बर्खाको भेल खदरामा नमिसाऔं

  गणेश लम्साल

विराटनगरबाट प्रकाशित हाम्रो मत दैनिकमा आइतवार प्रकाशित एउटा समाचारले सबैको ध्यानाकर्षण गरेको छ । ‘खदरामा पानी मिसाउने तयारीको विरोध’ शीर्षकको उक्त समाचार अनुसार मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर १ को टंकी चोक पूर्व–उत्तरतर्फबाट बर्खामा बगेर आपउने भेललाई केही व्यापारी तथा जमिन्दारहरुको योजनामा खदरामा मिसाएर सिंघिया खोलामा लैजाने प्रपन्च रचिएको घटना सार्वजनिक भएको छ । त्यसका लागि उनीहरुले सुटुक्क उपभोक्ता समिति निर्माण गरेर २ किलोमिटर पूर्वमा रहेको खदरा खोलामा उक्त भेल मिसाउने योजना बनाएका छन् ।

यस कार्यमा बुढीगंगा १ को वडा कार्यालयले केही जग्गाधनीहरुसमेतको मिलेमतोमा योजना अगाडि सारेको स्थानीयको बुझाइ छ । त्यसैले उनले सुटुक्क उपभोक्ता समिति बनाए र त्यस वडामा रहेका ठूला उद्योगहरुसँग रकम लिएर उक्त योजना अगाडि सारे भन्ने आशंका स्थानीयले गरिरहेका छन् । उनीहरुले केही ठूला उद्योगहरुसँग लिएको आर्थिक सहयोगबाट निजी जग्गासमेत प्रयोग गरी ह्युमपाइप राखेर त्यहाँको पानी खदरासम्म पु¥याउने र सिंघियामा मिसाउने योजनामा सहभागी भएको बुझाइ स्थानीयको छ । अहिले त्यो योजनामा निर्माणको काम सुरु भएको छ ।

उत्तरतर्फबाट जम्मा भएर बर्खामा बग्ने पानी जमेर त्यहाँका केही जमिन्दारहरुको खेतमा लामो समयसम्म डुबान हुने गर्दछ । त्यही खेतमा जम्ने र बर्खामा त्यसभन्दा तलतिरका उद्योगहरुमा पुग्ने पानी उनीहरुले रोक्न खोजेका हुन् । उद्योगीहरुले पनि त्यसकै लागि रकम खर्चेका हुन् ।

बर्खाको पानीलाई यसरी कुनै अध्यन, अनुसन्धान र विस्तृत परियोजना प्रतिवेदन तयार नगरी अनि त्यसबाट हुने वातावरणीय प्रभावको मूल्यांकन नगरी काम सुरु गर्नु स्थानीय जनताको हितविपरीत छ । त्यसैले उक्त योजनाको विरुद्धमा स्थानीयहरु आन्दोलित बनेका छन् । उनीहरुले आइतबार एकलौटी रुपमा जग्गाधनीहरुको हितविपरीत हुने काम रोक्न माग गर्दै बुढीगंगा १ लाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र मार्फत जबरजस्ती उक्त कार्यलाई निरन्तरता दिएमा आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन् ।

जानकार तथा भुक्तभोगीहरुका अनुसार टंकीचोक पूर्वोत्तरबाट बगेर आउने पानी खदरामा मिसाउँदा खदरा वरिपरिको बस्ती तथा जमिन कटान भई क्षति पुग्ने र सिंघिया तटमा बसोबास गर्नेहरु थप डुबान र बाढीको जोखिममा पर्ने भएकोले अध्ययन नगरी यस कार्यलाई बढाउन नहुनेमा सहमत छन् । त्यसको असर बुढीगंगा १ का अतिरिक्त विराटनगर १, २, ७ र ८ नम्बर वडामासमेत पर्ने भएकोले विराटनगरबासीहरु पनि यसबाट प्रभावित हुनेछन् । त्यसैले पानी जुन बाटो भएर प्राकृतिक रुपमा बग्दैछ त्यतै बग्न दिनु पर्छ । त्यसलाई अन्यत्र डाइभर्सन गर्ने हो भने विस्तृत अध्ययन अनुसन्धान र त्यसको असर मूल्यांकन गरेर स्थानीयलाई साथमा लिएर मात्र योजना अगाडि बढाइनु पर्दछ ।

जानकारहरुका अनुसार बुढीगंगा १ करैया बस्तीमा रहेको खदरा खोला साँधुरो भएकोले हरेक वर्ष बाढीले भरिने गरेको छ । त्यसमा पनि टंकीको भेल मिसाइयो भने त्यस खदरामा कटान बढ्ने र त्यहाँको बस्ती जोखिममा पर्ने भय स्थानीयलाई हुनु स्वभाविक छ । खदरा गहिरो रहेकोले बर्खामा भरिएर सिंघिया खोला आउँदा खदरामा विशाल ताल बन्ने गरेको छ । त्यो अवस्था अझ भयावह हुने त्रास स्थानीयलाई छ । त्यसको समाधान नखोजी अहिले सुरु गरिएको योजना अगाडि बढाउन नहुने स्थानीयको मतलाई गाउँपालिकाले सुन्नुपर्छ र जबरजस्ती गर्न हुँदैन ।

त्यसमाथि पनि सडक मार्ग नभएर निजी जग्गामार्फत सुटुक्क ढलनाला निर्माण गर्न खोज्नुले अरु विकल्पहरु खोजी गर्न वडा कार्यालयले नचाहेकै देखिन्छ । त्यसप्रति सबैको चासो र खबरदारी आवश्यक छ । यो साझा समस्या हो । मिलेर मात्र समाधान हुनसक्छ । यो खदराबासीको मात्र होइन बुढीगंगा र विराटनगरबासी अनि सरकारको समेत साझा समस्या भएकोले सबै मिलेर यसको समाधान खोजौं । भोलि आउने विपद्को भागिदार स्थानीय त हुने नै छन् त्यसको दायित्व र आलोचनाको भागिदारी सरकार, स्थानीय जनप्रतिनिधि सबै हुनेछन् । त्यसेले यतिबेला आफूले आफैंलाई सोधौं, ‘पोहोर मरिन् सासू अहिले आयो आँशु’को अवस्था कसैले ब्यहोर्न नपरोस् ।

सोमबार, २२ पुष, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर