‘हेर्ने कथा’ हेरेपछि

नागरिकता लिन वडा पुगेका ‘काले’लाई उ बेला फर्काइयो, अहिले बोलाइँदै

एक वर्ष अगाडि नै घर आएका थिए ‘काले तामाङ’ उर्फ प्रकाश । नागरिकताको सिफारिस लिन जाँदा डकुमेन्ट नपुगेको भनेर फर्काइएको थियो ।

विराटनगर । विद्या चापागाईं प्रस्तोता रहेको युट्यूब च्यानल ‘हेर्ने कथा’मा तीन दिन अगाडि सार्वजनिक भएको ‘काले तामाङ’ उर्फ प्रकाशको जीवन संघर्षको कथा अहिले भाइरल छ । हेर्ने कथाको टिमले १६ महिना अगाडि उनलाई गोरखाको चुमभ्यालीमा भेट्टायो र उनको कथा बनायो । कथा बनाउने क्रममै प्रकाशले आफ्ना आमा बुबालाई भेटेका थिए । तर, उक्त कथा १६ महिनापछि युटुब च्यानलमा सार्वजनिक भएपछि सर्वत्र चर्चा पायो ।

सर्वत्र चर्चापछि प्रकाशको नागरिकता बनाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलुका गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिए । गृहसचिव अर्यालले तत्कालै भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापालाई फोन गरेर नागरिकता बनाइदिन सहजीकरण गर्न भने ।

प्रमुख जिल्ला अधिकारीले प्रकाशको बुबा–आमा बसेको षडानन्द नगरपालिका १० नम्बर वडाका वडाध्यक्ष पेमा दोर्ची शेर्पालाई फोन गरे । वडाध्यक्षसहितको टोली बुधबार नै त्यहाँ पुग्यो र आवश्यक विवरण संकलन ग¥यो । वडाध्यक्ष शेर्पाका अनुसार प्रकाशको घर परिवारसँग कुरा गर्नुको साथै उनलाई फोन गरेर नागरिकता लिन एक हप्तामा आइपुग्न आग्रह गरेका छन् । ‘हामी दुई दिनअगाडि पनि पुगेका हौं । आज पनि त्यहाँ घरैमा पुगर विवरण टिपेर ल्याएका छौं । अब नागरिकता वितरण गर्नका लागि उहाँलाई बोलाएका छौं । उहाँ फेरि गोरखा नै जानु भएको रहेछ । त्यहाँबाट उहाँ आउनेबित्तिकै नागरिकता वितरण गर्छौं,’ वडाध्यक्ष शेर्पाले भने ।

उनको कथा सार्वजनिक हुँदा राज्यका कार्यकारी प्रमुख प्रधानमन्त्रीदेखि राज्यको तल्लो तह वडा कार्यालयसम्म सक्रिय भयो । तर, झण्डै एक वर्ष अगाडि उनै प्रकाश आफ्नो नागरिकता बनाउन भन्दै वडा कार्यालय पुगेका थिए । उनलाई त्यसबेला ‘डकुमेन्ट’ पुर्याएर आउनु भन्दै वडा कार्यालयले फर्काइदिएको थियो । ‘नागरिकता बनाउन खोजेको तर भएन । जन्मदर्ता चाहिन्छ । झापाबाट आएको बसाइसराइँ चाहिन्छ भने,’ नागरिकताको सिफारिस लिन वडा कार्यालय जाँदा कर्मचारीले दिएको जवाफका विषयमा प्रकाशले भनेका छन् ।

तर, युट्यूबमा सार्वजनिक भएका काले तामाङले एक वर्ष अगाडि नागरिकता बनाउन खोज्दा डकुमेन्ट मिलेको थिएन । जब, उनको कथा सर्वव्यापी भयो त्यसपछि सरकारी कार्यालय नागरिकता लिन अहिले बोलाउँदैछ । उनको कथा सार्वजनिक भयो उनलाई नागरिकता दिन राज्यका सबै संयन्त्र सक्रिय देखिए । एक वर्ष अगाडि नागरिकताको सिफारिस लिन आएको विषय आफूलाई पनि थाहा भएको तर त्यसबेला आफू कार्यालयमा नभएको वडाध्यक्ष शेर्पा बताउँछन् । ‘सामाजिक सञ्जालमा नआइकन वडा कार्यालय आउनु भएको रहेछ । म त्यसबेला थिइँन । त्यसबेला डकुमेन्ट ल्याउनु होला । सर्जिमिन मुचुक्का गर्न चार पाँच जना मानिस ल्याउनु होला भनेर कर्मचारीले भन्नुभएछ । त्यसपछि उहाँ सिफारिस लिनै आउनु भएन । बुबा–आमाको नागरिकता भएपछि उहाँको पनि नागरिकता बन्छ । तर, उहाँको २५ वर्षभन्दा माथिको भएपछि गाउँ सर्जिमिन गर्नुपर्ने भएको कारण मान्छे लिएर आउनु भनेको रहेछ । त्यसपछि नागरिकता पछि बनाउँला भनेर हिंड्नु भएको रहेछ,’ शेर्पाले भने ।

