ऐतिहासिक परिवर्तनको स्मरण

 सम्पादकीय

नेपालमा हरेक वर्ष फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाइन्छ । २०५२ सालमा शुरू भएको जनयुद्धले नै नेपालमा ठुलो राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन ल्यायो । २०६२-६३ को ऐतिहासिक जनआन्दोलन र शान्तिप्रक्रियासँगै गणतन्त्र स्थापनाको मार्ग प्रशस्त गर्ने यो संघर्ष नेपालकै इतिहासिको सबैभन्दा धेरै नागरिक सरिक भएको सशस्त्र संघर्ष हो । आजको सन्दर्भमा जनयुद्ध दिवस मनाउनुको औचित्य के हो ? के यसले अपेक्षित रूपान्तरण सम्भव गर्यो ? यी प्रश्नहरू महत्वपूर्ण छन् । जनयुद्धको प्रमुख उद्देश्य सामन्ती तथा केंद्रीकृत सत्ताको अन्त्य गर्दै समानता, समावेशिता र न्यायसंगत समाजको निर्माण गर्नु थियो । यस संघर्षको प्रभावस्वरूप नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । महिलाहरू, दलित, जनजाति, मधेशी लगायतका वर्गहरूले राजनीतिको मूलधारमा स्थान पाए । नयाँ संविधान २०७२ को निर्माणसँगै जनयुद्धको एजेन्डा कानुनी रूपमा संस्थागत भएको देखिन्छ ।

आजको दिनमा जनयुद्ध दिवस मनाउनुको प्रमुख कारण भनेको इतिहासलाई स्मरण गर्नु मात्र नभई वर्तमान र भविष्यप्रति प्रतिबद्धता व्यक्त गर्नु पनि हो । राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनतको अवस्था अझै परिवर्तन हुन सकेको छैन । अस्थिरता, बेरोजगारी, गरिबी, सामाजिक असमानता जस्ता चुनौतीहरू कायमै छन् । जनयुद्धको बलिदानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न र जनताका अपेक्षाहरू पूरा गर्न अझै धेरै गर्न बाँकी छ । तर, समग्र रूपमा हेर्दा, जनयुद्धले उठाएका मुद्दाहरूको कार्यान्वयन प्रभावकारी रूपमा भएको छैन भन्ने गुनासो व्यापक छ । राजनीतिक नेतृत्वले प्राप्त उपलब्धिलाई टिकाउन नसकेको तथा भ्रष्टाचार, स्वार्थपरक राजनीतिले जनतामा निराशा बढाएको देखिन्छ । यस्तो अवस्थामा, जनयुद्ध दिवस केवल औपचारिकता नबनी आत्मसमीक्षा गर्ने अवसर बन्नुपर्छ ।

जनयुद्ध दिवस मनाउनुको सार्थकता त्यतिबेला मात्र रहन्छ, जब यसका आदर्शलाई व्यवहारमा लागू गरिन्छ । राजनीतिक नेतृत्वले देशको विकास, सुशासन, समानता, र समृद्धिको मार्ग पहिल्याउनु आवश्यक छ । युवाहरूलाई सही मार्गदर्शन गर्दै श्रमको सम्मान, अवसरको समानता, र नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गरिनुपर्छ । त्यसैले, जनयुद्ध दिवस केवल अतीतको गौरवगान गर्ने माध्यम नभई वर्तमानलाई मूल्याङ्कन गर्ने र भविष्यको मार्गचित्र कोर्ने अवसरका रूपमा मनाइनु पर्छ । यो दिवसले नेपाली समाजलाई आत्मविश्लेषण गर्ने, सुधार गर्ने, र संघर्षका उपलब्धिहरूलाई संस्थागत गर्ने दिशामा अगाडि बढ्न प्रेरणा दिनुपर्छ । केवल नारामात्र होइन, कार्यान्वयनमुखी प्रतिबद्धता जनयुद्ध दिवसको वास्तविक सार्थकता हुनेछ ।
जनयुद्ध दिवस राष्ट्रिय एकता, राजनीतिक स्थिरता, र सामाजिक न्यायलाई अझ बलियो बनाउन सक्ने माध्यम बन्नुपर्छ । नयाँ पुस्तालाई संघर्षका मूल्यहरूबारे सचेत गराउँदै तिनीहरूलाई लोकतान्त्रिक प्रणालीप्रति विश्वास जगाउने काम गर्न आवश्यक छ । नेपाललाई आत्मनिर्भर बनाउने रणनीतिहरू अपनाउँदै आर्थिक समृद्धि हासिल गर्नु आजको प्रमुख चुनौती हो । यदि जनयुद्धले देखाएको सपना पूरा गर्ने हो भने वर्तमान सरकार, राजनीतिक दल, र नागरिक समाज सबैले मिलेर ठोस कदम चाल्नुपर्छ । वर्तमान परिवर्तको उपभोग गर्ने तर, जनयुद्धको विरोध गर्नेहरु राजनीतिक अवसरवादी र प्रतिगमनकारी हुन् । यदि कसैले जनयुद्धको विरोध गर्छ भने त्यसले आजको राजनीतिक परिवर्तन अस्वीकार नगरेको मात्र हैन, जनतको बलिदानीपूर्ण आन्दोलनमाथि गरेको अपमान पनि ठहर्छ ।

बिहिबार, ०१ फागुन, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर