स्थानीय तहको उपनिर्वाचनको मतदान हुदै

विराटनगर । स्थानीय तहका ४१ स्थानमा आज (आइतबार) उपनिर्वाचन सुरु भएको छ ।

सबै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । दुई जिल्ला समन्वय प्रमुख र एक वडाध्यक्ष यसअघि नै सर्वसम्मत रूपमा निर्वाचित भइसकेका छन् ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा परिचयपत्र वा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, दोलखाको गौरीशंकर, रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक–खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । निर्वाचन हुने अन्य स्थानहरु वडा अध्यक्षको लागि हो ।

कोशी प्रदेशका ८ स्थानमा निर्वाचन हुँदैछ । जसमा ग्रामथान गाउँपालिका अध्यक्षसहित ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा निर्वाचन हुँदैछ ।

आयोगका अनुसार देशभर विभिन्न २० राजनीतिक दल र स्वतन्त्रसहित उपनिर्वाचनमा ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । यसअघि जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई र कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भुल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगंगा गाउँपालिका–२ मा नेकपा (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

उपनिर्वाचनका लागि उम्मेदवारहरुले मंसिर २ गते मनोनयनपत्र दर्ता गराएका थिए । मतदान कार्य सम्पन्न भइसकेपछि मतपेटिका संकलन गरिने र लगत्तै मतगणना सुरु हुने आयोगले जनाएको छ । मतगणनाको अद्याबधिक विवरण निर्वाचन आयोगको वेवसाइटमा सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

यसैबीच निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ । मतदाताले मतदान केन्द्रमा आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै उम्मेदवारको चिह्न भएको कोठामा स्वस्तिक छापले मत सङ्केत गर्नुपर्छ ।
मतपत्र च्यातिएमा, मतदान अधिकृतको हस्ताक्षर नभएमा, दुई वटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मत सङ्केत गरेमा, स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा, निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत सङ्केत गरेमा वा मतपत्रमा स्वस्तिक छाप बाहेक औँठा छाप, हस्ताक्षर आदिले मत सङ्केत गरेमा मत बदर हुने आयोगले जनाएको छ ।

आइतबार, १६ मंसिर, २०८१, बिहानको ०५:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर