आमसञ्चार विधेयकमा १२ संशोधन दर्ता : प्रस्तावनादेखि अनुसुचीसम्म संशोधन गर्न प्रस्ताव

विराटनगर । प्रदेश सरकारले पेश गरेको आमसञ्चार विधेयकमाथि कोशी प्रदेशसभाका १३ जना सांसदहरुले १२ वटा संशोधनको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गरेका छन् ।

विधेयकमाथि सैद्धान्तिक छलफल सकिएपछि सभामुखले दिएको ७२ घण्टाको समयभित्र १३ सांसदहरुले विधेयकका अधिकांश दफामा संशोधन गर्ने सूचना दर्ता गरेका हुन् । विधेयकमाथि सत्तापक्षकै दल नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेप, काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङ तथा विधायन समितिको सभापति कमला दर्नालसमेतले संशोधन दर्ता गराएका छन् ।

यस्तै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका तर्फबाट गणेशप्रसाद उप्रेती, सपना दर्जी, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, एकीकृत समाजवादीका सांसद कमलप्रसाद जबेगू, खिनु लङ्वा लिम्बू, काँग्रेसका सांसदहरु भीम पराजुली, हिमाल कार्की, शमशेर राई, एमालेका सांसद रमेशकुमार बस्नेत र होमबहादुर थापासमेतले संशोधनको प्रस्ताव दर्ता गरेका हुन् ।

सांसदहरुले विधेयकमा प्रस्ताव गरेको आम संचार प्रतिष्ठानको संरचना, संचारमाध्याममाथि गरिने दण्ड र सजायको प्रस्तावसमेतमा संशोधन गर्नुपर्ने उल्लेख गरेका छन् । एमालेका सांसद बाहेक संशोधन प्रस्ताव दर्ता गर्नेहरुले प्रतिष्ठानको संरचनामा अध्यक्षलाई कार्यकारी बनाउनु पर्ने र प्रेस रजिष्टारमा सरकारकै कर्मचारी खटाउनु पर्ने प्रस्ताव गरेका छन् । समाचार प्रकाशन तथा प्रसारण गरेकै आधारमा संचारमाध्याम र संचारकर्मीलाई दण्डित गर्ने विधेयकको दफामा अधिकांश सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

काँग्रेसका सचेतक तामाङले प्रतिष्ठानमा विधेयकले दुई महिलासहित ७ सदस्यीय प्रस्ताव गरेकोमा तीन महिला बनाउन प्रस्ताव गरेका छन् । यस्तै उनले समाचारका आधारमा पत्रकार र संचारमाध्यामलाई जरिमाना गर्ने दफालाई संशोधन गरी सचेत गराउने, सरकारको सुविधा रोक्ने, सरकारको विज्ञापन नदिनेजस्ता कारबाही गर्ने प्रस्ताव गरेका छन् ।

काँग्रेस दलका उपनेतासमेत रहेका हिमाल कार्कीले अध्यक्षलाई कार्यकारी बनाएर सदस्य सचिवमा मन्त्रालयको संचार महाशाखाको प्रमुखलाई जिम्मा दिनुपर्ने प्रस्ताव गरेका छन् । यस्तै सदस्यमा तीन महिला हुनुपर्ने संशोधन प्रस्ताव छ । अध्यक्षको अनुभव १५ वर्ष र उमेर ३५ वर्ष बनाउन उनले संशोधन दर्ता गरेका छन् । प्रतिष्ठानको पदाधिकारी हटाउनु परेमा पूर्व न्यायधीशको संयोजकत्वमा छानविन समिति बनाउनु पर्ने उनको प्रस्ताव छ ।

काँग्रेस सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईले पनि अध्यक्षलाई कार्यकारी बनाएर रजिष्टारलाई सरकारी कर्मचारीको रुपमा राख्नुपर्ने प्रस्ताव गरेका छन् । राईले अध्यक्षको अनुभव २० वर्षको हुनुपर्ने, उमेर ३५ वर्ष हुनुपर्ने र सदस्यको अनुभव कम्तिमा १० वर्षको हुनुपर्ने प्रस्ताव गरेका छन् । समयअगावै पदाधिकारी हटाउनका लागि उच्च अदालतका न्यायधीश वा सो सरहको व्यक्तिको नेतृत्वमा छानविन समिति बनाउनु पर्ने उनको प्रस्ताव छ ।

काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद भीम पराजुलीले अध्यक्षलाई कार्यकारी बनाएर प्रेस रजिष्टारमा मन्त्रालयको उपसचिव स्तरको कर्मचारी रहनुपर्ने, पदाधिकारी नियुक्तिको लागि सम्बन्धीत मन्त्रीको संयोजकत्वमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक र विषयगत समितिको सभापति सदस्य रहेको छनौट समिति बनाउनु पर्ने, सदस्यहरु मिडियाको सबै विधा समेटेर नियुक्त गर्नुपर्ने, अध्यक्षको योग्यता स्नातकोत्तर उत्तीर्ण गरी १५ वर्षको कार्यानुभव हुनुपर्ने, सदस्यको योग्यता प्रमाणपत्र उत्तिर्ण गरी १० वर्षको कार्यानुभव हुनुपर्ने, अध्यक्ष र सदस्यको पदावधि ३ वर्षको हुनुपर्ने, प्रदेश र स्थानीय तहको विज्ञान एवम् सूचना अनिवार्य रुपमा सोही तहका संचारमाध्याममा उपलब्ध गराउनु पर्ने, समाचार लेखेकै आधारमा पत्रकारलाई दण्ड र जरिमाना गर्ने व्यवस्था हटाउनु पर्नेसहितको संशोधन प्रस्ताव पेश गरेका छन् ।

माओवादी केन्द्रका सांसद गणेश उप्रेती र सपना दर्जीले संयुक्त रुपमा दर्ता गरेको संशोधन प्रस्तावमा अध्यक्ष कार्यकारी हुनुपर्ने र सदस्य सचिव मन्त्रालयको कर्मचारी हुनुपर्ने, सदस्यहरुको नियुक्ति समावेशी आधारमा गर्नुपर्ने, प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन सभामुख संयोजक, प्रतिपक्षी दलको नेता सदस्य र विषयगत समितिका सभापति सदस्य रहेको छनौट समिति बनाउनु पर्ने, प्रतिष्ठानको पदाधिकारीको अवधि ३ वर्षको हुनुपर्ने, पदाधिकारीलाई कार्यकाल अवधिमै हटाउनु पर्ने भए पूर्व न्यायधीशको संयोजकत्वमा छानविन गर्नुपर्ने लगायतका संशोधन दर्ता गराएका छन् । यस्तै प्रदेश भित्रका सबै लोककल्याणकारी, सन्देशमूलक र सबै प्रकारका सरकारी विज्ञापन समानुपातिक ढंगले प्रदेशभित्रकै संचारमाध्यामलाई वितरण गर्नुपर्ने, समाचार लेखेकै आधारमा पत्रकारलाई दण्ड र जरिमाना गर्ने प्रावधान हटाई, सुविधा रोक्ने, विज्ञापन नदिने र कालोसूचीमा राख्नेजस्ता व्यवस्था राख्नुपर्ने, प्रसारण संस्थाको नवीकरण जरिमाना तिरेर एक वर्षसम्म गर्न पाउनु पर्ने संशोधन दर्ता गराएका छन् ।

यस्तै एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले प्रतिष्ठान गठनको लागि मन्त्रालयको मन्त्रीको संयोजकत्वमा मुख्यमन्त्रीले तोकेका तीन सदस्य रहेको छनौट समिति गठन गर्ने, प्रतिष्ठानमा ३३ प्रतिशत महिला सहभागी गराउने, अध्यक्षलाई कार्यकारी बनाएर रजिष्टार मन्त्रालयकै कर्मचारी रहनुपर्ने, अध्यक्षको अनुभव कम्तीमा २० वर्षको हुनुपर्ने, दर्ता नगरी अनलाइन संचालन गर्न नपाइने, गाभिएका संचारमाध्यमले ७ जनाभन्दा बढीलाई रोजगारी दिएको अवस्थामा प्रोत्साहन सुविधा प्रदान गर्ने, आचारसंहिताबाट कोही पीडित भए आफैं उजुरी दिनुपर्ने संशोधन प्रस्ताव राखेका छन् । समाजवादीकै खिनु लङ्वा लिम्बूले प्रतिष्ठान गठनका लागि मन्त्रीको संयोजकत्वमा प्रतिपक्षी दलको सचेतक र विषयगत समितिको सभापति सदस्य रहेको छनौट समिति बनाउने, अध्यक्षलाई कार्यकारी बनाएर रजिष्टार मन्त्रालयकै कर्मचारी राख्ने, अध्यक्षको योग्यता स्नातक उत्तीर्ण गरी २० वर्षको अनुभव हुनुपर्नेसहितका संशोधन दर्ता गरेकी छिन् ।

यस्तै राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने विधेयकमै नभएको प्रावधानमाथि संशोधन हालेका छन् । उनले दफा १५ को (४) मा संशोधन दर्ता गराएका छन् । तर, संशोधन प्रस्तवमा उनले उल्लेख गरेको विधेयकमा भएको व्यहोरा विधेयकमै छैन । उनले उपदफा १ र २ मा जुनसुकै कुरा लेखिएको भएपनि प्रतिष्ठानको पदाधिकारीको कार्य सन्तोषजनक नभएमा प्रदेश सरकारले उच्च अदालतका पूर्व न्यायधीशको संयोजकत्वमा छानविन समिति गठन गरिने छ । छानविनबाट दोषि पाइएमा हटाउन सकिनेछ भन्ने व्यहोरामा संशोधन दर्ता गराएको उल्लेख गरेका छन् । तर, उक्त उपदफामा सो विषय छैन । सो उपदफामा अध्यक्ष, सदस्य र प्रदेश रजिष्टाको कार्यसम्पादन सन्तोषजनक नभएमा मन्त्रालयको सिफारिसमा प्रदेश सरकारले जुनसुकै बेला हटाउन सक्ने उल्लेख छ । उनले प्रदेश सरकारले १ उच्चस्तरीय छानविन समिति गठन गरी हटाउन सक्ने प्रस्ताव गरेका छन् ।

विधेयकमाथि नेकपा एमालेका सांसदहरुले भने सामान्य विषयमा मात्रै संशोधन पेश गरेका छन् । एमालेका प्रमुख सचेतक लिङ्थेपले प्रतिष्ठानको सदस्यहरुमा ३३ प्रतिशत महिला बनाउनु पर्ने, छनौट समितिमा तीन जना सदस्य बनाउने, अध्यक्षको उमेर ४० वर्ष राख्ने, अध्यक्षको अनुभव स्नातक गरेको भए २० वर्ष र स्नातकोत्तर गरेको भए १० वर्ष राख्ने, सदस्यको उमेर ३५ वर्ष राख्ने, अध्यक्षलाई १५ हजार र सदस्यलाई १२ हजार मासिक यातायात खर्च दिनुपर्ने, स्थानीय तह र प्रदेशका विज्ञापन तथा सूचनाहरु स्थानीय संचारमाध्यामलाई नै प्राथमिकता दिने, सञ्चार संस्थाले स्तनपान कक्ष, शिशु स्याहार कक्ष र हेरचाह कक्षको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले समाचार लेखेकै आधारमा जरिमाना गर्ने व्यवस्था भने हटाउन संशोधन दर्ता गरेका छन् ।

एमालेकी सचेतक कमला दर्नालले सदस्यहरुमा तीन महिला हुनुपर्ने र समावेशी आधारमा नियुक्त गर्नुपर्ने संशोधन दर्ता गराएकी छिन् । एमालेकै सांसद होमबहादुर थापाले प्रतिष्ठानका पदाधिकारीको योग्यतामा बैंकिङ कसुरमा कालोसूचीमा नपरेको हुनपर्ने, प्रसारण संस्थाको इजाजतपत्रको निवेदन दिँदा प्यान÷भ्याट दर्ता हुनुपर्ने, स्थानीय तहको सिफारिस हुनुपर्ने विषय थप गर्न प्रस्ताव गरेका छन् । एमालेकै सांसद रमेशकुमार बस्नेतले प्रस्तावनामा लेखिएको नेपालको संविधान २०७२ बाट २०७२ हटाउनु पर्ने र प्रतिष्ठानको सदस्यहरुमा कम्तीमा तीन जना महिला हुनुपर्ने संशोधन दर्ता गराएका छन् ।

विधेयकमा के छ व्यवस्था ?

विधेयकमा भने प्रतिष्ठानको अध्यक्षदेखि सदस्य र रजिष्टारसम्म पत्रकार नियुक्त गर्ने व्यवस्था छ । तर, उनीहरुको नियुक्ति र बर्खास्तीको प्रक्रिया सरकार नियन्त्रित छ । यसरी बन्ने संस्थालाई दण्ड र सजायको अधिकार दिँदा निष्पक्ष नहुने जानकारहरू बताउँछन् । विधेयकमा सरकारले मिडिया प्रतिष्ठानलाई निर्देशन दिने र त्यसको पालना गर्नुपर्ने व्यवस्था छ । त्यसले प्रतिष्ठानको स्वायत्ततालाई सरकार केन्द्रीत बनाइएको छ ।

विधेयकमा अध्यक्षको भूमिका अस्पष्ट रहेको, रजिष्ट्रारलाई कार्यकारी जिम्मेवारी दिएको, अध्यक्षको काम रजिष्ट्रारलाई राय दिनेमा मात्रै सिमीत गरिएको छ । प्रतिष्ठानले गर्ने काम सबै रजिष्टारलाई जिम्मा दिने प्रावधान विधेयकमा छ ।
विधेयकमा प्रतिष्ठानका अध्यक्षदेखि सदस्य र रजिष्ट्रार सबैको योग्यता १० वर्ष पत्रकारिता गरेको र स्नातक पास गरेको हुने उल्लेख छ । विधेयकमा स्वायत्त भनेर कल्पना गरिएको प्रतिष्ठानको सदस्यलाई भने सरकारले जुनसुकै बेला हटाउन सक्ने प्रावधान राखिएको छ ।

आचारसंहिताको अनुगमन गर्ने प्रतिष्ठानको रजिष्टारलाई विधेयकले न्यायाधीश बनाउन खोजेको छ । यस्तो निकायले सम्झाउने, बुझाउने, सचेत गराउने, झक्झक्याउने हो । आचारसंहिता बिराएर गलत बाटो लाग्ने हरेकका लागि अदालत छँदैछ । गोपनियता, मानहानि, गालीबेइज्जती, प्रतिलिपि अधिकारको संरक्षण गर्न विभिन्न कानुनहरू छन् । यस्तै प्रतिष्ठान बनाउँदा अध्यक्ष र सदस्य सरकारले ठाडो नियुक्ति गर्ने, रजिष्टार नियुक्ति गर्न मन्त्रालयका सचिवको नेतृत्वमा प्रमुख सचिवले तोकेको १ जना र मुख्यमन्त्रीले तोकेको २ जना रहेको सिफारिस समिति बनाउने उल्लेख छ ।

यस्तै विधेयकको दफा २६ मा संविधानको प्रावधान विपरीत प्रशारणमा रोक लगाउने विषय पनि उल्लेख गरिएको छ । दफा ३० प्रशारणमा जरिवानको कुरा छ । दफा ५२ को १ मा ऐन विपरित प्रशारण गरेमा रजिष्टारले २५ हजारसम्म जरिवाना गर्ने व्यवस्था छ ।

यस्तै विधेयकको दफा ५२ को ३ मा कुनै सामग्री प्रशारण गरेवापत एक लाखसम्म जरिवाना लिने उल्लेख छ । संचार संस्थाले विमा र न्यूनतम् पारिश्रमिक लागू नगरे जरिवाना लिने भनिएको छ । दफा ५७ (१) ङ मा आचारसंहितामा मर्का परेकालाई क्षतिपूर्ती भराउने उल्लेख छ ।

यद्यपि विधेयकमा केन्द्रमा सुचना विभाग, प्रेस काउन्सिल, विज्ञापन बोर्ड र न्युनतम् पारिश्रमिक निर्धारण समितिले गर्ने काम समेटेर एकीकृत सेवा दिने विषय समेटेको छ । विधेयकमा पत्रकार कल्याण कोष बनाउने, पत्रकारिता क्षेत्रमा तालिम र छात्रबृत्ति दिने, पत्रकार परिचयपत्र दिने, सबैखाले सञ्चार माध्यम दर्ता र नविकरण प्रदेशमै गर्ने प्रावधान छ । यस्तै विज्ञापनको लागि प्रदेश र स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिने विषय समेटिएको छ भने पछाडि पारिएका समुदायको पत्रकार र ती भाषाका सञ्चार माध्यमको प्रबद्र्धन गर्ने उल्लेख छ । उक्त विधेयकका व्यवस्थाप्रति सरोकारवाला नेपाल पत्रकार महासंघ, संसदीय पत्रकार मञ्च तथा विभिन्न पत्रकारहरुको संघ संगठनले विरोध गर्दै संशोधनको माग गर्दै आएका छन् ।

बुधबार, ०७ फागुन, २०८१, बिहानको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर