विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गीता तिम्सिना चयन भएकी छन् ।
माओवादी केन्द्र संसदीय दलको आजको बैठकपछि तिम्सिनालाई प्रमुख सचेतक चयन गरेको जानकारी नेता इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा दिएका छन् ।
यसअघि माओवादीले औपचारिक रुपमा प्रमुख सचेतक चयन गरेको थिएन । तर, प्रमुख सचेतकको भूमिका भने तिम्सिनाले नै निर्वाह गर्दै आएकी थिइन् । उनीभन्दा अघि उदयपुरका सांसद नारायणबहादुर मगरले प्रमुख सचेतकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । उनी मन्त्री भएपछि तिम्सिनाले प्रमुख सचेतककको रुपमा कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधित्व गर्दै आएकी थिइन् ।
प्रमुख सचेतकको औपचारिक जिम्मेवारी पाएपछि सभामुख अम्बरबहादुर विष्टले आजको प्रदेशसभा बैठकमा पनि कार्यव्यवस्थामा तिम्सिनाको प्रतिनिधित्व भएको छ । उनी मोरङबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य भएकी हुन् ।
माओवादी केन्द्रले दलको उपनेता र सचेतक भने चयन गरेको छैन ।