कोशी प्रदेशसभामा पीडितलाई क्षतिपूर्ति र किसानलाई मल दिन माग

विराटनगर । कोशी प्रदेशसभाका सांसदहरुले गत असोजमा आएको बाढीबाट पीडित बनेको जनतालाई राहत र क्षतिपूर्ति अझै नदिएको, भौतिक संरचनाको पुनःनिर्माण अगाडि नबढाएको भन्दै सरकारको आलोचना गरेका छन् । केही सांसदहरुले भने झापा, मोरङ र सुनसरीमा देखिएको हात्ती आतङ्क रोक्न पनि माग गरेका छन् ।

कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकमा शून्य समय लिएर बोल्दै सांसद मैया श्रेष्ठले पाँचथरमा बाढी पहिरोका कारण भएको भौतिक क्षतिको पुनःनिर्माणको काम नभएको बताइन् । ‘पाँचथरमा धेरै नागरिकहरु पीडामा छन् । राहतको पर्खाइमा बसेका नागरिकहरु अहिले पनि चिसोमा बस्न बाध्य छन् । दुःख पीडाको बेलामा नै सरकार चाहिने हो । अब ढिला नगरी नागरिकलाई सुरक्षित स्थानमा बासस्थानको व्यवस्था होस्,’ उनले भनिन्

पाँचथरकै सांसद कमलप्रसाद जबेगूले बाढीले पाँचथरमा ५ वटा पुल बगाएको भएपनि पुनःनिर्माणको काम अघि बढ्न नसकेको बताए । ‘विपद राहत कोषमा रकम संलकन भएको जानकारी पाएका थियौं । संकलन भएको रकम के कति पाँचथरमा पठाइयो ? त्यो कुन कार्यमा खर्च गर्ने हो ? जवाफ माग गर्दछु,’ उनले भने, ‘वर्षाको समय सुरु हुन लाग्यो । पुनः निर्माण, राहत र क्षतिपूर्तिबारे कहिले निर्णय हुन्छ ? कहिले निर्माण हुन्छ ? ।’

पाँचथरकै अर्का सांसद प्रेमराज थाम्सुहाङले पनि बाढी, पहिरोको कारण क्षतविक्षत बनेको पूर्वाधारको पुनः निर्माण कहिले हुन्छ भन्दै प्रश्न गरे । ‘क्षतविक्षत भएको पूर्वाधारको निर्माण कहिले सुरु गर्ने ? निजी घरहरु ध्वस्त भएको छ । यि घरहरु सरकारले निर्माण गर्छ कि गर्दैन ? किसानले खेती गर्ने खेतहरुको नामो निसाना छैन । खेतहरु बगर भएको छ । त्यस्तो अवस्था भोगेका किसानले राहत पाउँथ्यो कि पाउँदैन ?,’ उनले भने ।

झापाकी सांसद सविना बजगाईले भने बलात्कार मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका झापा विर्तामोडका पूर्वप्रमुख ध्रुवकुमार सिवाकोटीलाई अस्पतालमा राखिएको भन्दै विरोध गरिन् । ‘बलात्कारको कसुरजन्य आरोपमा पुर्पक्षमा थुनामा पठाइएका व्यक्तिलाई किन अस्पतालमा राखिएको छ ? जिल्ला अदालतबाट आएको आदेशहरुलाई यसरी नै पालना नगर्ने हो ? सानालाई ऐन ठूलालाई चैन हो ?,’ बजगाईले प्रश्न गरिन् । नेकपा एमालेका नेता रहेका अभियुक्त सिवाकोटी प्रहरी हिरासत र कारागार छलेर विरामीको बहानामा डेढ महिनादेखि अस्पतालमै छन् ।

मोरङकी सांसद शोभा चेम्जोङले मोरङमा हात्ती आतङ्कले वस्तीहरु त्रसित भएको बताइन् । ‘मोरङमा एक महिनामै तीन जनाको मृत्यु भएको छ । हात्ती धपाउन स्थानीयहरु रातभर जाग्राम बसेका छन् । तर, पनि हात्ती धपाउन सकेको अवस्था छैन,’ उनले भनिन्, ‘हात्तीले गरेको क्षतिको क्षतिपूर्ति, राहत दिनका लागि बिमा लगायतका कार्यक्रम ल्याउन माग गर्दछु । स्थायी रुपमा हात्ती धपाउन सुरक्षा दस्ता निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

झापाका सांसद तिलचन पाठकले पनि झापा, मोरङ र सुनसरीमा हात्ती आतङ्क रहेको बताए । ‘हात्ती आतङ्कले सर्वसाधरण त्रसित छन् । हात्ती खेदाउने नाममा चोरीका घटना बढेका छन् । बिहानी कक्षामा पढ्ने विद्यार्थी भयभित छन् । उचित समयमै नियन्त्रणको उपया खोज्न र पीडितलाई राहत र क्षतिपूर्तिको माग गर्दछु,’ उनले भने ।

मोरङका सांसद भीम पराजुली मल अभाव सुरु भएको बताए । सुनसरीका सांसद रामदेव यादवले सुनसरी, मोरङ र झापामा मकै खेती बढीरहेको भइपनि सिजनमा मल नभएको गुनासो गरे । ‘मलको अभाव छ । किसानलाई मल पुगेको छैन । कृषि ज्ञान केन्द्र, कृषि सामाग्री कम्पनीमा पनि मल छैन । डिएपी आउँदा युरिया छैन । युरिया आउँदा डिएपी हुँदैन,’ यादवले भने, ‘हामी लगानी सम्मेलन गर्ने भन्छौं । तर, मलको व्यवस्थापन गर्न सकिरहेका छैनौं ।’

सोलुखुम्बुका सांसद गोम्बु शेर्पाले प्रदेश सरकारले उपलब्ध गराउने भनेको प्राणघातक रोगहरुको स्वास्थ्य सहायता जनताले सात महिनासम्म नपाएको बताए । ‘बजेटमा भएको व्यवस्था अनुसार कार्यविधि नबन्दा उनीहरुले सहुलियत पाउन सकेका छैनन् । सात महिनासम्ममा पनि किन कार्यविधि नबनेको हो । धेरै नागरिकहरु उपचार सहायता नपाएर ज्यान गुमाउन बाध्य छन् । यसको जिम्मेवार को हो ? प्रदेश सरकार जवाफदेही हुनुपर्छ कि पर्दैन ?,’ उनले प्रश्न गरे ।

मङ्गलबार, ०८ माघ, २०८१, रातीको ०९:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर