स्थानीय सरकारहरुको कार्यमूल्यांकन : कोशीमा इलाम सर्वोत्कृष्ट, सोताङ कमजोर

मोरङका १७ पालिकामा विराटनगर उत्कृष्ट बन्दा कानेपोखरीको कार्यसम्पादन कमजोर

विराटनगर । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये इलाम नगरपालिका सर्वोत्कृष्ट भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी आ.व. २०७९/८० को नतिजाको गुणस्तर परीक्षण गर्दा इलाम नगरपालिका ८९.५ अंकसहित उत्कृष्ट भएको हो ।शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा छुट्टाछुट्टै अंकसहित मूल्यांकन गरिन्छ । प्रत्येक विषयगत क्षेत्रका लागि निश्चित अंकभार तोकिएको छ ।

सेवा प्रवाह क्षेत्रलाई सबैभन्दा बढी १६ अंक, सहकार्य तथा समन्वय क्षेत्रलाई सबैभन्दा कम ६ अंक राखिएको छ । यसैगरी अन्य विषयगत क्षेत्रहरू क्रमशः संगठन तथा प्रशासनलाई ९, शासकीय प्रबन्धलाई ८, वार्षिक बजेट तथा योजनालाई ११, वित्तीय तथा आर्थिक व्यवस्थापनलाई ११, न्यायिक कार्यसम्पादनलाई ७, भौतिक पूर्वाधारलाई १३, सामाजिक समावेशीकरणलाई १० र वातावरण तथा विपद् व्यवस्थापनलाई ९ गरी जम्मा १०० अंकभार रहेको छ ।

इलाम नगरपालिकाले शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ७.७५, बजेट तथा योजना व्यवस्थापनमा ८.५, वित्तीय तथा आर्थिक व्यवस्थापनमा १०, सेवा प्रवाहमा १४.२५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण तथा विपद् व्यवस्थापनमा ८.५ र सहकार्य तथा समन्वयमा ५.५ अंक पाएको हो ।
प्रदेशभरीमा दोस्रो भएको इलामकै सुर्योदय नगरपालिकाले ८८.२५ अंक पाएको छ । सुर्योदयले शासकीय प्रबन्धमा ८.७५, संगठन तथा प्रशासनमा ७, बजेट तथा योजना व्यवस्थापनमा ८.७५, वित्तीय तथा आर्थिक व्यवस्थापनमा १०.२५, सेवा प्रवाहमा १४.२५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा १०.२५, सामाजिक समावेशीकरणमा ८.७५, वातावरण तथा विपद् व्यवस्थापनमा ७.२५ र सहकार्य तथा समन्वयमा ६ अंक पाएको छ ।

तेस्रो स्थानमा झापाको कन्काई नगरपालिका रहेको छ । कन्काईले ८५.८५ अंक पाएको छ । जसमा शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ७.७५, बजेट तथा योजना व्यवस्थापनमा ८.२५, वित्तीय तथा आर्थिक व्यवस्थापनमा १०.२५, सेवा प्रवाहमा १४.२५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९.७५, सामाजिक समावेशीकरणमा ९, वातावरण तथा विपद् व्यवस्थापनमा ६.२५ र सहकार्य तथा समन्वयमा ५ अंक पाएको छ ।

प्रदेशमा सबैभन्दा कमजोर नतिजा भने सोलुखुम्बुको सोताङ गाउँपालिकाको रहेको छ । उसले जम्मा २७.२५ अंक मात्र पाएको छ । सोताङले शासकीय प्रबन्धमा ५, संगठन तथा प्रशासनमा १, बजेट तथा योजना व्यवस्थापनमा १.५, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ५, सेवा प्रवाहमा ५.७५, न्यायिक कार्यसम्पादनमा ५.५, भौतिक पूर्वाधारमा ०, सामाजिक समावेशीकरणमा ३, वातावरण तथा विपद् व्यवस्थापनमा ०.५ र सहकार्य तथा समन्वयमा ० अंक पाएको छ ।

विराटनगर मोरङकै उत्कृष्ट

मोरङका १७ स्थानीय तहमध्ये विराटनगर महानगरपालिकाको नजिता सबैभन्दा राम्रो देखिएको छ भने कानेपोखरी गाउँपालिकाको सबैभन्दा कमजोर रहेको छ ।विराटनगर महानगरपालिकाले ८२.५० अंक प्राप्त गरेर जिल्लामा सबैभन्दा उत्कृष्ट भएको हो । विराटनगरले शासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ७, बजेट तथा योजना व्यवस्थापनमा ७, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ८.७५, सेवा प्रवाहमा १२.२५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९.५, सामाजिक समावेशीकरणमा ९.५, वातावरण तथा विपद् व्यवस्थापनमा ७.५ र सहकार्य तथा समन्वयमा ५.५ अंक पाएको छ ।
सबैभन्दा कमजोर भएको कानेपोखरी शासकीय प्रबन्धमा ६.५, संगठन तथा प्रशासनमा ४.५, बजेट तथा योजना व्यवस्थापनमा ५, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ७.५, सेवा प्रवाहमा ९, न्यायिक कार्यसम्पादनमा ६.७५, भौतिक पूर्वाधारमा ६, सामाजिक समावेशीकरणमा ४.५, वातावरण तथा विपद् व्यवस्थापनमा ३.७५ र सहकार्य तथा समन्वयमा ३.५ अंक पाएको छ ।
जिल्लामा विराटनगरपछि राम्रो नतिजा ल्याएको सुन्दरहरैचा नगरपालिकाको ८१.७५ अंक छ भने उर्लाबारी नगरपालिकाको ८०.७५ रहेको छ । यस्तै कटहरी गाउँपालिकाको ७७, रंगेली नगरपालिकाको ७६.२५, पथरी शनिश्चरे नगरपालिकाको ७४, रतुवामाई नगरपालिकाको ७३.५० र मिक्लाजुङ गाउँपालिकाको ७०.२५ अंक रहेको छ ।

मूल्यांकनमा केराबारी गाउँपलिकाले ६९.२५, धनपालथान गाउँपालिकाकले ६६.५०, लेटाङ नगरपालिकाले ६६.५०, बेलबारी नगरपालिकाले ६६.५०, जहदा गाउँपालिकाले ६३.२५, ग्रामथान गाउँपालिकाले ६०.७५ र बुढिगंगा गाउँपालिकाले ५८.७५ अंक पाएका छन् ।

स्थानीय तहबाट तोकिएको समयमा सम्पादन भएका कार्यहरूको समग्र विश्लेषण गर्दै स्थानीय तहहरूको सबल पक्ष तथा सुधारात्मक पक्षहरूको पहिचान गर्दै सेवा प्रवाहको समग्र अवस्थामा सुधार ल्याउनका विभिन्न सूचकहरूको माध्यमबाट विश्लेषण गरि मूल्यांकन गरिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहहरूको सुधारात्मक पक्षहरूको पहिचान गर्दै समग्र सेवा प्रवाह प्रक्रियालाई जवाफदेही, पारदर्शी, उत्तरदायी बनाउँदै सुशासनलाई अनुभूति गराउन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ अनुसार मूल्यांकन गर्दै आएको छ ।

स्वमूल्यांकन प्रक्रियाका लागि निर्वाचित जनप्रतिनिधि, शाखा प्रमुख तथा सम्बन्धित अन्य कर्मचारीहरू समेतको रोहबरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिन्छ । समग्र कार्य सञ्चालनका लागि प्रमुख प्रशासकीय अधिकृतले एकजना कर्मचारीलाई सम्पर्क व्यक्ति तोक्ने व्यवस्था गरिएको छ । सम्पर्क व्यक्तिले तोकिए अनुसारको विषयगत क्षेत्रका सूचकहरू अनुसार तोकिएको अनलाइन सफ्टवेयरमा प्रमाणसहितका कागजपत्रहरू अपलोड गरेर त्यसको विश्लेषणका आधारमा नतिजा प्राप्त भएको हो ।

आइतबार, ०९ भदौ, २०८१, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर