आफ्नै पुस्तक बिक्री गरेर अनुसन्धान अक्षयकोष निर्माण गर्दै विरही

मोरङ । मोरङका लेखक तथा पत्रकार केशु विरहीले आफ्नो पछिल्लो प्रकाशित कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ को बिक्रीबाट प्राप्त भएको रकमले बेलबारीमा एउटा अनुसन्धान अक्षयकोष निर्माण गर्ने भएका छन् । अक्षयकोष निर्माण तथा आगामी कृतिको लोकार्पणबारे जानकारी दिने उद्देश्यले बेलबारी बहुमुखी क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा विरहीले उक्त जानकारी गराएका हुन् ।

पछिल्लो समय भने आफूलाई अनुसन्धानकर्ताको परिचय दिलाउन सफल विरहीले विद्यार्थीहरूमा खोज तथा अनुसन्धानप्रति अभिप्रेरणा जगाउने उद्देश्यले अक्षयकोषको अवधारणा अघि सारेको बताए । उनले भने, ‘म विगत केही सालदेखि नियमित रूपमा अनुसन्धानका काम गर्दै आएको छु । धेरै महत्त्वपूर्ण हुँदाहुँदै पनि निकै जटिल र कठिन हुने भएकाले यस विधाप्रति धेरैको आकर्षण देखिँदैन । तसर्थ अनुसन्धानका काममा विद्यार्थीलाई अभिप्रेरणा जगाउन सकिन्छ कि भनेर मैले व्यक्तिगत तवरबाटै भए पनि एउटा सानो प्रयासको थालनी गरेको छु ।’

उनले यस क्रममा बेलबारीका अग्रज स्रष्टा, शैक्षिक व्यक्तित्व, पूर्व सांसद हर्कमान तामाङको जीवनीमूलक कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ नामक कृति प्रकाशित भएको, यही कृति बिक्री गरेर आएको पचास प्रतिशत रकमले बेलबारी बहुमुखी क्याम्पसमा एउटा अनुसन्धान अक्षयकोष खडा गर्ने र त्यसको ब्याजबाट प्राप्त हुने रकमले बेलबारीलाई अध्ययन गर्ने कम्तीमा एक जना विद्यार्थीलाई वार्षिक रूपमा पुरस्कृत गरिने बताए ।

बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले यो अभियान निकै महत्त्वपूर्ण भएको बताउँदै यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले कृतिको लोकार्पण फागुन ७ गते एक विशेष कार्यक्रमका साथ लोकार्पण गरिने पनि बताए ।
बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले यस कार्यले विद्यार्थीमा अनुसन्धानप्रति आकर्षण पैदा गर्ने बताउँदै एउटा महत्त्वपूर्ण कार्यको थालनी गरेकामा लेखकलाई बधाईसमेत दिए ।

नेपाली साहित्यका कथा, उपन्यास, गजल, बालकथा, अनुसन्धान तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका यस अघि नै ‘कहाली लाग्दा गोरेटाहरू’ (उपन्यास –सह लेखन) २०५६, ‘आमाको माया’ (उपन्यास) २०५७, ‘सुस्केरा(सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजलसङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंशावली) २०६५, ‘सुलोचना (कथासङ्ग्रह) २०७१, ‘रेस्माको सेन्डल’ बालकथासङ्ग्रह (२०७७) र ‘बेलबारीको साहित्यिक इतिहास’ (२०७९), ‘तेह्रथुमको साहित्यिक इतिहास’ (२०८००) जस्ता कृतिहरू बजारमा ल्याइसकेका छन् ।

आइतबार, २७ माघ, २०८१, रातीको ०८:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर