विराटनगर । राजसंस्था फर्काउने भन्दै संघीय राजधानी काठमाडौंमा गरिएको आन्दोलन अन्ततः हिंसात्मक बन्यो । तीनकुने केन्द्रीत कार्यक्रम गर्न प्रशासनले अनुमति दिएपनि राजावादीले काठमाडौका विभिन्न स्थानमा अराजकता प्रदर्शन गरे । आन्दोलन भनिएको हिंसात्मक गतिविधिले राजावादीको वास्तविक चरित्र उदांगो भएको यतिबेला सर्वत्र चर्चा र टिप्पणीको विषय बन्नु पुगेको छ ।
शान्तिपूर्ण भनिएको आन्दोलन कफ्र्यु लगाएर सेना परिचालन गर्नुपर्ने अवस्थासम्म पुग्यो । यसलाई उत्तेजित बनाउन अभिव्यक्ति दिने र हिसांमा संलग्न एक सयभन्दा धेरैलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरिसकेको छ ।देशको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्र क्षणभरमा रणमैदान हुँदा एक पत्रकारले अनाहकमा ज्यान गुमाए । अर्का एक जनाको प्रहरीको गोली लागेर मृत्यु भयो । यस्ता दृश्यले नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमा थप बदानम हुन पुगेको छ ।
सर्वसाधारणका घर, राजनीतिक दल तथा सरकारी कार्यालय र संचारगृहमा भएको आगजनीको विषयलाई लिए राष्ट्रिय मानवअधिकार आयोगले समेत गम्भीर मानवअधिकार रक्षाको अपिल गरेको छ । सरकार बाहिर रहेको दलको समाजवादी पार्टीको कार्यालयमा भएको आगजनीको विषयमा उक्त दलले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै संलग्नलाई कारवाही गर्न माग गरेको छ । सुपरमार्केटमा भएको लुटपाटको घटनालाई केहीअघि बंगलादेशमा भएको विद्रोहका क्रममा भएको घटनासँग जोडेर हेरिएको छ ।
शाहले फागुन ७ गते आफूलाई साथ दिन भन्दै अपिल गरेका थिए । उनको त्यही अपिलपछि हौसिएका राजावादीले फागुन २५ गते काठमाडौंमा स्वागतको नाममा विमानस्थलबाहिर हुलहुज्त गरे । विवादास्पद दुर्गा प्रसाईंलाई आन्दोलनको कमान्डर बनाएपछि काठमाडौमा हिंसा भड्किएको थियो ।
सरकारी सम्पत्तिमा आगजनी गरिँदा त्यसले राज्यलाई नै क्षति पुगेको छ । सुरक्षाकर्मीलाई घेरेर आक्रमण र कुटपिट गर्नुका साथै राजावादीले अस्पताल र सञ्चार गृहलाई पनि निसाना बनाए । कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड र आगजनी प्रयास भयो । नेपाल पत्रकार महासंघसहितका संचारजन्य पेशागत संगठनले घटनाको निन्दा गर्दै स्वतन्त्र प्रेसको ग्यारेन्टी लोकतन्त्रमा मात्र सम्भव हुने प्रस्ट पारेका छन् ।
२०६१ भदौमा इराकमा १२ जना नेपाली मारिएको विरोधमा भएको हिंसात्मक घटना बिर्साउने गरी भएको राजावादीको गतिविधिको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने कोणबाट समेत बहस शुरु भएको छ । “उनी सक्रिय राजतन्त्रमा छँदा जसरी जनतालाई दुःख दिने काम गरेका थिए अहिले पनि त्यही पुनरावृत्ति भएको छ,” कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भनेका छन् ।
समाजवादी मोर्चाको बैठकमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको उदण्डता टुलुटुलु हेरेर बस्न नसकिने बताउँदै भने, “ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन, नेपाली जनता त्यसको लागि तयार छैन । यसमा सरकार गम्भीर बनोस् ।” शाहको मानसिमकता नै आपराधिक रहेको कुरा इतिहासमा नै देखिएको हभन्दै प्रचण्डले यही समय सरकारले कडा कदम चाल्नुपर्ने र अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।
आन्दोलन नियन्त्रणबाहिर जाने र यस्तो घटना हुने पूर्वानुमान नै थियो । दुर्गा प्रसाईं, जसका प्रत्येक गतिविधि कानुनलाई धज्जी उडाउने खालका छन् । शुक्रबार तीनकुनेमा आन्दोलन भड्काउन मुख्यभूमिका उनकै थियो । पूर्वराजाको इसारामा आन्दोलनको कमान्डर उनलाई तोकिएको थियो । ज्ञानेन्द्रलाई बिहीवार मात्र भेटेर प्रसाईंले आन्दोलनबारे सल्लाह गरेको बताएका थिए । तीनकुने क्षेत्रमा जब प्रसाईं प्रवेश गरे, तब तनावको स्थिति सिर्जना भयो ।
प्रसाईं आफैंले चलाएको गाडी सुरक्षा दिएका प्रहरीलाई धकेल्दै अगाडि बढ्न खोजे । उनले अगाडि बढ्न र तोकिएको क्षेत्र पार गर्न उक्साएका थिए । घटनापछि प्रहरीले प्रसाईलाई खोजी गरिरहेको छ । उनका सहयोगी भने पक्राउ परिसकेका छन् । प्रसाईंले पछिल्लो समय सामाजिक सञ्जालमा व्यवस्था, राजनीतिक दल र केही व्यापारिक घरानाका व्यक्तिविरुद्ध घृणाको अभिव्यक्ति दिने गरेका छन् ।
काठमाडौंमा भएका घटनाले राजसंस्था र ज्ञानेन्द्र शाहप्रतिको जनआक्रोश र बदनामी २०५८ सालमा दरबार हत्यकाण्ड भएपछिकै जस्तो अवस्थामा पुगेको छ । राजसंस्था पुनःस्थापनाको एजेन्डा लिएर सडक आन्दोलन गर्नेका लागि नैतिक बन्धन सिर्जना भएको छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुपर्दैन भनेर पनि प्रसाईंले मानिसलाई उक्साइरहेका छन् । शुक्रबार पनि प्रदर्शनमा सहभागी धेरै बैंकको ऋण तिर्नुपर्दैन भन्ने अपेक्षाले उपस्थित भएको देखिएको थियो ।
प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार ९ वटा सरकारी र ६ वटा निजी वा अज्ञात गरी १५ सवारी साधनमा आगजनी भएको छ । त्यसैगरी विभिन्न १४ स्थानमा आगजनी, ९ वटा संस्थामा तोडफोड र १० स्थानमा लुटपाट भएको छ । प्रदर्शनकारीहरूले निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र व्यापारिक क्षेत्रलगायतमा तोडफोड गरेका थिए ।
आन्दोलन भडकाएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई ललितपुरबाट पक्राउ गरिएको छ । यसैगरी प्रहरीले राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरेको छ । दुर्गा प्रसाईं भने फरार छन् । उनलाई भने प्रहरीले खोजिरहेको छ ।
अराजकतापूर्ण गतिविधि गर्ने राजावादी समूह र दलका कार्यकर्तालाई प्रहरीले खोजी गरिरहेको छ । हिंसात्मक गतिविधिलाई सीसीटीभी फुटेजको अध्यननपछि निगरानी गर्दै पक्राउ गर्ने क्रम बढाएको हो ।
शनिबार दिउँसोसम्ममा १२२ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् । उनीहरूलाई कोटेश्वर,बालकुमारी, तीनकुनेसहितका स्थानबाट नियन्त्रणमा लिइएको हो । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले उनको राहदानी रद्द प्रक्रिया अघि बढाएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनकुने घटनाको छानबिन अघि बढेसँगै पूर्वराजा शाहको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन गइसकेको छ । यसैगरी काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई जरिवानाको पत्र काटेको छ । महानगरपालिका क्षेत्रभित्रका तीनकुने–कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले शाहको नाममा ७ लाख ९३ हजार रूपैयाँ जरिवानाको पत्र काटेको हो ।
ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा समेत उनीहरूले तोडफोड गरेका थिए । यस्तै, आइल्यान्ड र रेलिङहरूमा समेत तोडफोड र क्षति गरेका थिए । समग्र क्षतिको मूल्याकंन सरकारको छानबिन समितिले गर्ने भएपनि महानगरले आफ्नो क्षेत्राधिकारभत्रिको काम गरेको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।
यसअघि महानगरपालिकाले शनिबार बिहान शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर अध्ययन गरेको थियो । अध्ययन टोलीको प्रतिवेदनका आधारमा मेयर शाहले जरिवानाको निर्णय गरेका हुन् । यसअघि फागुन २५ गते ज्ञानेन्द्रको स्वागतमा सिनामंगल–गौशाला क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रूपैयाँ जरिवाना तिराएको थियो ।
फेसबुकमा ‘एरेस्ट ज्ञानेन्द्र’ अभियान
पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्नुपर्ने माग गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘एरेस्ट ज्ञानेन्द्र’ अभियान चलाउँदै उनलाई पक्राउ गर्न माग गरिएको हो ।
यसरी पूर्वराजा शाहलाई गिरफ्तारको माग गर्नेमा राजनीतिक दलका भ्रातृसंगठनका नेता, अभियन्तालगायत सामाजिक सञ्जाल प्रयोगकर्ता छन् ।
शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । त्यसक्रममा सञ्चारकर्मीसहित दुईजनाको मृत्यु भयो । निजी भवन, गाडी तोडफोड र आगजनी गरिएको थियो । कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरियो ।
उक्त प्रदर्शन पूर्वराजा शाहकै सहयोग र निर्देशनमा गरिएको कतिपयको बुझाइ छ । सोही कारण उनलाई घटनामा जिम्मेवार ठह¥याउँदै कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिँदै छ । केही नेताले पनि उनीविरुद्ध कडा कदम चाल्न सरकारलाई सुझाव दिएका छन् ।