दुहबी (सुनसरी) । सुनसरीको दुहबीमा सञ्चालित युनाइडेट टेनरिज छाला उद्योगले बस्तीमा दुर्गन्ध फैलिएको गुनासो स्थानीयले गरेका छन् ।
उद्योगले कच्चा पदार्थ (छाला) खुला स्थानमा सुकाउने र उद्योगबाट निस्किएको फोहोर सिधै बुढी खोलामा फाल्दा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले उद्योग सार्न माग गरेका छन् ।२०४६ सालमा स्थापित युनाइटेड टेनरिजले छालाको तयारी सामग्री उत्पादन गर्छ । स्थानीयले उद्योग सार्न माग गर्दै आन्दोलन गरेपछि कोशी प्रदेश सरकारको वन, पर्यटन तथा वातावरण मन्त्रालयले उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योगले त्रुटी गरेको फेला परेको थिया ।
उद्योगबाट निस्किएको केमिकलसहितको फोहोर पानी सिधै बुढी खोलामा फालेको र प्रारम्भिक वातावरणीय परीक्षण नै नगरेको पाइएपछि मन्त्रालयका उपसचिव ध्रवकुमार भण्डारीसहितको टोलीले तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको छ । प्रारम्भिक वातावणीय परीक्षणपछि मात्रै उद्योग सञ्चालन गर्न टोलीले निर्देशन दिएको बताइएको छ ।
स्थानीयले छाला उद्योगविरुद्ध २०५४ सालदेखि आन्दोलन गरिरहेका छन् । दुहबी नगरपालिका– ६ का अध्यक्ष घनश्याम हलुवाइका अनुसार २०५४ सालमा तत्कालिन दुहबी गाविसका जनप्रतिनिधिले उद्योगले दुर्गन्ध फैलाएपछि अदालतमा मुद्दा नै दर्ता गरेका थिए । त्यसबेला दुर्गन्ध नियन्त्रण गर्न फोहोर पानी प्रशोधनका लागि ट्रिटमेन्ट प्लान्ट राख्ने र विरुवा रोप्ने सहमति गरेपनि उद्योगले केही गरेन ।
वडाअध्यक्ष हलुवाई उद्योगका कारण खत्वे टोल र चौधरी टोलका दुई सय भन्दा बढी घर प्रभावित भएको बताउँछन् । दुर्गन्ध नियन्त्रण नगर्ने भए उद्योगलाई स्थानान्तरण गर्न आग्रह गरिएको उनले बताए ।छाला प्रशोधन उद्योगका कारण गाउँमा बस्न सक्ने अवस्था नरहेको संघर्ष समितिका अध्यक्ष सुरजकुमार पासवानको गुनासो छ । उद्योगले फोहोर पानी सिधै खोलामा फालेका कारण खोलाको पानी खाने गाईवस्तुमा पनि समस्या देखिएको स्थानीले बताएका छन् ।युनाइडेटसँगै एसियन लेदर उद्योग छ । दुईवटै उद्योगबाट दुर्गन्ध आइरहेको स्थानीयको भनाइ छ । युनाइडेटविरुद्धको आन्दोलनपछि स्थानीयले एसियनविरुद्ध पनि आन्दोलन गर्ने तयारी गरेका छन् ।
युनाइटेडका सञ्चालक सद्धाव अख्तरले आफूहरुविरुद्ध राजनीतिक चलखेल भएको गुनासो गरेका छन् । एकै स्थानमा उहि प्रकृत्तिका दुई उद्योग भएपनि आफूहरुमाथि तार्गेट गरिएको उनको भनाइ छ । उद्योगबाट दुर्गन्ध फैलिएको उनले स्वीकार गर्दै उनले वातावणीय परीक्षण गर्ने र फोहोर पानी प्रशोधनका लागि पनि प्लान्ट राख्ने तयारी रहेको बताएका छन् ।
२०४६ सालमा स्थापना भएको उद्योगमा ३५ जना कामदार रहेको बताइएको छ ।