रेफ्रिको कमजोरीले उत्पन्न तनाबबीच नेपालले निकालेको जीत

विराटनगर । आइतबार साँझ काठमाडौंको दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गतको खेलमा तनाबबीच नेपालले भारतलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

रेफ्रिको गलत निर्णयको कारण उत्पन्न तनाबले दुई पटक रोकिएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । नेपालले उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ ।

निर्धारित खेल साढे ८ बजेभित्र सकिनुपर्थ्यो । साढे ६ बजेदेखि सुरु भएको पौने १० बजेतिर मात्रै सकिएको थियो । रेफ्रीका केही ‘अपरिपक्व’ निर्णयका कारण खेल केही समय तनावग्रस्तसमेत बनेको थियो ।

रेफ्री तथा अफिसियलले सहि निर्णय गर्न नसक्दा लामो समय खेल मैदानमा अन्योलसमेत भएको थियो । दुई टिमबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले केही अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा खेल गोलरहित अवस्थामा थियो ।

दोस्रो हाफको सुरुआतमै नेपाली खेलाडी रेखा पौडेललाई रेफ्रीले रातो कार्ड दिएपछि मैदान तनाबग्रस्त भएको थियो । खेलको ५० औं मिनेटमा सहायक रेफ्री छोडेन छिरिङले रेखाले भारतकी चोन्कीलाई फल गरेको भन्दै झन्डा उठाएकी थिइन् । जबकि, रेखाले चोन्कीसँग बल खोस्न जुझेकी थिइन् । भिडिओ रिप्लेमा रेखाले भारतीय खेलाडीलाई छोएको देखिँदैन। उनी बल प्रहार गर्ने क्रममा लडेको भएपनि सहायक रेफ्रीले फलको इसारा गरेपछि उनले रातो कार्ड पाइन् ।

मुख्य रेफ्री ओम चोकीले रेखालाई दोस्रो पहिलो कार्डसँगै रातो कार्ड देखाएपछि रेखा खेलबाट बाहिरिनु पर्‍यो । दर्शक र अन्य खेल जानकारहरुका अनुसार पनि रेखाको फल थिएन । रेखा र अन्य खेलाडीले प्रोटेष्ट गर्ने कोसिस गरे पनि रेफ्रीले कुनै सङ्केत गरिनन् । त्यसपछि केहि दर्शक केही आक्रोशित भए र मैदानमा बोतल प्रहार गरेपछि खेल केही समय रोकिएको थियो ।

रोकिएको १० मिनेटपछि खेल पुनः सुरु भयो । नेपाल १० खेलाडीमा सीमित भएको थियो । भारतले खेलमा ७१औँ मिनेटमा गोल गर्दै अग्रता लियो । उक्त गोलमा भारतले लामो समय सेलिब्रेसन लिएपछि रेफ्री ओम चोकीले नेपाललाई बल चलाउन सङ्केत गरिन् । रेफ्रीको सङ्केतपछि बल चलाएको नेपालका लागि प्रीति राईले केही सेकेन्डमै गोल गरिन् ।

सेलिब्रेसनमा व्यस्त भारतीय गोलकिपर प्रीतिको बल भेट्टाउन सकिनन् । सुरुमा रेफ्रीले प्रीतिको उक्त प्रहारलाई गोलको मान्यता दिइन् । तर, भारतीय खेलाडी, प्रशिक्षक, व्यवस्थापकले उक्त गोलविरुद्ध प्रोटेष्ट गरेपछि रेफ्री चोकीले भारतको प्रोटेष्टसामु निर्णय परिवर्तन गरिन् र नेपालको उक्त प्रहारलाई गोलको मान्यता दिन अस्वीकार गरिन् ।

रेफ्री चोकीले पहिला आफैले गेम प्लेको सङ्केत गरिन् र पछि आफैले गोल नभएको सङ्केत गर्दा खेलाडी र समर्थकमा झनै असन्तुष्टि बढेको थियो । नेपाली खेलाडी र समर्थक आक्रोशित बनेपछि पुनः खेल एक घण्टाभन्दा बढी समय रोकिएको थियो । रेफ्रीले गलत निर्णय गरेको भन्दै नेपाली खेलाडीले मैदान प्रवेश गर्न अस्वीकार गरे ।

खेलाडी, अफिसियल, प्रशिक्षक व्यवस्थापकको छलफलपछि एक घण्टापछि पुनः खेल सुचारु भयो । सुरु भएको एक मिनेटभित्रै सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गर्दै नेपाललाई बराबरीमा फर्काइन् । त्यसपछि निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा भारतलाई ४–२ ले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गर्न सफल भयो ।

भारतको पहिलो र चौथो प्रयास विफल भएको थियो । नेपालका सवित्रासहित गीता राना मगर, सविता राना मगर र अमिषा कार्कीले गोल गर्दा भारतका कप्तान असलता देवी र चानुको प्रहार असफल भएको थियो । भारतलाई हराउँदै फाइनल पुगेको नेपालले उपाधिका लागि बङ्गलादेशसँग खेल्नेछ ।

साफमा ५ पटक उपविजेता बनेको नेपाललाई घरेलु मैदानमा बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक उपाधि जित्दै इतिहास जित्ने अवसर छ ।

यो खेलमा केही विवादास्पद घटना भए । खेलाडी र अधिकारीहरूलाई नियन्त्रणमा लिन नसक्दा खेल रेफ्रीको हातबाट खुस्किएको थियो । नेपालकी रेखा पौडेलले विपक्षी खेलाडीलाई नछोएको अवस्थामा पनि कार्ड पाइन् । नेपालले गरेको गोललाई सुरूमा मान्यता दिनु र पछि अस्वीकार गर्नुले रेफ्रीमाथि दबाब बढेको देखिन्थ्यो ।

खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकको ओइरो लागेको थियो । १४ हजार दर्शक क्षमताको रंगशालाका सबै टिकट बिक्री भएका थिए ।

नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रोपटक प्रतिस्पर्धा भएको हो । सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो । त्यतिबेला नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

सोमबार, १२ कार्तिक, २०८१, बिहानको ११:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर