विद्यालय सुधारमा जनप्रतिनिधिकै वेवास्ता :जनप्रतिनिधि बैठकमा आउँदैनन्, शिक्षकले चाहेर पनि सक्दैनन्

विराटनगर । सामुदायिक विद्यालयलाई सुधार गर्ने जिम्मेवारी लिएका स्थानीय तहका जनप्रतिनिधि नै विद्यालय सुधार गर्ने कार्यलाई बेवास्ता गर्ने गरेका छन् । जसले गर्दा जीर्ण अवस्थामा पुगिसेका विद्यालयहरुको सुधार हुन सकेको छैन । यस्तै सुधारको पर्खाइमा रहेको विद्यालय हो विराटनगर ४ खार्जीमा रहेको श्री ज्योति आधारभूत विद्यालय । यो विद्यालयलाई वडा कार्यालय र त्यस वडाका जनप्रतिनिधिहरुले पूर्णरुपमा बेवास्ता गर्ने गरेका छन् ।

दलित ऋषिदेव (मुसहर) समुदायका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयको भौतिक पूर्वाधार र शिक्षण सिकाइको अवस्था दयनीय छ । सबैले हेला र बेवास्ता गरेकै कारण विद्यालय सुधार हुन सकेको छैन । मुख्य गरेर वडाको विद्यालयहरुको रेखदेख र सुधार गर्ने जिम्मेवारी लिएको वडा कार्यालयले उक्त विद्यालयलाई सबैभन्दा धेरै बेवास्ता गर्ने गरेको पाइएको छ । यतिसम्म कि उक्त विद्यालय सुधार गर्न वडाध्यक्षले एक पटक पनि सरोकार देखाएका छैनन् भने विद्यालय संचालक समितिको बैठकमा जानका लागि खटाइएको वडा सदस्यसमेत एक पटक पनि उक्त विद्यालयको बैठकमा पुगेका छैनन् । तर सबै बैठकमा वडा प्रतिनिधिको भने हस्ताक्षर गराइएको छ ।

उक्त विद्यालयमा १३० जना विद्यार्थीहरु भर्ना रहेका छन् । जसमध्ये नियमित करिव ८० देखि ८५ जना विद्यार्थी उपस्थित हुने गरेका छन् । कक्षा ५ सम्म अध्ययापन हुने उक्त विद्यालय २०३१ सालमा स्थापना भएको हो । विद्यालयमा हालसम्म पनि विद्यार्थीलाई अध्ययन गर्ने कक्षा कोठाको अभाव छ । स्थानीय सरकार र प्रदेश सरकारको वेवास्ताले भवन अभावमा एउटै कोठामा दुई वटा कक्षा सञ्चालन हुदै आएको छ ।

विद्यालयको शैक्षिक तथा भैतिक अवस्था सुधार गर्न गठन भएको विद्यालय व्यवस्थापन समितिमा वडा अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ । तर, वडा अध्यक्ष जितन थापाले वडा सदस्य उषा राउतलाई ब्यवस्थापन समितिका सदस्यमा तोकेर पठाएका छन् । वडाले पठाएको वडा सदस्य व्यवस्थापन समितिको बैठकमा नजाने गरेको स्थानीय अविभावकहरुले बताए । सो विद्यालयका प्रधानाध्यापक बेधनिधि भट्टराईले विद्यालयमा नयाँ सुधार गरौ भन्ने चाहना भए पनि स्थानीयस्तर र स्थानीय निकाय दुवै ठाउँबाट यथेष्ट सहयोग नपाएको गुनासो गरे । उनले भने, ‘मेरो चाहनाले मात्र नहुने रहेछ सबै पक्षबाट सहयोग भए मात्र काम गर्न सकिने हो ।’
विद्यालयको नौं सदस्य व्यवस्थापन समिति छ । दुई वटा बाहेक कुनै पनि बैठकमा सबै सदस्यहरु सहभागी भएका छैनन् । जनप्रतिनिधिको रुपमा समितिमा देन सदस्य रहेकी वडा सदस्य राउत बैठक जादिनन् । समितिले गणपूरक संख्या पु¥याएर बैठक गर्छ र जनप्रतिनिधिलाई घर वा वडा कार्यालयमा भेटेर उपस्थिति गराउँछ । प्रअ भट्टराईले भने –‘ वडा सदस्यलाई भेटेर नै हस्क्षार गराउनु पर्ने बाध्यता छ ।’ विद्यालयको नियमित काम फुकाउन त्यस्ता बैठकहरु गर्ने गरेको भए पनि विद्यालयको भौतिक तथा शैक्षिक स्तर सुधार गर्न नसकेको उनले बताए । ११ महिनाअघि मात्र विद्यालयमा आएको भन्दै उनले यस अवधिमा वडा कार्यालयबाट विद्यालयको सुधारका लागि उल्लेख्य सहयोग पनि नपाएको बताए ।

विद्यालयमा भौतिक तथा शैक्षिक स्तर सुधार गर्न आर्थीकको आवश्यकता पर्ने भन्दै उनले आर्थीक अभावले विद्यालय जिर्ण ममर्त गर्ने र पूर्वाधार निर्माण तथा अन्य काम गर्न नसकेको बताए ।विद्यालयमा कक्षा कोठा नहुँदा एउटै कोठा दुई वटा कक्षा संचालन गर्नु पर्ने बाध्यता छ । उनले भने–‘विद्यालयमा विद्युत वाइरिङसमेत छैन, विद्युत नै नभएको कक्षा कोठालाई न प्रविधिमैत्री बनाउन सकिन्छ न त आधुनिक ।’

विद्यालयले लामो समयदेखि भवनको अभाव झेल्दै एउटै कोठामा मिलाइजुलाई दुई वटा कक्षा संचालन गर्दै आएको विद्यालयमा बालविकास देखि कक्षा पाँचसम्म अध्यापन हुन्छ । विद्यालयको पठनपाठनमा सुधार नभएकै कारण स्थानीय मुसहर समूदायबाहेक अन्य समुदायका बालबालिकाहरु उक्त विद्यालयमा पढ्न जाँदैनन् । स्थानीय अविभावकहरुले नजिकको विद्यालय छोडेर महंगो शुल्क लाग्ने बोर्डिङ स्कुलहरुमा छोराछोरी पढाउने गरेका छन् । स्थानीय अविभावकहरुले पनि विद्यालय सुधार गर्नेतर्फ खासै चासो नदिने गरेको शिक्षकहरुले बताए । चासो दिनेहरुले सुधारको पहल गरे पनि सरकारबाट सहयोग नपाएका कारण निराश भएको विद्यालयका शिक्षकहरुले बताए ।

विद्यालयमा यतिबेला भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको शिक्षक भोजकुमार अधिकारीले बताए । कक्षा एक र दुईका विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गर्नु पर्दा विद्यार्थीमा अलमल हुनुका साथै नबुझिने गरेको विद्यार्थीको गुनासो रहेको शिक्षक अधिकारीले सुनाए । एक र दुईका विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पठनपाठन गर्नु पर्ने बाध्यता रहेकाले शिक्षण उपल्बधी हासिल गर्ने सकिरहेका छैनौं –‘उनले भने ।”

विद्यालयको ६ वटा कोठामात्रै रहेका छन् । एउटामा कार्यालय कक्ष, अर्को एक कोठामा बालविकास, एक कोठामा दुई र एकका विद्यार्थीलाई सँगै राखेर पठनपाठनको कार्य हुँदै आएको उनले सुनाए ।

कक्षा एकमा छात्रछात्रा गरी १८, दुईमा २८ जना गरी ४६ जना विद्यार्थी गरी एउटै कक्षा कोठामा अध्ययन गर्दै आएका छन् । उक्त विद्यालयमा तीन जनाको स्थायी शिक्षकको दरबन्दी छ भने दुई राहत शिक्षक र एक विद्यालयका कर्मचारीसहित ६ जना कार्यरत छन् ।

बिहिबार, १५ फागुन, २०८१, साँझको ०७:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर