सय मेट्रिक टन डिएपी र ४ सय २२ मेट्रिक टन पोटास वितरण गरिएको कृषि सामाग्री कम्पनी इटहरीले जानकारी दिएको छ । प्रमुख चौधरीका अनुसार गत आ.ब कै कोटा अनुसार चालु आ.बका लागि रासायनिक मल आपुर्ति गरिएको थियो । साउन महिनायता साढे ८ हजार मेट्रिक टन युरिया, ५ हजार मेट्रिक टन डिएपी र तीन सय मेट्रिक टन पोटास वितरण गरिएको कृषि सामाग्री कम्पनी इटहरीले जानकारी दिएको छ । मलको अभाव देखिएपछि कम्पनीले थप मल आपुर्तिका लागि माथिल्ले निकायमा पत्र पठाइसकेकाले चौधरीले बताए । अबका ३ महिना बैशाख, जेठ र असार सम्मका लागि ४-४ हजार मेट्रिक टन मलको आवश्यकता पर्ने देखिएको उनको भनाइ छ ।

कृषी कम्पनीमार्फत सुनसरीमा १ सय ३५ डिलरले रासायनिक मल वितरण गर्दै आएका छन् । पछिल्ला बर्षमा पालिका अनुसार नै कोटा तोकेर मल वितरण हुँदै आएको प्रमुख चौधरीले बताए ।तराईका झापा, मोरङ र सुनसरी हिउँदे बालीको पकेट क्षेत्रमा पर्दछन् । तोरी, गहुँ,मकै, आलु लगायतका बाली धेरै क्षेत्रफलमा लगाउने गरिन्छ । जसका कारण रासायनिक मलको माग उच्च छ ।

सोमबार, २४ चैत, २०८१, बिहानको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर