तित्रा विराटनगरका ‘फेलियर’ १४ योजना

 कुमार लुइँटेल

तित्रा फासिएनिडा परिवारमा पर्ने चराको एक प्रजाति हो । छिरबिरे रातो रङको यो चरा सानो हुन्छ । ‘तित्राको मुखै बैरी’ भन्ने उखान प्रसिद्ध छ । आवाजबारे नेपाली जनजिब्रोमा विभिन्न उखान तुक्का झुन्डिएका छन् । यसको आवाज धेरैले मन पराउँदैनन् । यसले एक पटकमा २४ वटासम्म फूल पार्छ । खरमा मात्र गुँड बनाउँछ ।

तित्राको बोलीसँग विराटनगरे चरित्र ठ्याक्कै मेल खान्छ । आफ्नो विकास आफैं गर्ने खाका कोर्ने तर पूरा गर्न नसक्ने । आफंै लत्याउने अनि भएन भन्दै कराउने मात्र । विराटनगरका १४ वटा विशेष महत्वका योजना जसले यो ठाउँको मुहार फेर्न सक्थे ती अब विस्मृत भइसके । नयाँ पुस्तालाई त जानकारी नहुन पनि सक्छ । जबकी विराटनगरले नै ती योजनाको खाका आफै कोर्यो । घोषणा पत्र बनायो । अरुलाई पनि सुनायो । तर, ती कहिल्यै सार्थक बनेनन् । विराटनगरका नेता, सामाजिक अभियान्ता, उद्योगी व्यावसायी अझै कराउन छाडेका छैनन् । तिनै ‘फेलियर’ योजनाका विषयमा ।

कुरा हो, वि.सं २०६७ सालको । उद्योगी व्यवसायी र सामाजिक अभियान्ता, नेतासमेत लामलस्कर लागेर एउटा कार्यक्रम गरे । दस्ताबेज तयार भयो । त्यसलाई नाम दिए विराटनगर घोषणा पत्र । ती विकासे परियोजनाको नाम ठूलाठूला अक्षरमा लेखियो । हस्ताक्षर गर्नेहरुमध्ये कति त स्वर्गबास नै भइसके । केहीको विस्मरणमा पर्यो । तर, बाँकी रहेका कतिपयले अहिले पनि हल्लाखल्ला गर्न छाडेका छैनन् । तर, नेतृत्वमा पुगेका हस्ताक्षरकर्ताले समेत ती योजनाको कार्यान्वयनमा ध्यान दिएका छैनन् । बरु सार्वजनिक कार्यक्रममा हल्लाखल्ला गरेर अरुमाथि दोष थोपर्न छाडेका छैनन् ।

विराटनगर बनाउने एउटा योजना विशेष आर्थिक क्षेत्र थियो । त्यसबारे केही तित्राहरु सार्वजनिक फोरममा अहिले पनि फलाक्छन् तर पूरा गराउन पहल गर्दैनन् । विराट राजाको दरबार क्षेत्र संरक्षणको कामअन्तर्गत पर्खाल लगाउने कामबाहेक केही हुन सकेको छैन । एउटा संग्राहलय बन्यो त्यसमा अहिले माकुराले जालो लगाएको छ । यो १४ वर्षमा भेडियारीमा एकीकृत भन्सार जाँच विन्दुचाहिँ बन्यो । विराटनगर चक्रपथ तथा वाइपास सडक वर्षौंदेखि अलपत्र छ । विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा वृद्धि गर्ने योजना तुहिएको धेरै भइसक्यो । मुआब्जा माग गरेर वर्षौं जग्गा रोक्का भएका स्थानीयको जग्गाको कारोबार फुक्का भएको छ तर विमानस्थल तीन हजार मिटर रनवेको बन्न सकेको छैन ।

प्राविधिक विकास र हस्तान्तरणका लागि प्रौद्योगिक विश्वविद्यालय विकास तथा व्यावसायिक शिक्षा प्रवद्र्धनको काम हुन सकेको छैन । पर्यटन विकासका लागि जिल्ला गुरु योजना कार्यान्वयनमा पनि खासै काम हुन सकेको छैन । एग्रो कृषि लिंकेज त धेरैले बिर्सेका छन् । अन्तर्राष्ट्रिय स्तरको स्टेडियममा खेलकुद गतिविधि हुने आशमा विराटनगरबासी बसेको धेरै समय भइसक्यो । पछिल्लो पटक एउटा सहिद रंगशालामा फ्लडलाइट जडान भएपछि त्यसले नाक बचाइदिएको छ । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलबारे उद्योगी व्यावसायीले गीत गाउन छाडेका छैनन् । तर, बन्ने टुंगो छैन । पुरानो हवाइ फिल्ड र विशाल गु्रपको जग्गामा एक्स्पो गर्नुपर्ने बाध्यता यद्यपि छँदैछ । विशाल ग्रुपले त यो पटकदेखि त्यही जग्गा प्लटिङ गरिदिएपछि आयोजकको मेख नै मरेको छ ।

जोगबनी सिंहबाद (भारत)–रोहनपुर (बंगलादेश) मार्गबाट रेलमार्फत बस्तु ढुवानी कहिले हुने हो टुंगो छैन । विराटनगर भन्सार क्षेत्रमा अध्यागमन कार्यालय संचालन गर्ने विषयमा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले हरेकजसो भाषणमा गर्दै आएका छन् । तर, त्यो पनि विश्वासयोग्य छैन् ।अन्यत्र ग्रामीण भेग हुँदा सय वर्षअघि नै विराटनगर विकसित नगर थियो भनेर धक्कु लगाउनेहरुले नयाँ विराटनगरमा नयाँ के भेटेका छन् घाम जस्तै छर्लङ छ । घण्टाघरको शिलान्यास धेरैअघि तत्कालीन नगर प्रमुख रमेशचन्द्र पौडेलले गरेका थिए । जिल्ला प्रशासन कार्यालय अगाडि घण्टाघर बनाउने भनेर निक्कै तामझामसाथ तयारी गरियो । केही पिलरका रड ठड्याइयो तर पछि तिनलाई बंग्याएर काटकुट गरियो । प्रशासन कार्यालय अगाडि व्यावसायी र एउटा संस्थाले आफैं लागेर बरपिपलका रुख ढाले । घण्टाघर बनाइने भनेको ठाउँमा अहिले आलुचप र चिया पसलका सर्टर छन् । भाडा राम्रै उठ्दो हो ।

खासमा विराटनगर बनाउने योजना असल नियतले बन्नै सकेनन् त्यही भएर पूरा भएनन् । धेरै दीर्घकालीन योजना विस्मृत बन्दै गएका छन् । यो गणतन्त्रका बेला काम लाग्ने र भावि पुस्ताले सम्झन सक्ने विकासका योजना पूरा हुन्छन् कि अझै वर्षौं विराटनगरबासीले तित्रा जस्तै कराइरहन पर्ने हो टुंगो छैन ।

बुधबार, ०२ माघ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर