सरकार भएको अनुभूति त गराउ सरकार !

 विमल लामिछाने

यतिबेला मनसुनजन्य विपत्मा परेर सयौँको ज्यान गएको छ । दसैँतिहार र छठ जस्ता ठुला चाडको नजिक मुलुकभर प्राकृतिक विपत्ति आइलागेको छ  । बाढीपहिरोले सडक, जताततै पहिरो चलेको छ । धैरै पुलपुलेसा बगाएको छ, उत्तिकै मात्रामा पशुचौपाया मरेका छन् । खेतबारीमा लगाएको अन्नबाली नष्ट भएको छ । निजी घर, विद्यालय, अस्पताललगायतको क्षति यकिन गर्न सकिने अवस्था छैन ।

जति नै सतर्कता र सुरक्षा संयन्त्र परिचालन गरिएको भए पनि मुलुकभर एकसाथ भएको वर्षाका कारण जनधनको क्षति अकल्पनीय हुन पुगेको छ । यस्तोबेला सबैको साथ र सहयोगको अपरिहार्य हुन्छ । तर राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न र सडकखण्ड यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था मिलाउन र विपदको बेला यातायात सहज बनाउनुको साटो कहिले भाडादर बढाउने कहिले हवाइ भाडा बढाउने जस्ता कार्य गर्नु निन्दनीय छ ।

यतिवेला प्राकृतिक प्रकोपहरूले समुदायमा ठूलो धक्का दिएको छ । हिँउँद लागेपछि आएको वर्षा बाढी, पहिरोको सामना गर्नुपरिरहेको छ । यस्ता प्राकृतिक प्रकोपबाट सृजित जोखिमहरुलाई विपद भनिन्छ । नेपालमा बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलहर, भूकम्प आदि प्रकोप प्रायः प्रत्येक वर्ष आउछ र यसले ठूलो परिमाणको मानवीय, भौतिक एवं विभिन्न क्षति पुर्याइरहेको छ । यस्ता प्रकोपबाट वर्षेनी हजारौंलाई प्रभावित, घरबारविहीन बनाउँदै आएको छ । बर्षेनि हुने यस्ता विपत्तिबाट पाठ नसिक्नु, पर्याप्त पूर्वतयारी नगर्नु, विपतको सामना गर्न तयारी अवस्थामा नबस्नु र उचित स्रोत साधनको ब्यवस्था गर्न नसक्नु जिम्मेवार तह एवं निकायको ठूलो भूल रहेको देखिन्छ ।

यस्ता प्राकृतिक विपत्ति आकस्मिकता भए पनि दीर्घकालीन रूपमा समस्याको समाधान नखोजिँदा वर्षेपिच्छे एउटै समस्याबाट पीडित भइरहेका छौं । हिउँदको वर्षा होस् या वर्षयामसँगै हिमाली र पहाडी क्षेत्रमा सुरू हुने पहिरो र तराई मधेशमा हुने बाढीको समस्या आजको मात्र होइन ।
प्राकृतिक समस्या पूर्व सूचना दिएर आउँदैन तर यसबाट हुने अनपेक्षित परिणाम आउनु नै संकट हो । तराईमा प्रत्येक वर्ष बाढी र आगजनीले जीवन तथा भौतिक क्षति गर्छ भन्ने सर्वविदितै छ ।यस वर्ष पनि वर्षायाम सकिएर हिउँद लागेपछि पनि निरन्तरको वर्षासँगै आएको बाढीले धेरै धनजनको क्षति पुराएको हाम्रो सामु जगजाहेर छ । यस वर्ष मधेशमा बाढीको प्रकोप विगतका वर्षहरूमा भन्दा अझ भयावह देखियो । पहाडमा पनि धेरै बर्षात् र बाढीका कारण पहिरोले घरगोठ बगाएको, घर बगाउदा धेरै मानिसको ज्यानै गएको छ । जताततै पहिरोको बितन्डा छ, त्रासमा मान्छे बाँच्नुपरेको छ ।धान उत्पादनको यो समयमा सम्पूर्ण मधेश बाढीले आक्रान्त भएको छ । बाढीले मधेशका जनताको गाँस त खोस्यो नै कृषि उत्पादनहरु पनि नष्ट गरेको छ । निरन्तर निर्यात भन्दा आयात बढी भइरहेको हाम्रो देशमा यो वर्षको बाढीले अझ बढी प्रभाव पार्ने देखिन्छ ।

विपत्तमा परेका जनतालाई सवैको सहयोग र साथको आवश्यक छ । सवै प्रकारको प्रकोपबाट जोगिन जोखिम न्यूनिकरणको उचित ब्यवस्थापन हुन जरूरी छ । सरकार, गैरसरकारी संस्था, निजीक्षेत्र, विभिन्न सञ्चारका हस्तीहरू, नागरिक समाज, राजनीतिक दल, कर्मचारी एवं सुरक्षाकर्मी सवै विपद न्युनीकरणमा एकजुट भै सकारात्मक योगदान पुराउनु आजको आवश्यकता रहेको छ । यस्ता प्राकृतिक प्रकोपबाट जोगिन र ठूलो क्षति हुनबाट जोगाउन उचित पूर्व तयारी ब्यवस्थापन गर्न जरूरी छ ।

सरकारले घरबासविहीनलाई अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने, सडक, खानेपानी, विद्युतलगायत यथाशीघ्र सञ्चालन गरी सेवा प्रवाहमा छिटो प्रक्रियाबाट आवश्यक व्यवस्थापकीय कार्य गर्ने निर्णय गरेको छ । तथापि कार्यान्वयन फितलो छ । सरकारले सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल आवागमन खुलाउने कार्यलाई प्राथमिकतामा राख्नुपर्छ । यतिबेला यातायात सहजीकरणको अझ तदारुकता आवश्यक छ ।
आउँदै गरेका चाडपर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा दैनिक उपभोग्य सामान सुपथ मूल्यमा आपूर्ति गर्न व्यवस्था मिलाउन सक्नुपर्छ । अरु केही नसकेपनि विपतमा परेकालाई सरकार भएको अनुभूतिसम्म चाहिँ गराउ सरकार ।

बिहिबार, १७ असोज, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर