गणेश लम्साल
पुराणहरूमा उल्लेख भए अनुसार देउताका राजा देवराज ईन्द्रलाई ब्रह्महत्याको पाप लागेछ । पापमुक्त गर्न पापलाई चार भाग लगाइएछ । त्यसमध्ये एक भाग नारीहरूको मासिक रक्तमा प्रवेश गराइएछ । त्यसैले रजस्वला भएको चार दिनसम्म महिलाहरु अशुद्ध हुने र त्यस अवधिमा जानअन्जान भएको पापबाट मुक्ति पाउन ऋषिपञ्चमीको व्रत सुरु गरिएको कथन रहेछ ।
अर्को पौराणिक कथाअनुसार राजा ईन्द्रले ऋषिपुत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड व्यहोर्नु परेछ । त्यो पापलाई धुँवामिश्रित प्रथम अग्निज्वाला, वर्षाको हिलो पानी, हिमालयका वृक्षहरु र स्त्रीहरुको मासिक धर्ममा विभाजित गरिएछ । महिनावारीको समयमा अलग्गै बस्नु पर्दा जानअन्जानमा लागेको छुवाछुतको पापबाट छुटकारा पाउन यो व्रत गर्नुपर्ने नियम चलाइएको रहेछ ।
स्त्रीरोग विशेषज्ञहरुका अनुसार यो महिलाको गर्भाशयबाट योनीमार्ग हुँदै रगत निष्कासन हुने नियमित प्रक्रिया हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू भएर ४५ देखि ५५ वर्षसम्म रहने गर्दछ । वैज्ञानिक मान्यताअनुसार रजस्वलाबाट नै नारीहरूमा सन्तान उत्पादन गर्नसक्ने शक्ति उत्पन्न भएको मानिन्छ । सम्पूर्ण मानवीय चक्रको सुरूआत नै नारीको मासिक रजस्वलाबाट हुने गर्दछ । जुन महिलाहरुको स्वास्थ्यका लागि जैविक आवश्यक प्रकृया पनि हो ।
तर, हाम्रो शिक्षित समुदायमासमेत महिनावारीको बेला हुने छुवाछुत कायमै छ । गाउँ, सहर, एकल तथा संयुक्त परिवारमा यो प्रथा यद्यपि कायम छ । धर्म, संस्कृति र पाप आदिको नाममा कायम रहेको यो प्रथाले रजश्वला भएको बेलामा अलगै बस्नु पर्ने, उनलाई छुन नहुने र छोएको खान नहुने चलन छ । महिनावारीका चार दिन भान्साघर, मन्दिर, विद्यालय, धार्मिक र महत्वपूर्ण समारोहहरूमा महिलाहरुको प्रवेशलाई बर्जित गरिएको छ । उनीहरुको स्वास्थ्यलाई गर्नुपर्ने रेखदेख र खानपानलाई ध्यान नदिई स्वास्थ्य संवेदनशीलताको अवज्ञा गरिएको छ ।महिनावारीको बेला ठाउँ, जात, धर्म र संस्कृतिअनुसार महिलाहरुमाथि फरक फरक प्रकारले छुवाछुत गर्ने गरिएको छ । केही समुदायमाभने यो समयमा कुनै छुवाछुत नै गरिदैन । तर, हिन्दु धर्ममान्ने जातिहरुमा भने समय एक्काइसौ शताब्दिमा आइपुगे पनिम हिनावारीको बेला छुवाछुत बार्ने चलन कायमै छ ।
केही वर्षअघिसम्म महिलाहरुलाई महिनावारीको बेला सार्वजनिक पेशामा सहभागी हुनसमेत बर्जित थियो । अझै पनि कतिपय ठाउँमा काम गर्ने महिलाहरुमाथि महिनावारी भएको बेलामा विभेद हुने गरेको छ । हुन त महिनावारीलाई हेर्ने दृष्टिकोण संस्कृति र धार्मिक रूपले मात्र नभएर पुस्ताका हिसाबले पनि फरक पर्न थालिसकेको छ । धेरै शिक्षित घरपरिवारले महिनावारीको छुवाछुतलाई हटाउँदै लगेका छन् । कतिपयले भने यो ठिकै र जायज परम्परा हो भन्दै नियरन्तरता दिइरहेका छन् । त्यसले समाजलाई लैङ्गिकविभेद मुक्त बनाउन बाधा गरिरहेको छ ।
पौराणिक कालदेखि चलिआएको यो चलनलाई आधुनिक समयमा विश्लेषण गर्दा चार दिन छुन नहुने चलन छुवाछुतका लागि नभएर महिलाको सर्वोत्तम हितलाई ध्यानमा राखेर चलाएकै मान्न सकिन्छ । यो अवधिमा पुरुषहरु आशक्त नहुन् भनेर पर राख्न खोजिएको मान्न सकिन्छ । श्रृङ्गार नगर्ने, तामसी भोजन नगर्ने, भारी काम नगर्ने आदि प्रचलन महिला स्वास्थ्यको हिसाबले पनि गलत छैन । त्यसको अर्थ छुनै नहुने होइन । संवेदनशील समयमा शारीरिक अवस्था कमजोर हुने, नारीको कमजोर शारीरिक अवस्थाले सृष्टि कमजोर हुन्छ भनेर भनिएको मान्न सकिन्छ । किनभने त्यसबेला महिलालाई मानिस नै ठानिदैनथ्यो । उनीहरुलाई श्रम विभाजन गरेर कडा काम गराइन्थ्यो । त्यसैले अलग्गै बस्ने प्रथा चलाइएको अनुमान गर्न सकिन्छ । तर, महिनावारीको बेला भलाइका लागि बनाइएका नियमहरु पछि पितृसत्ताले धर्मशास्त्रको बर्को ओढाइदिएर आडम्बर र अन्धविश्वासी संस्कार बसाइदिए पछि छुवाछुतको सुरुवात भयो र जुन रुढीवादी कुरीतिको रुपमा विद्यमान छ । हिजोआज महिलाहरु शिक्षितमात्र नभएर स्वतन्त्र पनि भइसकेका छन् । उनीहरुलाई आफ्नो शरीरको सरसफाई र स्वास्थ्यको बारेमा पूर्ण ज्ञान छ । यसैले महिनावारीको बेला छुवाछुतलाई मानिरहनु पर्नै कुनै कारण छैन । आमा बन्ने प्रक्रिया कुनै अर्थमा अछुत हुन सक्दैन ।
सन २०१९ डिसेम्बर ८ देखि मनाउन थालिएको अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसले विश्वव्यापी रूपमा मान्यता प्राप्त गरिसकेको छ । नेपालले पनि ‘लैंगिक हिंसा र बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिसकेको छ । नोपलमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँगै ‘मर्यादित महिनावारी दिवस’ पनि मनाउने गरिएको छ ।अन्तर्राष्ट्रिय मान्यताअनुसार मर्यादित महिनावारी भनेको मानवअधिकारको समग्र प्रवद्र्धन, यौन तथा प्रजनन स्वास्थ्यको सुधार र लैंगिक हिंसाको रोकथामका लागि महिनावारीका बेलाहुने भेदभाव सम्बोधन गर्ने कार्य हो । यसमा समानव्यवहारको लक्ष्य राखिन्छ ।नेपालमामहिनावारीको बेलाहुने छुवाछुतलाई पूर्णरुपमा उन्मुलन गर्दै मर्यादित बनाउन राष्ट्रिय महिनावारी नीति २०७५ पनि जारी भैसकेको छ । यसैगरि महिला विरुद्धको सबैखाले भेदभाव उन्मुलन महासन्धि १९७९ लाई पनि नेपाल पक्ष राष्ट्र हो । प्रचलित मुलुकी अपराध संहिता २०७४ को दाफा १६८ ले पनि महिनावारीको बेला गरिने छुवाछुतलाई अपराध मानिसकेको छ । अब महिनावारीलाई स्वच्छ र मर्यादित बनाउनपालिकाहरुले पनि नीतिहरु बनाउन थालेका छन् । सबै पालिकाले यसमा चासो बढाउन जरुरी छ ।
अब धर्म संस्कार वा चलिआएको परम्पराको वहानामा यो प्रथालाई निरन्तरता दिनुको साटो पुरुषहरुले नै विद्रोह बोलेर नयाँ थिति बसाउन जरुरी छ । अझ शिक्षित परिवारका लागि यो प्रथाको निरन्तरता सुहाउने कुरै हुन सक्दैन ।