बीएन्डसीले पायो एमबीबीएस पढाउने औपचारिक स्वीकृति

विराटनगर । दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) विद्यार्थी पढाउने औपचारिक स्वीकृति पाएको छ। ५० जना विद्यार्थी पढाउने औपचारिक स्वीकृति पाएको हो ।

आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । आयोगले सिट निर्धारणबारे सार्वजनिक सूचना शुक्रबार नै जारी गरिसकेको उनले जानकारी दिए।

बिर्तामोड नगरपालिका –५, बिर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो।

सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो। सोही आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन दिएको हो।

बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताए।

मेचीनगर–११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्राडा शर्माले जानकारी दिए।

शनिबार, २२ भदौ, २०८१, दिउँसोको ०४:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर