संसदीय अभ्यासमा काँग्रेसले बिचित्रको अवस्था देखायोः आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसदीय अभ्यासनमा नेपाली काँग्रेसले बिचित्रको अवस्था देखाएको टिप्पणी गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा विषेश समय लिएर बोल्दै आङ्बोले सरकारलाई समर्थन नगरेको, विश्वासको मत नदिएको र सरकारमा सहभागी पनि नभएको दलले सत्तापक्षमा बस्नु संसदीय अभ्यासमै बिचित्र भएको टिप्पणी गरेका हुन् ।

‘आजको मितिसम्म सरकारमा सहभागी पनि नभएको र सरकारलाई समर्थन पनि नगरी कांग्रेस सत्तापक्षमा बस्यो’ उनले भने, ‘यो विचित्रको अवस्था देखियो ।’  उनले भने, “मुख्यमन्त्री बनाउने कुरामा कांग्रेसको समर्थन छैन, कुनै सांसदले हस्ताक्षर गरेको थाहा छैन । तर सरकारमा कांग्रेस सहभागी भएको पनि औपचारिक जानकारी छैन । तर, सदनमा सत्तापक्ष भएर बसेको छ ।”नेपाली काँग्रेस र एमालेको गठबन्धनलाई शुभकामना दिँदै उनले २०८४ सालको चुनावमा कांग्रेस र एमाले मिलेर चुनाव लड्न सुझाब दिए ।

विशेष परिस्थितिमा मात्रै दुई ठुला दल मिलेर सरकार बनाउने चलनलाई तोड्दै गठबन्धन भएको भन्दै आङ्बोले गठबन्धन गर्नुको औचित्य पुष्टि गर्नुपर्ने बताए । आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै उनले भने, ‘दुई झगडिया दल मिल्नु भएको छ, सरकार चलाउनुहोस्, हामीलाई २०८४ सालसम्मै प्रतिपक्षमा बस्न दिनुहोस् ।’

प्रदेशमा अहिले सरकार विहिनताको अवस्थामा रहेको भन्दै आङ्बोले मन्त्रालय मन्त्रीबिहिन रहदा बजेट कार्यान्वयनमा अन्योल देखिएको बताए । भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्ने र राज्यमन्त्रीको लस्कर लगाउने काम नगर्न मुख्यमन्त्रीलाई सुझाब दिँदै उनले आगामी दिनमा सरकारले प्राथमिकता प्राप्त ठुला आयोजनाहरू निर्माण गर्नेगरि अगाडि बढ्नुपर्ने सुझाब दिए ।

प्रदेशले अब आफ्नै स्थायी संरचना बनाउनुपर्ने भन्दै उनले त्यसको लागि पहल गर्न सुझाब दिए । अहिले बहाल रहेकै मुख्यमन्त्री र अर्थमन्त्रीले ल्याएको बजेट पुनरावलोकनको विषय गैरकानुनी र संसदीय परम्पराविपरित रहेको भन्दै उनले कानुनविपरित पाइला नचाल्न सरकारलाई चेतावनी पनि दिए ।

शुक्रबार, १४ भदौ, २०८१, दिउँसोको ०३:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर