नेकपा एस मोरङमा दोहोरिए चन्द्रवीर

विराटनगर । गत मंगलबारदेखि शुरू भएको नेकपा एकीकृत समाजवादी मोरङको जिल्ला अधिवेशनले छैटौं दिन नयाँ नेतृत्व चयन गरेको छ । झण्डै एक हप्ता लगाएर नेतृत्व छान्दा पनि पदाधिकारी तथा सदस्य भने अपूरो नै छन् । उनीहरूलाई जिल्ला कमिटीको बैठकबाट मनोनीत गरिने एसका नेताहरूले बताएका छन् ।

प्रतिनिधिलाई घर पठाएर कोठाबाट नेतृत्व छानिएको हो । पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि एसका केन्द्रका प्रतिनिधि पार्टी कार्यालयमा बसेर पदाधिकारी छानेका थिए । उपाध्यक्ष जगन्नाथ खतिवडा, सचिव बलदेव चौधरी लगायतका नेताले पार्टी कार्यालयमा बसेर जिल्ला पदाधिकारी छानेका हुन् ।

अध्यक्षमा चन्द्रवीर राई पुनः दोहोरिएका छन् । दुई उपाध्यक्षमध्ये एक जना उपाध्यक्ष भने नेताहरूले बनाएका छन् । अध्यक्षमा तीन जना नेता मुख्य दाबेदार रहेका थिए । चन्द्रवीर राई, उद्धव पोखरेल र दीपक ढकालले अध्यक्षमा दाबी गरेका थिए । तीनै जना दाबेदारलाई अध्यक्ष र उपाध्यक्ष बनाउने सहमति नेताहरूले गरे पनि पोखरेलले उपाध्यक्ष बस्न नमानेपछि एक उपाध्यक्ष पछि छान्ने गरी जिल्ला कमिटी बनाइएको नेताहरूले बताएका छन् ।

अर्का उपाध्यक्षमा ढकाल भने सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा तुलसी ढकाल निर्वाचित भएका छन् । अधिवेशनले तीन नेतालाई उपसचिव बनाएको छ । भूपाल बस्नेत, ढकबहादुर राई (डीबी) र सुभद्रा राई उपसचिव बनेका छन् ।

नेकपा एसले कार्यकर्ता व्यवस्थापन गर्नका लागि भने केही पद भने नयाँ खडा गरेको छ । पदाधिकारी सरह नै रहने गरी प्रेम भारतीलाई कार्यालय सचिव बनाइएको छ । उनले सचिव पदमा उम्मेदवारी दिएका थिए ।

आर्थिक विभाग प्रमुखमा चन्द्र शर्मा पराजुली निर्वाचित भएका छन् ।

यो जिल्ला अधिवेशनले ९१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नुपर्ने भएपनि ७७ सदस्य मात्रै छानेको छ । एक पदाधिकारीसहित १४ जना भने पछि मनोनीत गरिने नेकपा एसले जनाएको छ ।

आइतबार, २३ चैत, २०८१, साँझको ०५:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर