विराटनगर । सर्वोच्च अदालतले जनयुद्ध शब्द प्रयोग नगर्न सरकारलाई दिएको आदेशप्रति असन्तुष्टि जनाउँदै कोशी प्रदेश सभाको बैठकमा सांसदहरूले जनयुद्ध जिन्दावादको नारा गुन्जाउँदै शुभकामना दिएका छन् ।
३०औँ जनयुद्ध दिवसको सन्दर्भमा शुक्रबार दोस्रो कोशी प्रदेश सभाको छैटौँ अधिवेशनको १३औँ बैठकमा सहभागी माओवादी केन्द्रका सांसदहरूले शून्य र विशेष समय लिएर बोल्दै जनयुद्धको चर्चासहित शुभकामना दिए ।
माओवादी केन्द्र संसदीय दलको तर्फबाट विशेष समयमा बोल्दै सांसद दुर्गाप्रसाद चापागाईंले जनयुद्ध नभएको भए अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको परिवर्तन सुनिश्चित नहुने दावी गरे । जनयुद्धको बलमा भएको परिवर्तनलाई १२ बुँदे समझदारी र शान्ति सम्झौताले स्वीकार गरेपछि नयाँ संविधान बनेको भन्दै उनले जनयुद्धलाई हिंसा भनेर बद्नाम नगर्न आग्रह गरे ।
जनताले जनताका लागि गरेको जनयुद्धलाई बद्नाम होइन सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘ महान् सहिदहरू लालसलाम, जनयुद्ध जिन्दावाद !’
माओवादी केन्द्रकी सांसद तथा प्रमुख सचेतक गीता तिम्सनाले शून्य समयमा बोल्दै जनयुद्धकै कारण राज्यका निकायहरुमा महिलाहरूको सहभागिता सुनिश्चित भएको भन्दै तथ्य स्वीकार गर्नुपर्ने बताइन् । आफू पनि १८ वर्षकै उमेरमा परिवर्तनका लागि जनयुद्धमा लागेको स्मरण गर्दै उनले जनयुद्धलाई हिंसा भन्नेहरूलाई गद्दारहरूको संज्ञा दिइन् ।
माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले शून्य समयमा बोल्दै १ फागुन २०८१ का दिन परिवर्तनका लागि भएको जनयुद्धको ३० वर्ष लागेको भन्दै महान् जनयुद्ध जिन्दावाद उल्लेख रहेको कविता वाचन गरेर सबैलाई शुभकामना दिए । माओवादी केन्द्रकी सचेतक सपना दर्जीले महान् जनयुद्ध हिंसा नभएर जनताले समानताका लागि लडेको न्यायको लडाइँ थियो भन्दै अहिलेको संविधान, गणतन्त्र, समानुपातिक समावेशिता आदि सबै जनयुद्धकै प्रतिफल भएकोे बताइन् । हजारौंको बलिदानीबाट प्राप्त परिवर्तनको फल खान अगाडि सर्ने, तर जनयुद्धलाई हिंसा भन्नु पराजित मानसिकता भएको उनले बताइन् ।
सोलुखुम्बुका सांसद गोम्बु शेर्पाले जनयुद्धलाई जनताको महान् युद्ध भन्दै सहिद, बेपत्ता र घाइते परिवारलाई निःशुल्क आवास र उपचारको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे । माओवादी सांसद बन्दना झाँगडले जनयुद्धमा सहभागी भएर जीवन त्याग गर्ने सहिदहरूको बलिदानलाई कसैले पनि उपेक्षा गर्न नहुने बताइन् । जनयुद्धकै कारण आफू र आफूजस्ता शोषित, पीडित पिछडिएका वर्गहरू शासनको सत्तामा आउन पाएकोमा सबैले जनयुद्धलाई धन्यवाद दिनुपर्ने उनको भनाइ थियो ।
उदयपुरका सांसद राजन किरातीले हरेक राजनीतिक आन्दोलनमा सहभागी भएको एक मात्र आन्दोलन जनयुद्ध मात्र भएको दाबी गरे । उनले जनताले जनताका लागि लडेकै कारण जनयुद्ध महान् भएको बताए । सांसद राईले जनयुद्धलाई हिंसा भन्नेहरूले कांग्रेसले २००७ सालमा र मालेले २०२८ सालमा गरेको सशस्त्र आन्दोलनलाई चाहिँ के भन्ने ? भनेर प्रश्न गरे ।