विराटनगर । नेकपा एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेपछि भीम रावल देश दौडाहामा निस्केका छन् । शनिबार कोशी प्रदेशमा आइपुगेका नेता रावलले विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै एमालेका नेताहरूले पनि केपी ओलीको ठट्टा र उखान टुक्का सबैले सिकिसकेको आरोप लगाए ।
केही दिन अगाडि कारबाही गरेपछि ओलीविरुद्ध पूर्व उपाध्यक्ष रावलले आरोपको वर्षा गराएका थिए । नेता रावले एमालेका नेताहरूलाई प्रश्न गर्दै भने माथिल्लो कर्णाली १० वर्षसम्म एउटा कम्पनीलाई ओगट्न दिएर ४ अर्ब हर्जाना तिराउनु पर्नेमा घुँडा टेकेर अर्काे महाकालीको झल्को किन दिनुभयो भन्ने प्रश्न गरेको बताए ।
रावलको आरोप प्रचण्डको आरोपको फोटोकपी भएको भन्दै एमालेले गरेको टिप्पणीको विषयमा रावलले कांग्रेससँग मिलेर तपाईंको सिद्धान्त खोइ ? बालकोट बाहिर बरन्डामा आएर प्रचण्डसँग दाँत देखाएर रातारात साठगाँठ गर्नुभएको थियो भनेर प्रचण्डले भनेका थिए भन्ने प्रश्न गरे । उनले सत्यमा आधारित भएर आफूले कुरा राखेको र त्यसको खण्डन गर्न नसकेपछि लुरे तर्क गरेको बताए ।
पार्टी स्थापनको स्मरण गर्दै एमालेको माक्र्सवाद लेनिनवादको कुनै रङ्ग नभएको पनि आरोप रावलले लगाए । उनले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै भने ‘उहाँको एउटै मूलमन्त्र छ त्यो भनेको बा माले हो । बामाले भनेको बा को मात्र नाम लिने अर्काे जसरी हुन्छ पद लेउ जब कि एमाले भन्ने पार्टीले त्यो सोचेको थिएन ।’
पहिलाको एमालेको रङ्ग खुइलिएर बामालेमा परिणत भएको रावलले बताए । त्यसको शीर्ष स्थानमा बसेर धाकधम्की, सत्ताको खेलोमेलो गर्ने काम अहिले केपी ओलीको भएको उनको आरोप छ ।
उनले एमाले, कांग्रेस, महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी, सिके राउतको पार्टीलाई खिचडीको संज्ञा दिएका छन् । सबैलाई मिलाएर लैजान्छु भन्दै हुनुहुन्छ तपाईंले खोल्ने पार्टी खिचडी जस्तो भएन ? सबै दलका नेता कार्यकर्तालाई अटाउने भन्दा भाले न पोथीको अवस्था आउँदैन भन्ने प्रश्नमा नेता रावलले भाले पोथीको नमुना केपी ओली भएको बताए ।
जनतासँग गएर सबैका कुरा सुनेर मात्रै दल दर्ता गर्ने रावलले बताएका छन् । झापाको सुखानी काण्डलाई सम्झँदै उनले देशमा परिवर्तन गर्नका लागि पूर्वका जनताले साथ दिएको उनले बताए ।