विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने (नो केबलकार) पक्ष र सरकार पक्षबीचको वार्ताले ठोस निष्कर्ष दिन सकेको छैन । दुई पटक भएको छलफलपछि केही शान्त देखिएको पाथीभरा क्षेत्रमा पुनः पक्ष र विपक्षमा ¥याली तथा प्रदर्शनहरु सुरु भएका छन् ।
वार्ता र सहमति नगरी केबलकार निर्माण कम्पनीले आफ्नो काम अगाडि बढाएपछि गत माघ १२ गते नो केबरकार समूहले काम रोक्ने प्रयास गरेको थियो । त्यसक्रममा प्रहरी १९ जना र नो केबलकार समूहका ६ जना आन्दोलनकारी घाइते भएका थिए । साँझ करिब ६ बजे बलुडाँडामा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।
आन्दोलन उग्र बन्दै जाँदा नेपाल सरकारले गत माघ २० गते गृहमन्त्रालयले सहसचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन ग¥यो । त्यसको भोलिपल्ट नो केबलकार समूहले पनि प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा वार्ता समिति गठन ग¥यो । दुवै वार्ताटोलीबीच माघ २२ गते वार्ता भयो । सो वार्ताबाट माघ २७ गते निर्णायक वार्ता गर्ने भन्दै केबलकार निर्माण पनि स्थगित गर्ने र आन्दोलन पनि स्थगित गर्ने सहमति भयो । तर, २७ र २८ गते वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन । त्यसपछि अर्को वार्ता नै हुन सकेको छैन ।
बरु, त्यस क्षेत्रमा केबलकार बनाउनु पर्छ भन्ने पक्षले मंगलबार (फागुन ६ गते) ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा जनप्रदर्शन गरे । नो केलबकार समूहले पनि मंगलबारदेखि नै मुक्कुमलुङ शान्ति पदयात्रामा निस्किएका छन् । यो पनि आन्दोलनकै रुप भएको उनीहरुको दाबी छ ।
यद्यपि दुवै पक्षले भने एकले अर्को पक्षलाई पैसाको बलमा आन्दोलन गरिएको दाबी गर्दै आएका छन् । ‘आन्दोलन गर्नेहरुलाई दैनिक हजार, १५ सय दिएर आन्दोलनमा लगाइएको छ । राज्यसँग लड्नुपर्छ भनेर जताततै अराजकता खडा गरेपछि त राम्रो हुँदैन नि त । म विदेशमा रहनेहरूलाई पनि आग्रह गर्न चाहन्छु । आज तपार्इंहरुको सहयोगले यहाँ राम्रो भइरहेको छैन,’ फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले भने । उनका अनुसार एस केबलकारको नाममा मंगलबार भएको प्रदर्शनमा एक हजार बढी सर्वसाधरण सहभागी भएका थिए ।
उता, नो केबलकारको आन्दोलन गरिरहेका पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले पनि एस केबलकारको नाममा भएको आन्दोलनमा प्रतिव्यक्ति २ हजार ५ सयदेखि ५ हजार र मासुभात खुवाएर प्रदर्शन गरेको बताउँछन् । ‘प्रतिव्यक्ति पाँच हजार देखि २ हजार ५ सय र मासुभात गजबको सद्भाव ¥याली !,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
नगरप्रमुख मादेन भने पैसा दिएर आएको भन्नेहरु स्थानीयस्तरमा आएर बुझ्नु पर्ने बताउँछन् । ‘यहाँ आएर बुझ्नु प¥यो नि । एउटा माइकको भरमा सर्वसाधरण आएका हुन् । जिल्ला भरबाट भेला गर्ने हो भने हजारौंको प्रदर्शन हुन्छ । यहाँ कोही पनि केबलकार बनाउनु हुन्न भन्ने मान्छे छैन,’ मादेनले भने ।
आन्दोलनकारी थेगिम भने मंगलबार उतारिएको जनताहरु आर्थिक प्रलोभनमा पारेर निकालिएको र ठेकेदारको कामदार, नगरप्रमुखको आफन्तहरु आएको बताउँछन् । ‘सबैलाई निश्चित मूल्य दिएर, पैसाले किनेर मान्छे जम्मा गरेको हो । मासुभात खुवाएर । उनीहरुले अपलोड गरेका भिडियोहरुको कमेन्टमा पनि ८०–९० प्रतिशत नकारात्मक कमेन्ट आएको छ । त्यो १० प्रतिशत जति त हुने नै भयो नि । वास्तवमा यहाँका जनताले केबलकार मनपराएका छैनन्,’ थेगिमले भने ।
थेगिमसहितको टोलीले मंगलबार, बुधबार र बिहीबार शान्ति पदयात्रा गरिरहेको छ । फक्ताङलुङ संघर्ष समितिको आयोजनामा भएको उक्त पदयात्रामा बिहीबार अरु नेताहरु पनि सहभागी हुने कार्यक्रम रहेको उनले बताए । ‘पदयात्रा पनि हाम्रो एक प्रकारको आन्दोलन नै हो । सेवा पूजा पनि आन्दोलनकै रुपमा लिएका हौं,’ उनले भने ।
उनले सरकारले मन्त्रीस्तरीय वार्ता टोली नबनाउने हो भने आन्दोलन हुने बताए । ‘मन्त्रीस्तरीय वार्ता टोली बनाएन भने आन्दोलन नै मागेको होला भन्ने बुझ्नु प¥यो । यसले अझै कडा र सशक्त आन्दोलनको आशय देखाउँछ । वार्ताले मात्रै निकास निस्किन्छ कि भनेर बीचमा रोकेका हौं । तर, हामीले इच्छाएजस्तो र सोचेजस्तो परिणाम आएन । अब के गर्ने भन्ने विषयमा हामी छलफलमा छौं,’ थगिमले भने । नो केबलकार पक्षले सर्वोच्चमा हालेको मुद्दाको बिहीबार सर्वोच्च अदालतमा पेशी छ । त्यसलाई पनि पर्खिएको थेगिम बताउँछन् । उनले सरकारले वार्ता कर्मचारीसँगै गर भनेको तर, कर्मचारीसँग आन्दोलनका मागलाई सम्बोधन गर्न सक्ने हैसियत नै नभएको दाबी गर्छन् ।
उता सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भने बिहीबार नो केबलकार पक्षलाई पुनः वार्तामा बोलाउन पत्राचार गरिने बताए । ‘भोली (बिहीबार) विज्ञप्ति निस्कन्छ होला अनि मात्रै अपडेट गराउँला । हामीले आव्हान गरेपछि मात्रै के हुन्छ भन्न सकिन्छ,’ भट्टराईले भने । मन्त्रीस्तरीय वार्ता टोलीसँग मात्रै वार्ता गरेका छन् नि भन्ने विषयमा उनले केही बोल्न चाहेनन् ।
पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै केही व्यक्तिहरूले विरोध गरिरहेका छन् । पाथीभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केबलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो । करिब दुईवर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको छ । आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केबलकार सहितका पर्यटकीय गन्तव्यहरू बनाउने उद्देश्यसहित २०७९ सालमा यस केबलकारको ठूलो शेयर लिएर काम अगाडि बढाएको हो ।
कम्पनीले केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न गरिसकेको छ । केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने काम समेत सम्पन्न भई केबलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माण सुरु गर्ने तयारी छ ।
उता, प्रदेश १ पुनः नामकरणको पहिचानवादीको आन्दोलन इलाम उपनिर्वाचनमा केन्द्रीत भएको थियो । त्यसपछि उठ्न नसकेको आन्दोलन पुनः पाथीभराको केबलकार बहना बनेको छ । दुवैपक्षको वार्ताले सार्थक परिणाम दिन नसके पुनः पाथीभरा क्षेत्रमा आन्दोलन, झैझगडा र द्वन्द्व हुने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।