प्रकाशका बुबा लोकबहादुर तामाङ र आमा सञ्चमाया तामाङ हुन् । उक्त तामाङ परिवार अहिले भोजपुरको षडानन्द नगरपालिका १० स्थित खोटडाँडामा बसोबास गरिरहेको छ । ‘अहिले उहाँहरू अर्काको जग्गामै बस्नु भएको छ,’ वडाध्यक्ष शेर्पा भन्छन् । तामाङ दम्पत्तीलाई ६७ सालको नागरिकता वितरण घुम्ती टोलीले नागरिकता प्रदान गरेको हो । ‘टोलीले दिएको उनको बुबा–आमाको नागरिकतालाई टेकेर गाउँमा सर्जिमिन मुचुल्का बनाउँछौं । त्यसकै आधारमा हामी घरमै गएर नागरिकता वितरण गर्ने सल्लाह भएको छ,’ वडाध्यक्ष शेर्पाले भने । तर, उनको नाम के राख्ने भन्ने विषयमा छलफल गर्नुपर्ने वडाध्यक्ष शेर्पाले बताए । ‘जन्म दर्ता छैन, जन्मदर्ता नभएपछि जन्म प्रमाणित गरेर हामी सल्लाह गरेर नाम दिन्छौं,’ उनले भने ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापाले नागरिकता लिनका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताए । ‘उहाँले निवेदन दिनुपर्यो । त्यसपछि वडा कार्यालयले नाता प्रमाणित, जन्म दर्तालगायतको अनुसूची भरेर सिफारिस गरेको आधारमा हामी नागरिकता वितरण गर्छौं,’ उनले भने, ‘हाम्रोमा कागज पत्र पठाएको खण्डमा एक घण्टामा नागरिकता दिन सक्छौं । गृह सचिवज्यूले पनि निर्देशन दिनु भएको छ । अब सम्बन्धित मानिस आएर निवेदन दिएपछि र प्रक्रिया पूरा भएपछि नागरिकता दिन्छौं ।’ त्यसका लागि सहजीकरण गरिरहेको उनले बताए ।

प्रकाशको जीवन कहानी

प्रकाश अहिले पनि गोरखाको चुमभ्यालीस्थित छेकम्पार मै छन् । वडाध्यक्ष शेर्पाले दिएको जानकारी अनुसार उनका बुबा लोकबहादुरको परिवार सोलुखुम्बुको मुलखर्क (हाल दूधकोशी गाउँपालिका) बाट ४४–४५ सालमा झापा झरेको थियो । झापामा अर्काको जग्गामा बसेको तामाङ परिवार केही समयपछि भोजपुरको साम्पाङ पुग्यो । पुनः तामाङ परिवार झापा झ¥यो । भोजपुर साम्पाङबासी एक जनाले घर जग्गा सम्हालेर बस्न भनेर बोलाएपछि तामाङ परिवार पुनः ४७ सालतिर भोजपुर नै फर्किएर स्थायी ढंगले बसोबास गरिरहेको छ ।

प्रकाशका एक जना दाइ विराट तामाङ र कान्छो भाइ सन्जीव तामाङ हुन् भने उनी माइला हुन् । उनको न्वारानको नाम शुक्र तामाङ हो । तर, कालो वर्णको भएको कारण उनका बुबा आमाले उनलाई ‘काले’ भनेर बोलाउँथे । गोरखामा भने उनको नाम प्रकाश रह्यो । हेर्ने कथामा उल्लेख भएअनुसार झण्डै ३५ वर्ष अगाडि झापाबाट प्रकाश गलैंचा बुन्न भनि उनकी दिदी शान्ति तामाङसँग काठमाडौं गए । काठमाडौंमा उनलाई सानै भएको भनेर काम गर्नै दिइएन । त्यसपछि उनकी दिदी झापा नै फर्किइन् । तर, प्रकाश बेपत्ता भए । उनलाई उत्तरी गोर्खाका मान्छेले गोठालोको रुपमा काम गर्न भन्दै चुमभ्याली पु¥याए । त्यसपछि उनले वर्षौंसम्म गोठाले जीवन बिताए । प्रकाशको जन्म झापामै भएको उनका बुबा लोकबहादुरले बताएको वडाध्यक्ष शेर्पा बताउँछन् । ‘चुनावको बेलामा पनि म लोकबहादुर तामाङको घर गएको थिएँ । तर, छोरा हराएको कुरा गर्नुभएको थिएन,’ शेर्पा भन्छन् । अहिले पनि तामाङ परिवार अर्काकै जग्गामै बसिरहेका छन् ।
पालिकाले उनलाई केही राहत सहयोग गर्ने विषयमा कुनै निर्णय नगरेको शेर्पाले बताए । ‘अब वडा कार्यालयको र कार्यपालिकाको बैठक बसेर उहाँलाई गर्नुपर्ने राहत सहयोगको विषयमा निर्णय गर्छौं,’ उनले भने ।

यस्तै कोशी प्रदेश सरकारले भने तामाङलाई सहयोग गर्ने घोषणा गरेको छ । ‘तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ,’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले मुख्यमन्त्रीको भनाई उधृत गर्दै भने, ‘शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो । त्यो नभएपछि उहाँको शीपलाई समेत प्रयोग गर्न सक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौं ।’

शुक्रबार, १४ भदौ, २०८१, बिहानको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page