विराटनगर । ताप्लेजुङको पाथीभरा मुक्कुम्लुङमा क्षेत्रमा केबलकार बनाउने विषयले तातिएको माहोल केही दिनदेखि शान्त छ । पाथीभरा केबलकार निर्माण कार्य तत्कालका लागि स्थगित गर्ने सहमति गरेपछि आन्दोलन मथर भएको हो । सरकार र आन्दोलनरत पक्षबीच गएको मंगलबार भएको वार्तामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो । माघ २७ गते अर्काे वार्ता गर्ने सहमतिपछि आन्दोलनरत पक्षले आन्दोलन स्थगन गरेको थियो । आन्दोलनकारी र प्रहरी बिच झडप हुँदा प्रहरीले गोलीसमेत चलाएको थियो । प्रहरीले चलाउँदा चार जना घाइते भएका थिए ।
प्रदेशको नाम कोशी राखिएपछि आन्दोलन गर्दै आएका पहिचान पक्षधरहरूले नो केबलकार समूह नै बनाएर आन्दोलन गरेका थिए । २०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राखिएको थियो । त्यतिबेला नेकपा एमाले, नेपाली कांग्रेस माओवादी केन्द्र, राप्रपा लगायतका दल कोशीका पक्षमा उभिएपछि प्रदेशले नाम पाएको थियो । कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा चार मत परेको थियो । नेकपा एकीकृत समाजवादीले भने कोशीको विपक्षमा मतदान गरेका थिए । जसपा कि एक्ली सांसद निर्मला लिम्बू भने मतदान गर्ने बेला प्रदेशसभा भन्दा बाहिर थिइन् । कोशीको नामकरणबाट एकजुट भएका पहिचान पक्षधरहरू केबुलकार निर्माण गर्ने कुरामा मात्रै होइन पाथीभराको नाम नै मुक्कुम्लुङ हुनु पर्ने बताउँदै आएका छन् ।
तथापि यहाँका राजनीतिक दलले भने यो मुद्दामा एउटै आवाज बोल्न थालेका छन् । सत्तापक्ष देखि प्रमुख प्रतिपक्षसम्म रहेका दलहरूले भने एउटै आवाज बोल्न थालेका हुन्् । यहाँका ठुला तीन दलले विकास निर्माणको काम रोक्न नहुने निष्कर्षमा पुगेका छन् ।
विकास निर्माणको कुरामा विरोध गर्नु नहुने नेकपा एमाले ताप्लेजुङका अध्यक्ष डम्बर धोज तुम्बाहाम्फेले बताए । उनले स्थानीयतहको आन्तरिक स्रोत पनि बढ्ने भएकाले केबुलकार बन्नुपर्ने बताए ।कांग्रेसले भने वार्ताको माध्यमबाट सहमती गरेर काम अगाडि बढाउनु पर्ने पक्षमा छ । कांग्रेस ताप्लेजुङका जिल्ला सभापति गजेन्द्र तुम्हाङले जैविक, दैविक र प्राकृतिक स्वरूपलाई बढी क्षति नगरी मन्दिर भन्दा तल स्टेसन राखेर आन्दोलनकारीहरूलाई पनि सहमतिमा ल्याएर निर्माणको काम गर्नुपर्ने बताए । उनले सबैको आ आफ्नै इन्ट्रेस्ट भएकाले समस्या आएको बताए ।
प्रदेशसभादेखि प्रतिनिधिसभासम्म मुक्कुम्लुङको विषयमा कडा आवाज उठाएको नेकपा माओवादी केन्द्रले पनि विकास निर्माणको काम रोक्न नहुने बताइरहेको छ । स्थानीयस्तरमा उठेको विषयमा छलफल गरेर निकास खोज्नु पर्ने माओवादी ताप्लेजुङका संयोजक विष्णुकुमार हाङगामले बताए । उनले ऐतिहासिकताको विषयलार्य समाधान गरेर जानुपर्ने बताए । उनले अहिलेसम्म मौन समर्थन गरेको तर बन्द हड्ताल भइरहे मौन समर्थन नरहने बताए । उनले वार्ता र सहमतीमा आफूहरुको समर्थन रहने र नामको विषयमा बखेडा नगर्ने बताए ।